आउँदो मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदै छ। जसअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१२ को वडाध्यक्ष पदका लागि पनि मतदान हुँदै छ।
२०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट हेटौँडा-१२ मा निर्वाचित वडाध्यक्ष ललितबहादुर घलान जिल्ला समन्वय समिति (मकवानपुर) को प्रमुख बनेपछि उक्त स्थान खाली भएको हो। त्यही पद पूर्तिका लागि मंसिर १६ गते उपनिर्वाचन गर्न लागिएको हो।
वडातहकै उपचुनाव भए पनि अध्यक्ष पद आफ्नो पोल्टामा पार्न यतिबेला मकवानपुरका दल दौडधुपमा छन्। जिल्लाको एक ठाउँमा मात्रै उपचुनाव हुने भएकाले सबै राजनीतिक दलले यसलाई प्राथकिमतामा राखेका छन्।
यस क्रममा जिल्लाका तीन ठूला राजनीतिक दलले आफ्ना उम्मेदवारको नाम सार्वजनिक गरिसकेका छन्। नेकपा एमाले र नेपाली कांग्रेसले पुरानै अर्थात् गत चुनावकै उम्मेदवारलाई दोस्रोपटक मौका दिने भएका छन्। कांग्रेसले अर्जुन तिवारीलाई तथा एमालेले राजेश नगरकोटीलाई उम्मेदवार बनाउने निर्णय गरेका हुन्। जो २०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा पराजित भएका थिए।
त्यसबेला विजयी माओवादी केन्द्रले भने उपचुनावका लागि युवा नेता रविन प्रधानलाई वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ।
गत स्थानीय तह निर्वाचनमा हेटौँडा-१२ मा यिनै तीन दलबीच मुख्य प्रतिस्पर्धा भएको थियो। झिनो मतान्तरले चुनाव जितेका माओवादी उम्मेदवार ललितबहादुर घलान दोस्रोपटक अध्यक्ष पदमा विजयी भएका थिए। कांग्रेसका उम्मेदवार तिवारी ३१ मत कमले दोस्रो भएका थिए भने तेस्राे स्थानमा रहेका एमाले उम्मेदवार नगरकोटीले तिवारीभन्दा १५ मत मात्रै कम पाएका थिए।
त्यो झिनो मतान्तर पुर्दै वडाध्यक्ष पद हत्याउन यतिबेला कांग्रेस र एमाले कम्मर कसेर लागेका छन्। यी पार्टीका सिंगो जिल्ला कमिटी नै उपचुनावमा केन्द्रित भएको छ। यस्तै माओवादी किल्लाका रूपमा परिचित यस वडामा पहिलेको जित कायम राख्न माओवादी केन्द्रले झन् जिल्ला समन्वय समिति प्रमुख घलानदेखि पार्टीका नेता-कार्यकर्ता परिचालन गरी केही महिनादेखि नै चुनावी अभियान सञ्चालन गरिरहेको छ।
२०७४ र २०७९ दुवै चुनावमा आफ्ना उम्मेदवार घलान विजयी भएको हेटौँडा-१२ मा आफ्नो साख जोगाउन माओवादीलाई दबाब छ। यसैले यतिबेला माओवादीको ध्यान वडा नम्बर १२ मै खिचिएको छ भन्दा फरक पर्दैन।
कांग्रेसमा वडाध्यक्ष उम्मेदवारका लागि आधा दर्जनभन्दा बढी नाम सिफारिस भएका थिए। तर प्रदेश र जिल्ला कमिटी दुवैले पनि तिवारीलाई नै टिकट दिने निर्णय गरेको कांग्रेसका एक नेताले बताए।
युवा संघ मकवानपुरका अध्यक्षसमेत रहेका एमाले उम्मेदवार नगरकोटी भने उपनिर्वाचन आफैँले जित्ने दाबी गर्छन्।
आगामी मंसिर १६ गते देशका विभिन्न स्थानीय तहमा रिक्त रहेका ४४ पद पूर्तिका लागि उपनिर्वाचन हुँदै छ। यसअन्तर्गत बागमती प्रदेशमा पनि ७ स्थानमा मतदान हुँदै छ। जसले एक/एक नगरप्रमुख र गाउँपालिका उपाध्यक्षसहित ७ पदमा जनप्रतनिधि चुन्नेछ।
बागमती प्रदेशका कीर्तिपुर नगरपालिकाको प्रमुख र दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदका लागि चुनावी प्रतिस्पर्धा हुँदै छ। बाँकी वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ।
जसमा काठमाडौँको कीर्तिपुर नगरपालिका-१, कीर्तिपुरकै वडा नम्बर ४, काठमाडौँ महानगरपालिका-१६, नुवाकोटको ककनी गाउँपालिका-२ र हेटौँडा-१२ का वडाध्यक्ष पद छन्।
Shares

प्रतिक्रिया