देशभरसँगै यतिबेला (शनिबार बिहान) काठमाडौँ उपत्यकाको मौसम पनि बदली (आकाशमा बादल) भएको छ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार आज काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। १० मिलिमिटरभन्दा मुनिको वर्षालाई हल्का तथा १० मिलिमिटरभन्दा माथि ५० मिलिमिटरभन्दा तलको वर्षालाई मध्यम वर्षा भनिन्छ।
‘अहिले उपत्यकाको मौसम साधारणतया बदली छ, अब केही समयपछि छिटपुट वर्षा हुने सम्भावना देखिन्छ’, उनले भनिन्, ‘बीचमा वर्षा केही बेर रोकिए पनि फेरि दिउँसो पानी पर्ने सम्भावना छ।’
मौसमविद् नगरकोटीका अनुसार काठमाडौँ उपत्यकाको आकाशमा आज दिनभर नै बादल लाग्ने सम्भावना छ।
‘पानी लगातार त पर्दैन’, उनले भनिन्, ‘तर पानी पर्ने रोकिने, फेरि पर्ने क्रम जारी रहने देखिन्छ।’
मौसमविद् नगरकोटीका अनुसार आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८.५ डिग्री सेल्सियस देखिएको छ, आज अधिकतम भने २४ देखि २६ डिग्री सेल्सियसम्म रहने अनुमान गरिएको छ।
Shares

प्रतिक्रिया