बागमती


सिफलमा सहिद धर्मभक्त माथेमाको सम्मान र सम्झना

सिफलमा सहिद धर्मभक्त माथेमाको सम्मान र सम्झना

नेपालखबर
माघ १३, २०८१ आइतबार १४:१२, काठमाडौँ

सहिद सप्ताहअन्तर्गत आज सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गरेको स्थान काठमाडौँको सिफल उकालोमा स्मृति सभा सम्पन्न भएको छ।

सहिद सप्ताह आयोजक समितिको आयोजनामा प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको दिन र स्थानमा स्मृति सभा गरिएको हो। 

सहिदको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै काठमाडौँ महानगरका उपप्रमुख सुनिता डंगोलले, जनमानसमा सहिदको योगदानबारे जानकारी लैजाने काम गरिएको बताइन्। माथेमाले प्रजातन्त्र प्राप्तिका लागि खेलेको भूमिका र सामाजिक रुपान्तरणमा पुर्‍याएको योगदानको चर्चा गर्दै डंगोलले भनिन्, ‘माथेमामा राजनीतिक चेतना थियो। उहाँ शारीरिक सुगठन (व्यायाम) का प्रवर्धक हुनुहुन्थ्यो। राजालाई व्यायाम सिकाउने शिक्षक भएर पनि निरंकुश शासनविरुद्ध संघर्ष गर्ने उहाँको आँट युवाहरूले सिक्नुपर्ने पाठ हो। स्मरण गर्नुपर्ने इतिहास हो। शासकसँगको सम्बन्धका कारण व्यक्तिगतरूपमा उहाँलाई सुख सुविधा सबै प्राप्त हुन सक्थ्यो। त्यो सुख सयल त्यागेर नागरिक स्वतन्त्रताका लागि ज्यान दिन तयार हुनुभयो। उहाँको बलिदानीका कारण आज हामी मनमा लागेका कुरा यहाँ उभिएर बोलिरहेका छौँ।’

 

सभामा वडा नं. ७ का अध्यक्ष बिमल होडाले असल शासन र विधिको शासनको संस्थागत विकासले मात्र सहिदहरूको सपना पूरा हुने बताए। उनले यस क्षेत्रमा पुस्तकालय बनाउने योजना पनि सुनाए।

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा भने, ‘विद्यालयस्तरमा सहिदका आदर्श बुझाउन सके नेपालमा मानव अधिकार र नागरिक स्वतन्त्रता कसरी प्राप्त भयो, जान्न पाउँथे। यसले नागरिकहरुमा अहिले देखिएको नकारात्मक दृष्टिकोण कम गराउन मद्दत हुने थियो।’

सहिद माथेमा काजी परिवारका थिए। उनलाई नपुग्दो केही थिएन। उनी दरबारभित्रैको पहुँचवाला भए पनि आफ्नो सम्पन्नताभन्दा नागरिकको स्वतन्त्रता र समृद्धिलाई महत्त्व दिन्थे। शारीरिक सुगठन प्रतियोगितामा बंगाल च्याम्पियन भएका माथेमा राजा त्रिभुवनका व्यायाम शिक्षक थिए। राजासँगको यो सम्बन्धका कारण विसं १९९४ मा उनले राजालाई समेत प्रजा परिषदको सदस्य बनाएका थिए। विसं १९९३ जेठ २० गते माथेमाकी फुपूको घर जोरगणेश ओमबहाल टोलमा धर्मभक्त माथेमा, टंकप्रसाद आचार्य, रामहरि शर्मा, दशरथ चन्द र जीवराज शर्माले प्रजातन्त्र प्राप्तिको संयुक्त प्रतिबद्धताका साथ प्रजा परिषद् गठन गरेका थिए।   

विसं १९९७ माघ १३ गते काठमाडौंको सिफलमा रहेको बकाइनोको रुखमा झुण्ड्याएर उनलाई प्राणदण्ड दिइएको थियो। उनी बलियो भएकोले झुण्ड्याउने क्रममा रुखको हाँगो भाँचिएको थियो। ३ पटकसम्म प्रयास गरेपछि मात्र उनलाई सहादत प्राप्त भएको थियो। त्यसबेला उनी ३१ वर्षका थिए। 

उनले त्यसबखत भनेका थिए, ‘यो तुच्छ नश्वर शरीरको आहुति मातृभूमिको बलिवेदीमा चढाउन पाएकोमा मेरो जन्म सार्थक भएको ठान्छु।प्राणदण्ड पाउनु अहोभाग्य हो। देश र जनताको भलाइको निमित्त आफ्नो ज्यान अर्पण गर्दै छु। प्रजातन्त्र ल्याउने कार्यको निम्ति तपाईँहरू सदैव कटिबद्ध हुनुहुनेछ।’

विसं १९६६  असोज ९ गते काठमाडौंको ओमबहाल, नवहिलमा जन्मिएका माथेमालाई तत्कालीन शासकहरूको विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोपमा १९९७ कात्तिक २ गते पक्राउ गरिएको थियो। 

तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरले विसं १९९७ माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई ज्यानदण्ड दिने निर्णय गरेका थिए। निर्णय भएको ४ दिनपछि शुक्रराज शास्त्रीलाई टेकु मचलीमा झुण्ड्याएर, ७ दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुण्ड्याएर र ९ दिनपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा गोली हानी ज्यानदण्ड दिइएको थियो।

माथेमाकी बहिनी मेनका देवीको विवाह शुक्रराज शास्त्रीसँग भएको थियो। प्रजा परिषदका गतिविधि सञ्चालन गर्ने क्रममा शास्त्रीसँग माथेमाको भेट भएको थियो। धर्मभक्तले प्रतिबन्धित समयमा राणाहरूको स्वीकृति नलिएर घरको छिँडीमा विद्यालय खोलेका थिए। फुपूको घरमा युवाहरूलाई व्यायाम सिकाउने ठाउँ बनाएका थिए।  

आज सभा गरिएको स्थानभन्दा करिब ५ मिटर पूर्वमा २०५३ सालमा माथेमाको अर्धकदको सालिक स्थापना गरिएको थियो। सडक विस्तारका क्रममा सालिक भत्काउनुपर्ने भएपछि सालिकलाई साविकभन्दा पश्चिमतर्फ सारिएको थियो। यसरी सार्ने क्रममा पुरानो कालो रङको अर्ध कदको प्रस्तर सालिकको सट्टा नयाँ सेतो रङको ढलोटको सालिक बनाइएको थियो। यस स्थानलाई सुधार गर्दै महानगरले २०७६ सालमा पूर्ण कदको सालिकसहित पूर्वाधार विकास गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad