काठमाडौँ जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका-८ किराँतचोकनजिक बागमती नदीकिनारमा आफ्नो शरीरमा आफैँले पेट्रोल छर्की आगो लगाएको अवस्थामा भेटिएकी महिलाको मृत्यु भएको छ।
चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १२ घर भई हाल काठमाडौँको बौद्ध नारायणटारमा डेरा गरी बस्ने ३८ वर्षीया कमला आचार्य शनिबार दिउँसो बागमती किनारको खाली जमिनमा जलेर गम्भीर घाइते अवस्थामा भेटिएकी थिइन्।
घटनाको जानकारी पाउनासाथ प्रहरीले उद्धार गरी साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएकी उनको उपचारका क्रममा आज (आइतबार) बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, एसपी नवराज अधिकारीले जानकारी दिए।
उक्त अस्पतालका चिकित्सकले आज बिहान साढे ५ बजे उनलाई मृत घोषणा गरेको र बिहान ५ बजेर ५० मिनेटमा परिसरलाई जानकारी प्राप्त भएको उनले बताए।
पोस्टमार्टमका लागि हाल उनको शव महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।
यसैबीच घटनास्थलनजिकै सुसाइड नोट फेला परेको एसपी अधिकारीले जानकारी दिए।
तर सुसाइड नोटमा के लेखिएको छ भन्ने विषयमा अहिले बताउन नमिल्ने उनको भनाइ छ।
प्रहरीका अनुसार महिलाका श्रीमान् ४१ वर्षीय ज्ञानेन्द्र भट्टराई हाल जोरपाटी नारायणटार डेरा गरी बस्छन्। उनले कागेश्वरी मनोहरा नगरपालिका–८ शिवचोकमा के एन्ड ए स्टेसनरी पसल सञ्चालन गरेका छन्।
Shares

प्रतिक्रिया