बागमती प्रदेश सभाको बैठक बुधबार बिहान ११ बजेबाट सुरु भयो। प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले आह्वान गरेको समयकै पेरिफेरीमा सदन पस्ने घण्टी बज्यो।
बैठकमा सहभागी हुन आउने ‘माननीय’हरूको हतारो पनि उस्तै देखिन्थ्यो। घण्टी बजेको आवाज सुनेपछि हतार/हतार स्वकीयहरूलाई आफूसँग भएको ब्याग थमाएर हतारोमै एउटा डायरी बोक्दै बैठक हल प्रवेश गरे। यती हतारो हुनुको कारण चाहिँ समयमै बैठक सुरु गरिनुले हो।
प्रदेश सभा भवन परिसरमै खाना खाइरहेका एकजना सांसदले घण्टी बजेको सुनेपछि ‘ओह्हो आज त कति छिटो बैठक सुरु हुन लाग्यो, खाना पनि राम्ररी खानै भ्याइएन’ बर्बराउँदै छेउमै रेहेको बेसिनमा हात धोएर हतार हतार टिस्यू पेपरले मुख पुछ्दै अर्को हातले डायरी च्याप्दै सदनतिर प्रवेश गरे।
प्रदेश सभाको प्राङ्गणमा मन्त्रीका गाडिहरू पनि हतारमै देखिन्थे। गेटबाट स्पिडमा आएको गाडिबाट हतारिँदै झरेका मन्त्रीहरू सिधै बैठक हलतर्फ नै गोडा सोझ्याइरेका दृश्य देखियो।
केहीबेरमा नै सदनमा नेपाली राष्ट्रिय गान बज्यो। सबैले उठेर भक्तीभाव प्रकट गरे। यो लगत्तै सभामुख भुवन कुमार पाठकले बैठक प्रारम्भ भएको सदनलाई जनकारी दिए। सदनलाई बैठकको व्यहोरो जानकारी गराउँदै सभामुख पाठकले रुलिङ गरे, ‘आजको बैठकमा शून्य समय र विशेष समय नरहने जानकारी गराउँदछु।’
यती भन्न नभ्याउँदै सांसद तीर्थ लामा उभिएर सभामुखलाई रोक्न खोजे। सदनको माहोल शान्त नदेखेपछि सभामुख पाठकले पूर्वमन्त्री समेत रहेका लामालाई इशारा गर्दै हात हल्लाए। तर उताबाट कुनै जवाफ आएन। जवाफ नआएपछि सभामुख पाठकले मुख खोलेरै सोधे, माननीयज्यू जरुरी कुरा केही छ? आउनोस्! भन्दै रोष्टमतर्फ संकेत गरे। सांसद लामाले गत असोजमा भएको विपत्तिमा सरकारको उपस्थिती कमजोर भएको गुनासो गर्दै १० मिनेट आफ्ना कुराहरू रोष्टममार्फत राखे।
लामाले सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएपछि सभामुख आफ्नै कार्यसूचीतर्फ मोडिए। सदनमा दर्ता भएको ५ वटा विधेयक सदनबाट छलफल गरेर स्वीकृत गर्नुपर्ने कार्यसूची तयार थियो।
सोही अनुसार आज बसेको पहिलो बैठकमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश खेलकुद ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसायी सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश कृषि विकास विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरियो।
तत्कालै सभामुख पाठकले आजै दिउँसो १ः३० बजेसम्मका लागि बैठक स्थगीत भएको सदनलाई जानकारी गराए। करिब २ बजेतिर दोस्रो बैठक प्रारम्भ भयो। सोही लगत्तै सुरु भयो सदनमा पेश भएका ५ वटा विधेयकहरूमाथिको सैद्धान्तिक छलफल। मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाको तर्फबाट (अनुपस्थितीका कारण) श्रम, रोजगार मन्त्री प्रेमभक्त महर्जनले विचार गरियोस् भन्ने प्रस्ताव पेश गरे।
त्यसोत, सभामुख पाठकले सो विधेयकमाथिको सैद्धान्तिक छलफल गर्न इच्छुक माननीयहरूलाई सचिवालयका कर्मचारीमार्फत नाम टिपाउन भने। उक्त विधेयकमाथि विचार प्रस्तुत गर्न बागमती प्रदेश सभा माओवादी केन्द्रमा प्रमुख सचेतक रत्न प्रसाद ढकालले नाम टिपाए। उनले चित्त नबुझेका केही प्रश्नहरू विधेयक ल्याउने सम्बन्धित मन्त्रालय र समितिलाई प्रश्न गरे।
विधेयक सदनमा पेस गरेर छलफल गर्नेबेला सम्बन्धित मन्त्रालयको मन्त्री नहुनु दुखद् भएको सचेतक ढकालले बताए। उनी पछि यो विधेयक माथि कोही सांसदले पनि छलफलमा भाग नै लिएनन्। सदनमा उपस्थित सांसदहरू सबैलाई यस विधेयक माथि पूर्ण ज्ञान भएर हो, या छलफल गरिरहन जाँगर नै चलेन।
सचेतक ढकालले सोधेका प्रश्नहरूमा जवाफ दिन श्रममन्त्री महर्जनलाई नै सभामुख पाठकले अनुरोध गरे। यतिबेलासम्म सदनमा हाँसोको माहोल सिर्जना भयो। कारण आफूलाई ज्ञान नै नभएको विषयमा अर्को विभागीय जिम्मेवारी बोकेका मन्त्रीले के जवाफ देलान्? सभामुख पाठक आफैँ पनि हाँसिरहेका थिए। श्रममन्त्री महर्जनले सैद्धान्तिक छलफलको भूमिका पूरा गर्नकै लागि भए पनि जसोतसो ढकालले गरेका प्रश्नको उत्तर दिन रोष्टममा उभिए।
‘माननीय सभामुखज्यू, यो मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक कानुन संवत् ढंगबाट ल्याएको भन्ने मैले बुझेको छु, मन्त्री महर्जनले भने, ‘त्यसकारण यो विधेयक ठिक छ भन्ने मलाई लागेको छ। धन्यवाद!’
प्रमुख सचेतक ढकालले ३ मिनेटमा राखेको प्रश्नको जवाफ मन्त्री महर्जनले १ मिनेट पनि नलाग्दै सकाइदिए। यत्तिकैमा यो विधेयक सदनबाट सर्वसम्मत् स्वीकृत भयो।
सदनमा विचार गरियोस् भन्दै प्रस्तुत भएका अन्य ४ वटा विधेयकहरूमाथिको छलफल पनि यस्तै सुस्ततामै सकियो। प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले प्रदेश खेलकुद ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरे। सदन एकछिन सुनसान बन्यो। सुनसान हुनुको कारण थियो सभामुख पाठकले उक्त विधेयकमाथिको छलफलमा भाग लिन चाहाने माननीयको नाम मागेका थिए।
झण्डै २ मिनेट होल्ड भएपछि माओवादीका प्रमुख सचेतक रत्न ढकाल पुनः छलफलमा भाग लिन रोष्टम उक्लिए। केही असन्तुष्टी र सच्याउनुपर्ने बिषयहरू औंल्याएर ढकालले आफ्ना विचार राखे।
प्रदेश खेलकुद ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि नै छलफल गर्न माओवादीबाट निर्वाचित सांसद प्रेम बहादुर पुलामी पनि सहभागी बने। उनले ३ मिनेट आफ्नो धारण राखेर रोष्टमबाट ओर्लिए।

ढिलो प्रवेश, मर्यादा विपरित प्रश्न
यता, सभामुख पाठकले युवा तथा खेलकुदमन्त्री महर्जनलाई छलफलमा उठेका प्रश्नको जवाफ दिन रुलिङ गरे। रोष्टम पुगेका मन्त्री महर्जन रोष्टममै केहीबेर होल्ड हुनपर्यो। कारण थियो, सदन सुरु भएको १५ मिनेटसम्म पनि बैठक कक्षमा प्रवेश नगरेका राप्रपाका सांसदहरूलाई कुरिएन भन्ने ध्यानाकर्षण।
राप्रपा संसदीय दलका नेता उद्धव थापाले आफू बसेको बेञ्चको माइकबाटै बोलेर मन्त्रीलाई होल्ड गराए। राप्रपा संसदीय दलको बैठक बसिरहेको छ भन्ने थाहा हुँदाहुँदै केही समय पनि नपर्खिएर सदन सुरु गरेको प्रति थापाले आपत्ति जनाए।
सभामुखको रुलिङ अटेर गर्दै पूर्वमन्त्री समेत रहेका थापाले खेलकुद मन्त्रीलाई प्रश्न समेत गर्न भ्याए।
थापाले आफ्नो विचार राखेपछि प्रदेश खेलकुद ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सदनबाट स्वीकृत भयो। राप्रपा संसदीय दलका नेता थापा समेतको विचारलाई गणना गर्दा यो विधेयकमाथि ३ जना सांसदले आफ्नो विचार प्रस्तुत गरे।
न प्रश्न उठाउने जाँगर
बुधबार नै प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसायी सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश कृषि विकास विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गर्न सभामुख पाठकले रुलिङ गरे। तर सदनमा उपस्थित सांसदहरूले विधेयकहरूमाथिको छलफलमा चासै देखाएनन् भन्दा फरक नपर्ला।
सचेतक ढकालले मात्रै पटक/पटक विधेयकहरू माथिको छलफलमा भाग लिए। ५ वटा विधेयक सदनबाट स्वीकृत गर्दा विचार प्रस्तुत गर्ने सांसदको संख्या ३ मात्रै भयो। माओवादीका प्रमुख सचेतक ढकाल, प्रेम बहादुर पुलामी, राप्रपामा उद्धव थापाले मात्रै विधेयकमाथिको छलफलमा भाग लिए।
सभामुख बाहेक ६९ जना सांसद सहभागी भएको प्रदेश सभा बैठकमा विधयेकमाथिको छलफलमा चासो दिइएन? यो गम्भीर प्रश्न हो।
न त चित्त बुझ्दो जवाफ
त्यसोत, सदनबाट सांसदहरूले विधेयकहरूमाथि उठाएका प्रश्नहरूमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले चित्तबुझ्दो र तर्क संवत्को जवाफ भने दिन सकेनन्। प्रदेशको उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले सदनमा पेश गरेको प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र उनैले पेश गरेको अर्को विधेयक प्रादेशिक व्यापार तथा व्यवसायी सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सचेतक ढकालले प्रश्न गर्दा मन्त्री तामाङले भरलाग्दो जवाफ दिन सकिनन्।
‘हामीले ल्याएको विधेयक कानुनमा रही संशोधन गर्नुपर्ने भएकोले यसलाई छलफलको बिषय बनाएका छौं,’ उनले भनिन्, ‘सदनबाट आएका बिषयहरूलाई मध्यनजर गरेर समितिमा दफावार छलफल गर्नेछौं।’
यता, खेलकुद मन्त्री महर्जनले विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै आफूलाई खेलकुद प्रेमीहरूले नै माननीय बनाएर पठाएको भन्दै रोष्टमबाटै बोले। ३ जना सांसदहरूले उठाएको प्रश्नको उत्तर दिने क्रममा मन्त्री महर्जनने खेलकुदको क्षेत्रमा बजेट हालेन भन्नुभन्दा बजेट सुनिश्चिता गरिदिनु अनि कुनै सांसदले माग गरेको बजेट नकाट्दिने भन्दै जवाफ दिए। उनले दिएको यो जवाफ न विधेयकमाथिको छलफलमा केन्द्रित थियो, न त सांसदहरूले उठाएका प्रश्नहरूको चित्त बुझ्दो जवाफ नै थियो।
विधेयक माथिको छलफल कति आवश्यक?
त्यसोत, बुधबार सम्पन्न प्रदेश सभाको बैठकमा पेश भएका विधेयकहरूमाथि सांसदहरूले चासो नदेखाउनुले विधेयकमाथि नै सांसदहरूको चासो छैन भन्ने बुझाउँछ। प्रदेश सभाका कानुन अधिकृत मनोज गुप्ताका अनुसार सांसदहरूले सदनमा पेश भएका विधेयकहरूमाथि छलफल नभए कमीकमजोरी औंल्याउन नसकिने बताउँछन्।
‘विधेयकमाथि छलफलमा भाग नलिनु भनेको विधेयक प्रति चासो कम हुनु पनि हो, उनले भने, ‘हुन त यो संशोधन गर्ने विधेयक हो। पहिल्यै बनिसकेको ऐन परिमार्जन गर्नका लागि सदनमा पेस गरिएको हो। तथापि, छलफल भने हुनैपर्छ।’
सांसदले सदनको मर्यादा बुझेनन् : सभामुख
यता, प्रदेश सभाका सभामुख भुवन कुमार पाठक सांसदहरूले सदनको मर्यादा नबुझेको स्वीकार गर्छन्। समयमै बैठक हलमा उपस्थित नहुनु, छलफलमा सहभागी हुन नाम नटिपाउनु तथा सदन चलेकै समयमा दलको बैठक राख्नु नै गलत भएकोमा पाठक सहमत छन्।
आजको बैठक सकिएपछि आफूले सांसदहरूलाई नियमावली अनुसार अघि बढ्न सुझाव दिएको बताउँदै उनले भने, ‘आजको बैठकमा केही माननीयज्यूहरूले मर्यादा पालना त नगर्नु भएकै हो। उहाँहरूलाई मैले सजेसन दिएको छु। आगामी बैठकमा यस्तो नहोला!’
Shares

प्रतिक्रिया