काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) कान फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स प्रस्थान गर्ने भएका छन्। कानका मेयर डेभिड लिनार्डको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेका हुन्।
सोमबार राती २ बजे मेयर बालेन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत् त्यसतर्फ प्रस्थान गर्न लागेको उनीनिकट स्रोतले बताएको छ।
मेयर शाहका व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्साल पनि फ्रान्स जाँदैछन्।
बालेनले सो फेस्टिभलमा तीन दिन बिताउनेछन्।
गत फागुन १४ गते युनेस्कोले सार्वजनिक गरेको रचनात्मक सहर सञ्जाल (क्रिएटिभ सिटिज् नेटवर्क)मा काठमाडौँ पनि छनोट भएको थियो।
युनेस्कोको रचनात्मक सहर सञ्जालमा छनोट भएसँगै देशविदेशमा आफ्नो सहर र संस्कृतिबारे सन्देश पुर्याउनेगरी बालेन्द्रले विभिन्न योजनाहरू अघि सारिरहेका छन्।
रचनात्मक सहरका लागि तोकिएका ७ क्षेत्रमध्ये काठमाडौँले चलचित्र विधा चयन गरेको थियो। सबै विधा काठमाडौँसँग सम्बन्धित भएकाले चलचित्र विधाबाट सबै क्षेत्र समेट्नेगरी यो विधा छानिएको महानगरले बताएको छ।
ललितपुरले पनि युनेस्कोको यो सञ्जालमा जोडिन त्यतिबेला फाराम भरेको थियो। तर, उसलाई युनेस्कोले छनोट गरेन।
Shares

प्रतिक्रिया