ad ad

बागमती


विवादमा बागमती प्रदेशको बजेट, मुख्यमन्त्रीसँगै प्रतिपक्षी दल पनि रुष्ट

विवादमा बागमती प्रदेशको बजेट, मुख्यमन्त्रीसँगै प्रतिपक्षी दल पनि रुष्ट

सुनिता विष्ट
असार २, २०८१ आइतबार १५:४७, मकवानपुर (हेटौंडा)

बागमती प्रदेशसभामा शनिबार प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेटमा प्रतिपक्षी दलहरू पनि असन्तुष्ट देखिएका छन्। आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ खतिवडाले प्रस्तुत गरेको बजेट चालु आर्थिक वर्षभन्दा बढेर आएको छ। 

कुल ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेटलाई प्रतिपक्षी दलहरूले कर्मकाण्डी भएको बताएका छन्। 

बजेट तथा कार्यक्रमका नाराहरू उत्कृष्ट बनाइए पनि यो हावादारी बजेट भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती संसदीय दलका नेता उद्धव थापा ले बताए। 

‘बागमतीका मन्त्रीज्यूहरूले कार्यक्रमको नारा चाहिँ गज्जब बनाउनुभएछ, त्यो सुनेर रमाइलै लाग्यो,’ राप्रपा नेता थापाले भने, ‘तर बजेट उत्साहजनक लागेन। यो हावादारी बजेट हो।’

साथै, उनले बजेटको आकार बढाए पनि कार्यान्वयन हुनमा शंका लागेको बताए।

अघिल्लो असार १ गते चालु आर्थिक वर्ष (२०८०/८१) को बजेट ल्याउँदा नेकपा एमाले प्रमुख प्रतिपक्षी दलको भूमिमा थियो। अर्थमन्त्री थिए, कांग्रेसका बहादुर सिंह लामा।

त्यतिबेला एमालेले सन्तुलित बजेट नल्याएको भन्दै ९ महिनमसम्म विवाद भइरह्यो। त्यतिबेला एमालेले भोगेको चुनौती अहिले उसैको अघि परेको छ। 

अहिले सत्तामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेकपा एमाले छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटमाथि टिप्पणी गर्दै पास गराउने विषयमै छलफल गनुपर्ने अवस्था आएको बताएको छ। 

‘यो बजेट घाटाको बजेटको रुपमा ल्याएको छ। अर्थतन्त्र र हाम्रो स्रोतको हिसाबलाई मध्यनजर नै नगरी आफ्नो एकलौटी ढंगबाट बजेट ल्याएको पाइयो,’ ‘कांग्रेस बागमती संसदीय दलका नेता बहादुर सिंह लामाले भने, ‘यो बजेटले कुनै प्रभाव पार्ने देखिँदैन। उत्पादनमुलक ढंगबाट बाहिर गएकोले यो बजेटलाई कांग्रेसले सजिलै स्वीकार गर्नसक्ने अवस्था छैन।’

यता, सरकार पक्षले भने आगामी आर्थिक वर्षको लागि ल्याइएको बजेट सन्तुलित भएको दाबी गरेको छ।

सबै सांसले ल्याएको योजना समेटिएको र सबै सँग छलफल गरेर नै बजेट ल्याइएको भन्दै प्रतिपक्षी दलहरुले आफ्नो भूमिका निर्वाह गर्न मात्रै बजेटको विरोध गरेको अर्थमन्त्री थपलियाले बताए। 

‘हामीले एकदमै सन्तुलित बजेट ल्याएका छौं। यसका आलोचना गर्नुपर्ने कु नै ठाउँ म भेट्दिनँ,’ अर्थमन्त्री थपलियाले नेपालखबरसँग भने।

उनले थपे, ‘प्रदेशका आवश्यकता धेरै छन्। विकासका माग धेरै छन्। तर हामीसँग सिमित पुँजीका कारण प्रर्याप्त हुनसक्ने अवस्था छैन। तर पनि अहिले प्रदेशको राजश्व, संघको अनुदान सबै कुरालाई मध्यनजर गरेर ल्याएको बजेटमा दुखी हुन आवश्यक छैन।’

११० सदस्यीय बागमती प्रदेश सभामा सरकार पक्षका ५७ सांसद छन्। सभामुख बाहेक प्रतिपक्ष दलका ५२ सांसद छन्।

तीन दल प्रतिपक्षमा रहँदा सरकारमा नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी सरकारमा छन् भने नेपाली कांग्रेस, राप्रपा र नेमकिपा सरकारको प्रतिपक्षी दलको भूमिका छ। 

यीमध्ये नेकपा माओवादी केन्द्रका केही सांसदहरूले नेपालखबरसँगकै कुराकानीका क्रममा बजेट खुद्रे योजना भएको भन्दै असन्तुष्टि जाहेर गरे। 

केन्द्रमा माओवादीका अर्थमन्त्रीले ल्याएको बजेटमा एमालेले असन्तुष्टि जाहेर गर्दा ठिक उल्टो प्रदेशमा एमालेका अर्थमन्त्रीले ल्याएको बजेटमा माओवादीका सांसदको असन्तुष्टि देखिन्छ।

बागमतीले कुल बजेटमध्ये चालूतर्फ २६ अर्ब १० करोड १६ लाख रुपैयाँ, पुँजीगत तर्फ ३६  अर्ब ९३ करोड ८७ लाख रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ। 

प्रदेश सरकारले कुल विनियोजनको चालूतर्फ ४०.४४ प्रतिशत, पुँजीगततर्फ ५७.२३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ २.३२ प्रतिशत बजेट रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .