बागमती


पटकाले काठमाडौँमा बढ्यो वायु प्रदूषण

पटकाले काठमाडौँमा बढ्यो वायु प्रदूषण

फाइल तस्बिर : काठमाडौं


रासस
कात्तिक १७, २०८१ शनिबार ९:२, काठमाडौँ

नेपालीहरूको दोस्रो ठूलो चाड तिहारसँगै लुकिछिपी पड्काउने पटकाका कारण वायु प्रदूषण बढेको छ। एयर क्वालिटी इन्डेक्स’ले शुक्रबार साँझ काठमाडौको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ६० रहेको जनाएको छ।

एक दिनअघि अर्थात् बिहीबार मात्रै काठमाडौँमा एक्यूआई एक सयभन्दा कम देखिएको थियो। इन्टेक्सका अनुसार शुक्रबार साँझसम्म काठमाडौँ विश्वको आठौँ प्रदूषित सहरको सूचिमा सूचिकृत छ।

चीनको बेइजिङ विश्वको पहिलो प्रदूषित सहरमा सूचिकृत भएको छ। विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले तिहारमा पट्काउने गरिएको पटकाका कारण वायु तथा ध्वनी प्रदूषण गराउने भन्दै पटका पट्काउन कडाइका साथ नियन्त्रण गर्नुपर्नेमा जोड दिए। 

उनका अनुसार एक्युआई शून्यदेखि ५० राम्रो अर्थात् ग्रिन सङ्केतले चिनिन्छ। ५१ देखि एक सयसम्मको एक्यूआईलाई होसियार रहुँ अथवा पहेँलो सङ्केतले चिनिन्छ।

यसै गरी १०१ देखि १५० सम्मलाई अस्वस्थ जसमा श्वासप्रश्वास र मुटु रोगका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ। १५१ देखि २०० सम्मको एक्यूआईलाई पनि अस्वस्थ तर सबैलाई असर गर्छ भन्ने बुझिन्छ। २०१ देखि ३०० सयलाई धेरै अस्वस्थ मानिन्छ।

काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्यूआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्का रूपमा लिने उल्लेख गरेको छ। 

पटका पट्काउँदा विभिन्न रासायनिक पदार्थ जस्तै: सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड र धुलोका कण वायुमण्डलमा फैलने र प्रदूषण बढाउने भन्दै सतर्कता अपनाउन वातावरणविद्ले आग्रहसमेत गरेका छन्।

वातावरणविद् भूषण तुलाधारले पटकाजस्ता विषाक्त ग्यासले हावा प्रदूषित बनाउने र यसकारण श्वासप्रश्वाससम्बन्धी समस्या उत्पन्न गर्ने भन्दै पटका पड्काउनमा रोक लगाउनुपर्नेमा जोड दिए।

वातावरण अभियन्ता राजन थापाले दिपावलीसँगै एकमहिनाअघि गएको बाढी तथा पहिरोका कारण धुलो उड्ने, गाडीले बाहिरका धुलो काठमाडौँ भित्र्याउने तथा तातो हावा र चिसो हावाको मिश्रणका कारण पनि प्रदूषण गराएको बताए।

‘दीपावालीको समयमा भारतमा बढी पटका पड्काउँदा प्रदूषण गराएपछि अहिले त भारत सरकारले नियन्त्रण पनि गर्न थालेको छ, पटका मात्रै नभएर अन्य कारण पनि प्रदूषण हुन थालेको छ,’ उनले भने, ‘अब चिसोमा आगो बाल्ने क्रम बढ्छ। यसले अझै प्रदूषण बढ्दै जानेछ।’

पटकाबाट निस्कने धुवाँ र ग्यासले एलर्जी, आँखा पोल्ने, छाला चिलाउने, दम, र स्वासप्रश्वाससम्बन्धी समस्या उत्पन्न गर्छ। विषाक्त ग्यासका कारण कलेजो, फोक्सो र मुटुको समस्या पनि हुन सक्ने भन्दै सतर्कता अपनाउन जनश्वास्थ्यविद्ले आग्रह गरेका छन्। 

उनीहरूले पटकाका कारण हुने ठूलो आवाजले मानसिक तनाव, निद्रा नलाग्ने समस्या र उच्च रक्तचापको जोखिम बढाउने तथा  यसले कानमा स्थायी क्षति पुर्‍याउन सक्ने जानकारी दिएका छन्। 

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विष्फोटक पदार्थसम्बन्धी कसुरको दफा १३८ मा विस्फोटक पदार्थ उत्पादन गर्न नहुने व्यवस्था छ।

उक्त व्यवस्थामा भनिएको छ, ‘कसैले इजाजतपत्र प्राप्त नगरी वा इजाजतपत्र प्राप्त गरेको भए पनि इजाजतपत्रमा उल्लेख भएका सर्त र बन्देजविपरीत हुने गरी कुनै पनि किसिमको विस्फोटक पदार्थ बनाउन, तयार गर्न वा उत्पादन गर्न हुँदैन।’

सामान्यतः विस्फोटक पदार्थ भन्नाले डिटोनेटर, ब्लास्टिकक्याप, विद्युतीय ब्लास्टिक क्याप, फ्युज, आतिसबाजी, पटका र त्यस्तै प्रकृतिका अन्य ब्लास्टिक पदार्थ सम्झनुपर्छ भनी स्पष्टीकरणमा उल्लेख छ।

उपदाफा २ को (क) मा कडा ब्लास्टिक पदार्थ भए दश वर्षसम्म कैद र रु एक लाखसम्म जरिवानाको व्यवस्था छ।

(ख) मा नरम ब्लास्टिक पदार्थ भए पाँच वर्षसम्म कैद र रु पचास हजारसम्म जरिबाना र (ग) मा सामान्य ब्लास्टिक पदार्थ भए तीन वर्षसम्म कैद वा रु तीस हजारसम्म जरिवानाको व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad