दिनप्रतिदिन चिसो बढ्दै गएको छ। यसै क्रममा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम मंगलबारभन्दा अझ तल झरेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम १२.४ डिग्री सेल्सियस देखिएको हो।
यसअघि मंगलबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम मनसुन/पोस्ट मनसुनयताकै कम १३ डिग्री सेल्सियस थियो। आज यसभन्दा पनि मुनि झरेको हो।
‘राति मौसम सफा अर्थात् आकाशमा बादल लागेन भने बिहान न्यूनतम तापक्रम घट्छ’, मौसमविद् अधिकारीले भने, ‘यस्तै दिउँसो घाम लाग्न पाएन भने अधिकतम तापक्रम घट्छ।’
२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम तथा सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ। सामान्यतया हरेक दिन न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
मौसमविद् अधिकारीका अनुसार अहिले काठमाडौँ उपत्यकामा मात्र होइन, देशभर नै क्रमशः तापक्रम ओरालो लागिरहेको छ। किनभने विन्टर अर्थात् हिउँदयाम नजिकिँदै छ।
अहिले भने नेपालमा पोस्ट मनसुन सिजन चलिरहेको छ। गत जुन १० तारिखमा भित्रिएको मनसुन (बर्खा) अक्टोबर १२ मा नेपालबाट बाहिरिएपछि पोस्ट मनसुन सुरु भएको हो। यो सिजन यही नोभेम्बर महिनाभर रहन्छ। डिसेम्बरदेखि विन्टर अर्थात् जाडोयाम लाग्छ।
मौसम महाशाखाले आफ्नो वेबसाइटमा भने काठमाडौँ उपत्यकासहित मुलुकभर विभिन्न स्थानका न्यूनतम तापक्रम विवरण अहिले बिहान ८:४५ बजे सार्वजनिक गर्छ।
अहिले भने हेर्नुहोस् मंगलबारकै न्यूनतम र अधिकतम तापक्रम विवरण-
आज वर्षाको सम्भावना के छ?
मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज (बुधबार) र भोलि (बिहीबार) काठमाडौँ उपत्यकासहित लगभग देशभरकै मौसम सफा रहने सम्भावना छ।
यद्यपि आज कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा भने मेघगर्जन/चट्याङसहित हल्का खालको वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
राति भने देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कतै पनि वर्षा वा हिमपातको सम्भावना देखिएको छैन।
मौसमविद्का अनुसार आंशिक बदली भनेको आकाशमा थोरै थोरै मात्र बादल देखिनु हो भने माैसम मुख्यतया सफा भनेको लगभग आकाश खुला रहनु हो।
यसैगरी हल्का वर्षा भनेको १० मिलिमिटरभन्दा कम पानी पर्नु हो।
Shares

प्रतिक्रिया