बेलायतमा गरिएको एक अध्ययनले परम्परागत इन्धनमा आधारित पेट्रोल र डिजेल कारको तुलनामा विद्युतीय कारहरु धेरै भरपर्दो रहेको देखाएको छ।
बर्मिङहम विश्वविद्यालय र लन्डन स्कुल अफ इकोनोमिक्स (एलएसइ)का अनुसन्धाताले गरेको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो।
अनुसन्धान टोलीले बेलायती सडकमा गुड्ने झण्डै ३० करोड सवारीसाधनको ‘स्वास्थ्य’ विश्लेषण गरेको थियो। सो क्रममा ब्याट्री इलेक्ट्रिक भेहिकल (बीईभी)हरु परम्परागत कार र भ्यानको तुलनामा कम असफल हुने गरेको पाइएको थियो।
अध्ययनका सहलेखक एलएसइका डा. भाइट गुयेनले परम्परागत सवारीसाधनको तुलनामा बीईभी धेरै भरपर्दो र दिगो हुने बताए। अनुसन्धान टोलीले बेलायती यातायात मन्त्रालयको सन् २००५ देखि २०२२ सम्मको झण्डै ३० करोड सवारीसाधन परीक्षणको तथ्यांक विश्लेषण गरेको थियो। यसबाट ईभीको भरपर्दोपना र दिगोपनाको आकलन गरिएको हो।
भरपर्दो हिसाबमा बीईभीले निकै राम्रो सुधार गरिरहेको विश्लेषणले देखाएको छ। यसले उक्त वर्षहरुमा उत्पादन भएको हिसाबमा १२ प्रतिशत कम असफल हुने देखाएको छ। तुलनात्मक रुपमा यस्तो दर पेट्रोल कारमा ६.७ प्रतिशत र डिजेलमा १.९ प्रतिशत मात्र कम असफल हुने देखाएको छ।
त्यसैगरी बीईभीको औसत आयु १८.४ वर्ष हुँदा यी कारले १ लाख २४ हजार माइल यात्रा गर्न सक्ने समेत देखिएको छ। तर पेट्रोल कारहरुको औसत आयु ईभीभन्दा थोरै बढी अर्थात् १८.७ वर्ष रहे पनि १ लाख १६ हजार माइल मात्र अर्थात् कम माइलेज हुने देखिएको छ। यता डिजेल कारको औसत आयु १६.३ वर्ष हुँदा माइलेज भने उच्च अर्थात् १ लाख ५९ हजार माइल देखिएको छ।
अनुसन्धान टोलीले उच्च प्रस्तुति दिने ब्रान्डका कारहरुको दिगोपनाको पनि विश्लेषण र तुलना गरेको थियो। यसअनुसार बीईभीहरुमध्ये टेस्ला अगाडि रहँदा औडी पेट्रोलतर्फ र स्कोडा डिजेलतर्फ धेरै दिगो हुने देखिएको छ।
विद्युतीय सवारीसाधन अपनाउँदा शून्य कार्बनयुक्त भविष्य सुनिश्चित हुने अध्ययनको निष्कर्ष छ। डेलीमेलबाट
Shares

प्रतिक्रिया