काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण गरिरहेको सानो गौचरण रंगशालामा कम गुणस्तरको बालुवा प्रयोग भइरहेको भेटिएको छ।
उपप्रमुख डंगोल नेतृत्वको अनुगमन समितिले आज नियमित अनुगमनका क्रममा पुनर्निर्माण भइरहेको सानो गौचरण रंगशालामा निर्माण सामग्रीमा लापरवाही भइरहेको तथ्य भेटेको हो।
करिब एक साताअघि मात्रै शिलान्यास गरेर पुनर्निर्माण भइरहेको रंगशालाको अनुगमन गर्न उपप्रमुख डंगोल आज सहरी योजना आयोगका उपाध्यक्ष डा सुमननरसिंह राजभण्डारीसहित सानो गौचरण पुग्दा त्यहाँ काम धमाधम भइरहेको थियो। १८ करोड ८६ लाख रुपैयाँ ठेक्का कबोल गरेर शुभ कन्स्ट्रक्सनले पुनर्निर्माण गरिरहेको स्थानमा कम गुणस्तरका सामग्री प्रयोग भइरहेको भेटिएको हो।
डंगोलसहितको अनुगमन टोली पुग्दा कतै गिटी–बालुवाका पहाड थिए भने कतै फलामहरू असरल्ल थिए। कामदारहरू काममा व्यस्त देखिन्थे। २०८२ चैत मसान्तासम्म सम्पन्न गर्ने गरी काम भइरहेको निर्माणस्थलमा पूर्वजानकारीबिना नै डंगोलसहितको अनुगमन टोली त्यहाँ पुग्दा केहीबेर अन्योल छाएको थियो।
प्राविधिकसहितको टोली लिएर डंगोल पुगेपछि त्यहाँ राखिएका बालुवा, गिटी, छड सबैको निरीक्षण गरिएको थियो। अनुगमनकै क्रममा त्यहाँ राखिएको बालुवा कम गुणस्तरको देखिएपछि उपप्रमुख डंगोलले तत्कालै निर्देशन दिँदै ढलान कार्यमा रोक लगाएकी छन्।
अन्य सामग्रीको भने गुणस्तर परीक्षण गर्न प्रयोगशालामा पठाइएको छ।
‘प्राविधिक टिमसहित त्यहाँ पुगेर अनुगमन गर्दा कम गुणस्तरको बालुवा राखेको पायौँ। अनुगमनपछि त्यो बालुवा प्रयोग गरेर ढलान गर्न रोक लगाएका छौँ,’ उनले भनिन्, ‘अन्य सामग्री ल्याब टेस्टका लागि पठाएका छौँ।’
डंगोलले पछिल्लो समय महानगरपालिकाले सडक, सडक किनारा, ढल निकास, भवनजस्ता भौतिक पूर्वाधारको गुणस्तरीयता र दिगोपनाका लागि पूर्वाधार अनुगमनलाई नियमित गर्दै आएको भन्दै सानो गौचरणको अनुगमन पनि नियमित भएको जानकारी दिइन्।
‘२८ वटा चार पांग्रे र १७८ वटा २ पाङ्ग्रे सवारी साधन अट्ने क्षमताको पार्किङ रहेको यो रंगशालामा १ हजार ५०० दर्शक क्षमताको छ,’ डंगोलले भनिन्, ‘यो विशेष महत्त्वको संरचना पनि हो । त्यसैले हामीले यहाँ विशेष महत्त्व दिएर अनुगमन गरेका हौँ।’
पछिल्लो समय काठमाडौँ महानगरपालिकाले पूर्वाधार अनुगमन कार्यलाई तीव्रता दिइरहेको छ।
Shares

प्रतिक्रिया