१४ मन्त्रालय रहेको बागमती प्रदेशमा मुख्यमन्त्रीसहित मन्त्री र सचिवालयका कर्मचारीहरूको तलब शिर्षकमा मात्रै झण्डै २ करोड खर्च भएको छ। गत साउन ९ गते गठन भएको नयाँ मन्त्रिपरिषद्मा चालु आर्थिक वर्षको साउनदेखि हालसम्मको अवधिमा तलबमा मात्रै १ करोड ७८ लाख ८९ हजार ७६० रुपैयाँ खर्च भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेश हेटौंडाको आर्थिक प्रशासन शाखाले जनाएको छ।
यो रकम मन्त्री र उनका सचिवालयले प्राप्त गरेको भ्रमण भत्ता, इन्धन बाहेकको हो। मन्त्री र उनका सचिवालयले मन्त्रीको निर्वाचन क्षेत्र बाहेक मासिक एउटा जिल्लामा दुईपटकसम्मको भ्रमण स्वीकृति पाउँछन्। त्यस बापत् भ्रमण खर्च शिर्षकमा छुट्टै सुविधा समेत प्राप्त गर्ने गर्दछन्।
सबैभन्दा धेरै मुख्यमन्त्री बहादुर सिंह लामा र उनको सचिवालयका कर्मचारीको तलबमा खर्च भएको तथ्यांक छ। जहाँ गत साउनदेखि मंसिर मसान्तसम्मको अवधिमा २६ लाख २० हजार १५५ रुपैयाँ तलब शिर्षकमा खर्च भएको छ। बागमती प्रदेशका मुख्यमन्त्रीको तलब सुविधा ७० हजार ७३० रुपैयाँ हो। त्यसबाहेक उनले मासिक रुपमा सञ्चार सुविधा बापत् ५ हजार रुपैयाँ र अतिथि सत्कारमा १० हजार रुपैयाँ प्राप्त गर्छन्। सो रकम सहित कुल ८५ हजार ७३० रुपैयाँ मुख्यमन्त्रीको खातामा तलब वापतको रकम जाने गरेको छ।
मुख्यमन्त्रीको सचिवालयमा राजनीतिक सल्लाहकारदेखि कार्यालय सहयोगीसम्म गरी १० जना राजनीतिक नियुक्तीका कर्मचारी छन्। मुख्यमन्त्री बाहेक नै १० कर्मचारीको खातामा मासिक ४ लाख ३८ हजार ३०१ रुपैयाँ रकम तलब शिर्षकमै खर्च हुने गरेको मन्त्रालयको तथ्यांक छ।
कसको तलब कति?
मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारको तलब झण्डै मुख्यमन्त्री सरह नै पुग्छ। मुख्यमन्त्री लामामा राजनीतिक सल्लाहकार विनोद शाहको मासिक तलब स्केल ५६ हजार ८४० रुपैयाँ हो। तर आवास सुविधा वापत् २५ हजार रुपैयाँ थप गरेर कुल ८१ हजार ८४० रुपैयाँ शाहको खातामा मासिक रुपमा जाने गरेको मुख्यमन्त्री कार्यालयको आर्थिक प्रशासन शाखाको तथ्यांक छ।
यस्तै, मुख्यमन्त्रीका स्वकीय सचिव छत्रबहादुर लामाले ५४ हजार ४१७, अर्का स्वकीय सचिव राजेन्द्र फुयाँलले अधिकृतस्तर अर्थात् ४७ हजार ८५१, स्वकीय सचिव रामशरण माझी र रामकृष्ण भट्टले नायव सुब्बा सरह अर्थात् ३६ हजार ७३० रुपैयाँ तलब मासिक रुपमा बुझ्ने गरेका छन्। कार्यालय सहयोगी तुल बहादुर तामाङ र नारायण प्रसाद सापकोटाले २६ हजार ७०२, हलुका सवारी चालक भूपेन्द्र कार्कीले २९ हजार ६१२, अनिल श्रेष्ठले ४६ हजार ३९१ र माधव प्रसाद बर्तौलाले ५१ हजार ३२६ रुपैयाँ मासिक रुपमा तलब लिने गरेको बताइएको छ।
अन्य मन्त्रालयको अवस्था
मुख्यमन्त्री बाहेक अन्य मन्त्रीको तलब सुविधा वापत ६० हजार ३२० रुपैयाँ प्राप्त गर्छन्। त्यसबाहेक सञ्चार सुविधा वापत ३ हजार र अतिथि सत्कारमा ५ हजार रुपैयाँ गरी ६८ हजार ३२० रुपैयाँ मासिक तलब पाउँछन्। मन्त्रीको सचिवालयमा ५ जना राजनीतिक नियुक्तीका कर्मचारी हुने गरेका छन्। जसमा मन्त्रीको स्वकीय सचिव दुई जना, कार्यालय सहयोगी दुई र हलुका सवारी चालक एकजना गरी मन्त्री बाहेक पाँच कर्मचारी सचिवालयमा हुन्छन्।
उनीहरूमध्ये स्वकीय सचिव एजनालाई सहायक अधिकृतस्तरको अर्थात् ४७ हजार ८५१, अर्का स्वकीय सचिवलाई नायव सुब्बा सरह अर्थात् ३६ हजार ७३०, कार्यालय सहयोगीलाई २६ हजार ७०२ र सवारी चालकले २९ हजार ६१२ रुपैयाँका दरले मासिक तलब प्राप्त गर्छन्। यो तथ्यांक अनुसार बागमती प्रदेशको मुख्यमन्त्री कार्यालय बाहेक एउटा मन्त्रालयमा मन्त्री र उनको सचिवालयका पाँच कर्मचारी सहितको गरी कुल २ लाख ३५ हजार ९१७ रुपैयाँ तलबमै खर्च हुन्छ।
सोही परिमाणका दरले १३ मन्त्रालयमा मन्त्री र उनको सचिवालयमा मात्रै मासिक ३० लाख ६६ हजार ९२१ रुपैयाँ तलबमै खर्च हुने गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका आर्थिक प्रशासन शाखा प्रमुख पुडासैनीले बताए। उनका अनुसार यो रकम मन्त्री र उनको सचिवालयले प्राप्त गर्ने भ्रमण भत्ता बाहेकको हो।
एकजना मन्त्री, उनको स्वकीय सचिव र सवारी चालकले मन्त्रीको निर्वाचन क्षेत्र बाहेक एउटा जिल्लामा दुईपटक अनुगमन तथा भ्रमणमा जान पाउँछन्। तीनदिनको भ्रमण प्रतिवेदन मुख्यमन्त्री समक्ष पेश हुन्छ। मुख्यमन्त्रीले उक्त भ्रमण आदेश स्वीकृत गरेको खण्डमा तीनदिनको भ्रमण वापत् मन्त्रीले ५ हजार ६ सय २५ रुपैयाँ प्राप्त गर्छन्। मासिक रुपमा कम्तिमा ५ देखि ८ वटासम्म भ्रमण प्रतिवेदन पेश गरेर प्रत्येक मन्त्रीले मासिक २५ देखि ४० हजार रुपैयाँसम्म भ्रमण भत्ता बुभ्दै आएको मन्त्रालयको तथ्यांक छ।
मन्त्री बाहेक प्रमुख स्वकीय सचिवले ३ हजार ६ सय, स्वकीय सचिवले २ हजार ७ सय (दुई स्वकीय मध्ये एक), चालकले २ हजार २५० रुपैयाँ र अंग रक्षकले २ हजार ७ सय रुपैयाँ भ्रमण भत्ता प्राप्त गर्छन्। एउटा मन्त्रालयमा मन्त्री सहित ४ जना सचिवालय सदस्यले गरी करिब मासिक रुपमा ६० देखि ७० हजार रुपैयाँसम्मको भ्रमण भत्ता शिर्षकमा खर्च हुने गरेको मन्त्रालयले जनाएको छ।
मन्त्रीको गाडीमा १३ लाख बढीको इन्धन
त्यसोत, बागमती प्रदेशका वर्तमान मुख्यमन्त्री र मन्त्रीहरूको सवारीमा मात्रै चालु आर्थिक वर्षको साउनदेखि गत मंसिर मसान्तसम्मको अवधिमा १३ लाख ४९ हजार ९ सय रुपैयाँको डिजेल हालिएको मुख्यमन्त्री कार्यालयको आर्थिक प्रशासन शाखा प्रमुख श्रीराम पुडासैनीले जानकारी दिए। उनका अनुसार मुख्यमन्त्री कार्यालयबाट एकजना मन्त्रीको गाडीलाई मासिक १२५ लिटर डिजलको कुपन उपलब्ध गराइन्छ।
यो तथ्यांक अनुसार बागमतीका मुख्यमन्त्री सहित १४ मन्त्री चढ्ने गाडीमा मासिक २ लाख ८५ हजार रुपैयाँ इन्धनमा मात्रै खर्च हुने गरेको छ। हाल प्रदेशका मुख्यमन्त्री लामाले दुईवटा सवारी प्रयोग गर्दै आएका छन् भने अन्य १३ मन्त्रीको एक/एक गरी १५ वटा गाडी छन्। ती गाडीमा मासिक १२५ लिटरको दरले सरदर एउटा गाडीमा १९ हजार रुपैयाँको डिजलको कुपन जाने गरेको मन्त्रालयको तथ्यांक छ। यो बाहेक पनि मन्त्रीहरूले आफ्नो मन्त्रालयबाट पनि इन्धनको कुपन प्रयोग गर्ने गर्छन्।
Shares

प्रतिक्रिया