काठमाडौँ महानगरपालिकाले २९२ वटा सवारी साधनको प्रदूषण जाँच गर्दा १७४ वटा सवारी साधन फेल भएका छन्। अर्थात् ६० प्रतिशत सवारी साधन प्रदूषण मापदण्डबाहिर रहेर चलिरहेका पाइएका छन्।
यीमध्ये पेट्रोलबाट चल्ने ७१ वटा सवारी साधन जाँच गर्दा १४ वटा फेल भेटिए भने डिजेलबाट चल्ने २२१ वटा जाँच गर्दा १६० वटा फेल छन्।
सवारी साधनबाट वायु प्रदूषणमा पार्ने असर घटाउन महानगरपालिकाले जाँच गरिरहेको छ। यस क्रममा फेल भएका सवारी साधनहरूलाई मर्मत गरेर मापदण्डमा सञ्चालन गर्न सुझाव दिइएको महानगरले जनाएको छ।
पुस २९ गतेदेखि थालिएको यस जाँच कार्यक्रमबाट सुधारको मौका दिँदा पनि मापदण्ड पूरा नभएका सवारी साधनलाई क्रमशः कारबाहीको दायरामा ल्याएर सञ्चालनमा रोक लगाउनेसम्मको तयारी महानगरपालिकाले गरेको छ।

अहिलेसम्ममा कोटेश्वर, दरबारमार्ग, चक्रपथ बल्खु, बबरमहल, टेकु, सुकेधारा, सिनामंगल, पानीपोखरी र जमल भएर गुड्ने पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनको परीक्षण भएको छ। परीक्षणका क्रममा फेल भेटिएका सवारी साधनहरूमा सार्वजनिक यातायात सेवाका लागि सञ्चालन भएका बस, स्कुल बस, सरकारी कार्यालयले सञ्चालन गरेका बोलेरो, सामान बोक्ने ट्रकलगायतका सवारी साधन छन्।
सवारी साधन जाँचका लागि महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले नेपाल सरकारको वातावरण विभाग, उपत्यका ट्राफिक प्रहरी कार्यालय र महानगर प्रहरी बलसँगको सहकार्यमा गरेको छ।
Shares

प्रतिक्रिया