बागमती


पर्यटकका लागि खुल्यो ऐतिहासिक चुरियामाई सुरुङमार्ग

पर्यटकका लागि खुल्यो ऐतिहासिक चुरियामाई सुरुङमार्ग

सुनिता विष्ट
पुस ८, २०८१ सोमबार १४:४०, काठमाडौँ

दक्षिण एसियाकै पहिलो चुरियामाई सुरुङ जीर्णोद्धारपछि पर्यटकका लागि खुल्ला गरिएको छ। हेटौंडा-१५ स्थित चुरियामाई मन्दिरसँगै रहेको सुरुङमार्ग सोमबारबाट सर्वसाधारणका लागि खुला गरिएको हो। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सुरुङमार्गको उद्घाटन गरेका हुन्।

सुरुङमार्गको उद्घाटन पश्चात् हेटौंडा उपमहानगरपालिकालाई सुरुङको स्वामित्व हस्तान्तरण गरिएको छ। १९ वैशाख २०७८ मा माउन्टेनइन्फ्रा कम्पनी लिमिटेड, काठमाडौँ स्युचाटारसँग सुरुङमार्ग पुनर्निर्माणको सम्झौता भएको थियो। २०८० असोज २२ मा सम्पन्न आयोजनाको निर्माण सम्पन्न भएको करिब बर्ष दिन भन्दा बढी समयपछि सर्बसाधारणको लागि खुल्ला गर्न लागिएको हो। 

एक वर्षभन्दा बढी समय सुरुङको दुवैतर्फको गेट बन्द गरेर राखिएको थियो। बागमती प्रदेश सरकारले ३ करोड ६५ लाख रुपैयाँ खर्चिएर सुरुङमार्गको जिर्णोद्धार गरेको हो। २ सय २५ मिटर लामो सुरुङको चौडाइ २.५ मिटर छ भने उचाइ ३ मिटर रहेको छ।

तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा सन् १९१७ मा उक्त सुरुङ निर्माण गरिएको थियो। नेपालका प्रथम ग्राजुएट इन्जिनियर डिल्लीजंग थापाको नेतृत्वमा निर्माण भएको चुरियामाई सुरुङबीच भागमा भासिएर जोखिम अवस्थामा थियो।  

सुरुङ सञ्चालनका लागि उपमहानगरपालिकाले कार्यविधि बनाएको छ। यसअनुसार सुरुङ अवलोकन गर्न प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क तोकिएको छ। विदेशीलाई १२० रुपैयाँ र विद्यार्थीलाई २० रुपैयाँ प्रवेश शुल्क लिइनेछ। 

५ वर्षमुनिका बालबालिका, अपांग र जेष्ठ नागरिकलाई निःशुल्क गरिएको उपमहानगरपालिकाका प्रबक्ता सबिन न्यौपानेले जानकारी दिए। काठमाडौँलाई हेटौंडा हुँदै तराईसँग जोड्ने गरी चुरे पहाडमा निर्माण गरिएको सुरुङमार्ग दक्षिण एसियाकै पहिलो भएको स्वीस नागरिक टोनी हेगनले सन् २००४ मा लेखेको ‘दि हिमालयन किडम अफ नेपाल’ नामक पुस्तकमा उल्लेख छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad