बागमती


बीपी राजमार्गको पहिरो पन्छाउने क्रममा एक्स्काभेटर पल्टियो, अर्को मगाइँदै

बीपी राजमार्गको पहिरो पन्छाउने क्रममा एक्स्काभेटर पल्टियो, अर्को मगाइँदै

फाइल तस्बिर


नेपालखबर
असोज २५, २०८१ शुक्रबार १६:४३, काठमाडौँ

बीपी राजमार्गको पहिरो पन्छाउने क्रममा खटिएको एक्स्काभेटर पल्टिएपछि बाटो खुलाउने प्रयासमा अर्को तगारो सिर्जना भएको छ।

काभ्रे प्रहरीलेदिएको जानकारी अनुसार, आज (शुक्रबार) बिहान रोसी गाउँपालिका-११, पिप्लेमा सुख्खा पहिरो खसेपछि फेरि अवरुद्ध बनेको थियो। उक्त पहिरो पन्छाउन खटिएको एक्स्काभेटर नै पल्टिएपछि उद्धारका लागि अर्को एक्स्काभेटर मगाइएको छ। एक्स्काभेटर पल्टिएको भए पनि मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ।  

दसैँका कारण भनेका बेला उद्धार सामग्री र जनशक्ति उपलब्ध नहुँदा पहिरो पन्छाउन थप समस्या झेल्नुपरेको प्रहरीले बताएको छ।

बिहानको पहिरोमा सिन्धुलीबाट काठमाडौँतर्फ आउँदै गरेको बा ४ ख ४३५२ नम्बरको बसलाई रोसी खोलामा खसालेको थियो भने खोटाङबाट काठमाडौँतर्फ आउँदै गरेको ना १ ज ६८१७ नम्बरको सुमोलाई पहिरोले पुरेको थियो।

‘घटनामा मानवीय क्षति नभए पनि सडक पूर्णरुपमा अवरुद्ध बनेको छ,’ एसपी वसुन्धरा खड्काले नेपालखबरसँग भनिन्।

घटनामा चालक र सहचालकले भागेर ज्यान जोगाएका थिए। दुई साताअघिको बाढीपहिरोले मंगलटारतिर अलपत्र परेका गाडी मर्मतको लागि भकुन्डेबेँसीतर्फ आउँदै गर्दा बस पहिरोमा परेको एसपी खड्काको भनाइ छ।

बीपी राजमार्गमा आजबाट गाडी चलाउने भनेर सडक विभागले भनेको थियो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्द काफ्लेले बीपी राजमार्गमा यात्रा गर्न सिन्धुली जिल्लाभित्र समस्या नभए पनि काभ्रेतिर प्रवेश गर्ने अवस्था नरहेको बताए। उनले यस राजमार्गबाट काठमाडौँको यात्रा नगर्न चालक र यात्रुलाई आग्रह गरिएको पनि जानकारी दिए।

उनले काभ्रेको रोशी हुँदै काठमाडौँ हिँडेका गाडीलाई मदन भण्डारी राजमार्ग प्रयोग गर्न सूचित गरिएको बताए। ‘मूलकोटबाट रामेछाप निस्केर त्यताबाट काठमाडौँ निस्कन सकिन्छ,’ एसपी काफ्लेले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad