बागमती


मध्यराति चितवनमा बस र मोटरसाइकल ठोकिँदा एक युवकको मृत्यु, २ गम्भीर घाइते

एउटै मोटरसाइकलमा चढेका थिए ३ जना
मध्यराति चितवनमा बस र मोटरसाइकल ठोकिँदा एक युवकको मृत्यु, २ गम्भीर घाइते

मोरसाइकलसँग ठोकिएको बस।


सुनिता विष्ट
कात्तिक २१, २०८१ बुधबार ७:५३, हेटौँडा

पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनमा मध्यराति बस र मोटरसाइकल ठोकिँदा एक युवकको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।

चितवनको रत्ननगर नगरपालिका-२ सब्जीमण्डीमा गएराति बस र तीन जना सवार मोटरसाइकल आपसमा ठोकिँदा एकको मृत्यु भएको हो भने दुई गम्भीर घाइते भएका हुन्।

गएराति १२ बजेतिर हेटौँडाबाट चितवनतर्फ जाँदै  गरेको मधेस प्रदेश०१–००१ ख ०४५७ नम्बरको बस र टाँडीबाट खैरहनीतर्फ आउँदै  गरेको ना २४ प १९१८ नम्बरको मोटरसाइकल आपसमा ठोकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए।

उनका अनुसार एउटै मोटरसाइकलमा  तीन जना सवार रहेको पाइएको छ। बस र मोटरसाइकल एकाआपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार तीनैजना गम्भीर घाइते भएका थिए।

जसमध्ये चितवनको रत्ननगर नगरपालिका-१३ अमिलियाका अन्दाजी २१ वर्षीय सुनिल पौडेलको मृत्यु भएको हो। चितवन मेडिकल कलेजमा उपचारका क्रममा गएराति १ बजे उनको मृत्यु भएको प्रहरीका प्रवक्ता रिजालले जानकारी दिए।

यस्तै सोही स्थानका २० वर्षीय साहिल परियार र अन्दाजी २१ वर्षीय सञ्जय लामाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइते दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

बस चालक सिराहा मिर्चैया नगरपालिका-९ बस्ने बर्ष ४६ को सुनिल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी रिजालले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad