बागमती


बालेनको प्रश्न- स्थानीय सरकारका समस्या संघमै भन्नुपर्ने भए प्रदेश किन चाहियो?

बालेनको प्रश्न- स्थानीय सरकारका समस्या संघमै भन्नुपर्ने भए प्रदेश किन चाहियो?

नेपालखबर
पुस २८, २०८१ आइतबार १७:५५, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले प्रदेश सरकारको अस्तित्वमै प्रश्न गरेका छन्। हरेक ठाउँमा संघ सरकारकै बढी चासो देखिएको तर प्रदेशको भूमिका र अस्तित्व नदेखिएको उनको भनाइ छ।

बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव डा हरिप्रसाद लम्सालसँगको कुराकानीका क्रममा बालेनले यस्तो प्रतिक्रिया दिएका हुन्।

सचिव लम्साल आइतबार बालेनसँग भेटका लागि महानगरपालिका पुगेका थिए। त्यस क्रममा बालेनले भने, ‘आफूले संघबाट अधिकार लिन सक्ने र स्थानीय तहलाई बलियो बनाउन अधिकार दिन सक्ने प्रदेश सरकार चाहिएको हो। अहिले यो अवस्थाको आभास हुन सकेन।’

स्थानीय सरकारका समस्या संघ सरकारसँगै भन्नुपर्ने भएकाले पनि प्रदेशको औचित्य नदेखिएको उनको भनाइ थियो।

‘स्थानीय सरकारका समस्या संघ सरकारसँगै भन्नु पर्ने भए प्रदेश सरकार किन चाहियो?’ उनको प्रश्न थियो, ‘सुकुम्बासीको समस्या आउँदा पनि संघ सरकार सक्रिय छ। नदी प्रणालीको सुधार तथा पुनःस्थापनाका विषयमा पनि संघ सरकारकै चासो देखिन्छ। यस्ता विषयमा प्रदेश सरकार नदेखिने ठाउँमा भएपछि यसको के अस्तित्व रहन्छ? स्थानीय तहले गर्ने काममा त प्रदेश सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने हो। त्यसो हुन सकेन।’

प्रदेश सरकारको भूमिकाका विषयमा कुरा गर्दै प्रमुख शाहले भने, ‘प्रदेश सरकार अभिभावक भएर स्थानीय तहलाई सक्षम बनाउन लाग्नुपर्नेमा संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणको सक्रियताका विषयमा मुद्दा दायर गरेर बसेको छ।’

उनले प्रदेश सरकारबाट उदार दृष्टिकोणको अपेक्षा रहेको पनि बताए। 

चालु आर्थिक वर्षका लागि मनोरञ्जन करमा प्रदेश सरकारले कायम गरेको दरका कारण महानगरपालिकाको राजस्व संकलन घटेको उल्लेख गर्दै बालेनले हिउँदे अधिवेशनमा आर्थिक ऐन संशोधनमा लगेर गत आर्थिक वर्षको दरलाई निरन्तरता दिने प्रक्रिया अगाडि बढाउन आग्रह पनि गरे।

उक्त भेटमा उपप्रमुख सुनिता डंगोल पनि उपस्थित थिइन्।

‘प्रदेश सरकारले सञ्चालन गर्ने टुक्रे योजनाले पूर्वाधार विकास कहिल्यै पनि नसकिने अवस्थामा छन्। हामीले चाहेको विकासको ढाँचा यो होइन,’ छलफलका क्रममा उपप्रमुख डंगोलले भनिन्, ‘ब्याडमिन्टन कोर्ट बनाउने योजना छ। एक वर्षमा जमिन सम्याउने, अर्को वर्षमा पर्खाल लगाउने, तेस्रो वर्षमा कोर्ट बनाउने अहिलेको विकास पद्धति हो। यदि योजना सञ्चालन गर्ने हो भने एकैपटक योजना पूरा गर्न बजेटको व्यवस्था गर्नुपर्छ। यसो हुन नसक्ने हो भने योजना कार्यान्वयनमा ल्याउन सकिँदैन।’

छलफलका क्रममा प्रमुख सचिव डा. लम्सालले प्रदेश र स्थानीय सरकारका बीचमा राजनीतिक र प्रशासनिक संवाद हुन नसकेका कारण अहिलेको अवस्था सिर्जना भएको उल्लेख गरे। उनले थपे, ‘प्रशासनिक विषय व्यवस्थापन गर्न प्रयत्न गर्छु। राजनीतिक संवादका लागि वातावरण मिलाउँछु।’

भेटमा राजस्व संकलन, राजस्व बाँडफाँड, कर्मचारी व्यवस्थापन, संविधानले अधिकार दिएको नगर प्रहरी सम्बन्धी व्यवस्था स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐनले नसमेटेकोदेखि महानगरपालिकाले जारी गरेको ऐन कार्यान्वयनलगायत विषयमा कुराकानी भएको थियो। 

चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले आर्थिक ऐनमा संशोधन गरेर स्थानीय सरकारले प्राप्त गरिरहेको मनोरञ्जन शीर्षकबाट प्राप्त हुने राजस्व दर घटाएको छ। यसबाट क्यासिनो, स्काइ वक र मेला महोत्सवमा लिइने शुल्कमा राजस्व घटेको हो। गएको वर्ष महानगरपालिकाले आकासे सिसाको पुलबाट लिएको ५ प्रतिशत शुल्कबाट वार्षिक २३ लाख ८६ हजार रुपैयाँ राजस्व प्राप्त गरेको थियो। यस वर्षको ऐनमा वार्षिक ५० हजार रुपैयाँ तोकिएपछि सोझै २३ लाख ३० हजार रुपैयाँ राजस्व घटेको छ। 

पहिले मेला महोत्सव, कन्सर्ट, जादु, सर्कसमा प्रवेशको ५ प्रतिशत कर थियो। अहिले महानगरपालिकाभित्र प्रतिदिन १५ हजार रुपैयाँ तोकेको छ।

बैठकमा अधिकारीहरूले भने, ‘विदेशी चलचित्र प्रदर्शन गर्न ३८ प्रतिशतसम्म कर लगाएको अन्तर्राष्ट्रिय अभ्यासबाट हेर्न सकिन्छ। क्यासिनोको हकमा महालेखापरीक्षकको कार्यालयले काठमाडौँ महानगरपालिकाले क्यासिनोबाट उठाउन बाँकी रकम भनेर बेरुजु लेखिदिएको थियो। यस्तो रकम असुल गर्न सहयोग गर्नु पर्नेमा उल्टै दर नै घटाइदिएपछि महानगरपालिकाले राजस्वमा ठूलो अन्तरले गिरावट आएको छ।’

महानगरपालिकाले स्वदेशी चलचित्र प्रदर्शनमा शुल्कमा कम शुल्क र विदेशी चलचित्र प्रदर्शनमा धेरै शुल्क लिन सकिने बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad