ad ad

राजनीति


सल्लाह नै नगरी डेढ अर्ब बजेट चलाएपछि बागमतीका अर्थमन्त्रीसँग मुख्यमन्त्रीको नोकझोक

सल्लाह नै नगरी डेढ अर्ब बजेट चलाएपछि बागमतीका अर्थमन्त्रीसँग मुख्यमन्त्रीको नोकझोक

फाइल तस्बिर


नेपालखबर
असार २, २०८१ आइतबार १३:७, काठमाडौँ

आफैँसँग बसेर तयार पारेको बजेटमा डेढ अर्ब बढी चलाएको भन्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियासँग असन्तुष्ट बनेका छन्।

उनले बजेट कार्यान्वयन गराउनै नसक्ने खालको भएको भन्दै तीव्र रोष प्रकट गर्दा भनाभनसमेत भएको छ।

मुख्यमन्त्रीनिकट स्रोतका अनुसार, आर्थिक मामिलामन्त्री थपलियाले आफ्नै कार्यक्रमलाई प्राथमिकता दिँदा मुख्यमन्त्रीको योजना पनि छुटाइएको छ।

बागमती प्रदेशले शनिबार आर्थिक वर्ष २०८१/०८२ को लागि ६४ अर्ब ५४ करोड ९४ लाख ३१ हजारको बजेट सार्वजनिक गरेको छ।

तर, बजेटमा आर्थिक मामिलामन्त्री हाबी भएपछि मुख्यमन्त्री रुष्ट बनेका हुन्।

‘यो बजेट सहमति जनाउने खालको छैन, आर्थिक मामिलामन्त्रीले चलाएर डेढ अर्बको कार्यक्रम थप गरेको उहाँको गुनासो छ,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘बजेटकै विषयले मुख्यमन्त्रीलाई तनाव भएको छ।’

कतिपयले मुख्यमन्त्री जम्कट्टेल र आर्थिक मामिला मन्त्री थपलियाबीच भनाभन नै भएको बताएका छन्। 

बागमतीमा माओवादी केन्द्रको नेतृत्वमा सरकार छ। आर्थिक मामिलासहितका मन्त्रालय एमालेका भागमा छन्।

माओवादी केन्द्रका सांसद युवराज चौलागाईंले पनि बजेट स्वीकार गर्न नसक्ने बताए।

‘बजेट हेर्दा सन्तोष गर्ने ठाउँ छैन। मनपरी ढंगले बजेट राखिएको छ,’ उनले नेपालखबरसँग भने, ‘सांसदले सिफारिस गरेका योजना अस्वीकृत गरिएको छ, तोडमोड गरिएको छ।’

सांसदहरूले गरेको सिफारिस अनावश्यक तोडमोड र अस्वीकृत गरिएको गुनासो उनले गरे।

बजेट ल्याउनुअघि मुख्यमन्त्री जम्मकट्टेल र आर्थिक मामिला मन्त्री थपलियासँग छलफल गरेर एउटा समझदारी बनाइए पनि अन्तिममा हेरफेर र थपघट गरेको नेताहरू बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .