बागमती


हेटौँडा-१२ को अध्यक्षका लागि रास्वपाका बलले दिए उम्मेदवारी

हेटौँडा-१२ को अध्यक्षका लागि रास्वपाका बलले दिए उम्मेदवारी

हेटौँडा-१२ अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराउँदै रास्वपाका आशावीर बल।


नेपालखबर
मंसिर २, २०८१ आइतबार ११:४६, हेटौँडा

यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनअन्तर्गत हेटौँडा उपमहानगरपालिका-१२ को अध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवारी दर्ता गराएको छ।

हेटौँडा-१२ को वडाध्यक्षका लागि रास्वपाबाट आशावीर बलले आज (मंसिर २) बिहान निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्।

रास्वपा मकवानपुरका सदस्य चन्द्रबहादुर स्याङ्तानको समर्थन तथा  राजदेव लामाको प्रस्तावमा बलले उम्मेदवारी दर्ता गराएका हुन्।

गत स्थानीय तह निर्वाचनमा मुख्यत: नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा भएको यस वडामा रास्वपाले पनि उम्मेदवार खडा गरेपछि तीन ठूला दललाई चुनौती थपिने आकलन गरिएको छ।

२०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित यहाँका वडाध्यक्ष ललितबहादुर घलान जिल्ला समन्वय समिति प्रमुख बनेपछि उक्त पद रिक्त भएको हो। जसमा उपनिर्वाचन गरी पदपूर्ति गर्न लागिएको हो।  

निधनलगायत विभिन्न कारणले देशका विभिन्न स्थानीय तहमा रिक्त ४४ पदका लागि आज बिहान १० बजेदेखि उम्मेदवारी दर्ता खुला गरिएको छ। 

उक्त उपनिर्वाचनले जिल्ला समन्वय समितिका प्रमुख २ जना, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक÷एक र वडाध्यक्ष ३४ जना निर्वाचित गर्नेछ। 

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार उम्मेदवारी दर्ता आज अपराह्न ५ बजेसम्म जारी रहनेछ।

निर्वाचन तालिकाअनुसार मंसिर ३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन दिउँसो ३ बजेपछि मनोनयनपत्र र उजुरीको जाँचबुझ एवं निर्णय गरी मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ।
 
यसैगरी मंसिर ५ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनसक्ने छन् भने सोही दिन दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। र दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ।

अनि मंसिर १६ बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad