पुरानो बसपार्कस्थित काठमाडौँ टावरको प्रक्रिया पूरा नगरी भवन निर्माणको नक्सा स्वीकृत गरेको भन्दै काठमाडौँ महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँमाथि छानबिनका लागि सिफारिस गरेपछि उपप्रमुख सुनिता डंगोलले त्यस विषयमा प्रतिक्रिया दिएकी छन्।
महानगर प्रमुख बालेन्द्र शाहले आन्तरिक छानबिन गर्न लगाएर गुरागाईँमाथि थप कारबाही गर्न संघीय मामिला मन्त्रालयमा सिफारिस गरेका छन्। महानगरपालिकाले आज (शुक्रबार) गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नवीन मानन्धरले हस्ताक्षर गरेको एक विज्ञप्ति जारी गरिएको थियो। कारबाही प्रक्रियाका लागि सम्बन्धित निकाय भन्दै सिफारिस गरिएको विज्ञप्तिमा भवन निर्माणको नक्सा पास कागजागतको अनुमतिपत्रमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृत गरेको देखिएको आरोप लगाएको छ।
यस विषयमा प्रतिक्रिया दिँदै उपप्रमुख डंगोलले निष्पक्ष छानबिनको हुनुपर्ने भनेकी छन्।
‘निष्पक्ष छानबिन भएपछि दोषीलाई कारबाही हुनुपर्छ, त्यसमा दुईमत भएन,’ उनले भनिन्, ‘यदि कसैले त्यहाँ षड्यन्त्र रचेको रहेछ भने त्यसको पनि छानबिन हुनुपर्छ। त्यसमा क–कसको सहभागिता छ, त्यसको पनि निष्पक्षरूपमा छानबिन हुनुपर्छ।’
उनले त्यसमा एक जना व्यक्तिको मात्रै सहभागिता हो कि अरूको पनि छ भन्ने पत्ता लगाएर उनीहरूलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिइन्।
‘यो संगठित भ्रष्टाचार हो कि भन्ने पनि आशंकाहरू देखिए भने त्यसउपर पनि छानबिन गरी कारबाही हुनुपर्छ,’ उपप्रमुख डंगोलले भनिन्, ‘प्रमुख प्रशासकीय अधिकृतको कैफियत देखिएमा तुरुन्तै उहाँलाई कामपाको जिम्मेवारीबाट मुक्त गरिनुपर्दछ र यसमा अरू क–कसको संलग्नता छ, त्यो पनि निष्पक्ष छानबिन गर्नुपर्छ। यदि संगठित भ्रष्टाचार भएको रहेछ भने त्यसउपर पनि कारबाही हुनुपर्छ।’
उनले त्यस विषयमा क–कसको के–केमा संलग्नता रही भ्रष्टाचार गरिएको हो, त्यसउपर पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालै छानबिन गर्नुपर्नेमा जोड दिइन्।
Shares

प्रतिक्रिया