काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सोमबारभन्दा मंगलबार (आज) १ डिग्री सेल्सियसभन्दा बढी बढेको छ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनले दिएको जानकारीअनुसार आज बिहान ५:४५ को मापनमा उपत्यकाको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस देखिएको हो।
हिजो (सोमबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस थियो। जुन काठमाडौँका लागि यो वर्षको अहिलेसम्मकै कम तापक्रम हो। आज भने १.२ डिग्री सेल्सियस बढेको हो।
त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम भने मौसम महाशाखाले अहिले ८:४५ बजे पुन प्रकाशन गर्नेछ। त्यतिबेला उपत्यकाको न्यूनतम केही घट्न पनि सक्छ भने यत्ति नै रहन पनि सक्छ।
मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम केही बढ्छ भने राति आकाश सफा रह्यो भने न्यूनतम तापक्रम घट्छ।
मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ।
न्यूनतम तापक्रम सामान्यतया हरेक दिन बिहान ८:४५ तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
हिउँदयाम (विन्टर) नजिकिँदै गरेकाले मूलत: अहिले देशभर नै तापक्रम घट्दो र चिसो बढ्दो छ।
अहिले नेपालमा पोस्ट मनसुन सिजन छ। यो सिजन यही नोभेम्बर महिनाभर रहन्छ।
डिसेम्बरदेखि विन्टर अर्थात् हिउँदयाम लाग्छ।
हिउँदयाम नजिकिँदै गरेकाले देशभर चिसो बढ्दै गएको हो।
Shares

प्रतिक्रिया