काठमाडौँ उपत्यकाको मौसम पनि बिहानैदेखि आंशिक बदली (आकाशमा पातलो बादल र घाम पनि देखिएको) भएको छ।
आज (सोमबार) काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना न्यून रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताइन्।
‘आज उपत्यकामा पानी पर्ने सम्भावना छँदै छैन भन्न त मिल्दैन’, उनले भनिन्, ‘तर वर्षाको सम्भावना कम छ।’
मौसमविद् मानन्धरका अनुसार काठमाडौँ उपत्यकामा वर्षा भयो भने दिउँसोपछि हल्काफुल्का र फाटफुट खालको हुन्छ।
मौसम महाशाखाले आफ्नो नक्सा विवरणमा आज दिउँसो काठमाडौँ उपत्यकामा क्षणिक वर्षाको सम्भावना २० प्रतिशत मात्र रहेको देखाएको छ।
महाशाखाका अनुसार दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मात्र हल्का वर्षाको सम्भावना छ।
मनसुन बिदा भएसँगै देशभर पानी पर्न कम भएको मौसमविद् मानन्धरले बताइन्। बरु बिस्तारै तापक्रमचाहिँ घट्दै गएको उनको भनाइ छ।
‘जाडो नै त हुँदैन, तर तापक्रम घट्दै जान्छ’, उनले भनिन्।
मौसमविद्का अनुसार मनसुन बिदा भएपछि नेपालमा पोस्ट मनसुन सिजन चलिरहेको छ। जुन नोभेम्बरसम्म रहन्छ।
डिसेम्बरबाट विन्टर अर्थात् जाडोयाम लाग्छ।
Shares

प्रतिक्रिया