बागमती


नेपाल पोलियोमुक्त भएको १० वर्षपछि काठमाडौँको ढलमा भेटियो पोलियो भाइरस

नेपाल पोलियोमुक्त भएको १० वर्षपछि काठमाडौँको ढलमा भेटियो पोलियो भाइरस

टेकुस्थित नदी


नेपालखबर
साउन ५, २०८१ शनिबार ६:५३, काठमाडौँ

काठमाडौँको ढलमा पोलियो जीवाणु (भाइरस) देखिएको छ।

स्वास्थ्य सेवा विभागले शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘पोलियो रोग र निगरानी’ विषयक अन्तरक्रिया कार्यक्रममा विभागका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले काठमाडौँको टुकुचा खोला र बागमती नदीको सङ्गमस्थल टेकुको ढलमा पोलियो जीवाणु भेटिएको जानकारी दिएका हुन्। 

दुई नदीको सङ्गमस्थलबाट सङ्कलन गरिएको ढलको नमुनामा पोलियो जीवाणु भेटिएको प्रमुख डा गौतमले बताए। ढलमा पोलियो जीवाणु देखिएको पहिलोपटक हो। नेपालमा सन् २०१० मा अन्तिम पटक मानिसमा पोलियो जीवाणु देखिएको थियो। नेपाल सन् २०१४ पोलियोमुक्त मुलुक भएको थियो। सरकारले सन् २०२६ सम्म पोलियो उन्मुलन गर्ने लक्ष्य राखेको छ। 

‘अहिले पोलियो जीवाणु ढलमा देखिएको हो। पोलियोको जीवाणु जहाँ देखिए पनि संवेदनशील विषय हो,’उनले भने, ‘ढलमा देखिनुले कतै व्यक्तिमा पनि छ कि भन्ने आशङ्का छ।”

खोप शाखा प्रमुख डा गौतमले ढलमा जीवाणु देखिनु संवेदनशील भएको उल्लेख गर्दै व्यक्तिमा जीवाणु छ कि भनेर खोजबिन गरिने बताए। उनका अनुसार थाइल्यान्डको बैङ्ककमा ढलमा सङ्कलन गरिएको नमुना परीक्षण गर्दा गत असार २९ गते पोलियो जीवाणु देखिएको पुष्टि भएको हो। ढलको नमुना सङ्कलन भने गत जेठ १३ गते दुई नदीको सङ्गमस्थलबाट गरिएको हो। 

नेपाल पोलियो उन्मूलन भएपछि १० वर्षपछि पोलियोको जीवाणु भेटिएको हो। उनका अनुसार उक्त पोलियोको जीवाणु प्राकृतिक रूपमा पाइने ‘वाइल्ड पोलियो’ नभएर ‘भ्याक्सिन डिराभ्ड पोलियो टाइप–३’ जीवाणु हो। ‘टुकुचा र बागमतीको सङ्गमस्थल टेकुमा देखिएको हुनाले पोलियो भाइरस काठमाडौँ उपत्यकाबाट नै आएको हुनसक्छ,’उनले भने।

उपत्यकामा पोलियोको जीवाणु भेटिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ, ललितपुर र भक्तपुरमा पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्दै छ। परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई घरघर गएर पोलियो रोगविरुद्धको ‘आईपीभी’ खोप अभियान सञ्चालन गर्न थालिएको बताए।

उनका अनुसार खोप यही साउन ९ देखि १२ गतेसम्म दुई लाख ८० हजार बालबालिकालाई लगाइने छ। अभियानसँगै घर र अस्पताल पोलियोको जीवाणु छ कि छैन भनेर पनि परीक्षण गरिने उनको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad