ad ad

बागमती


तुवाँलोले ढाक्यो काठमाडौँ, विश्वका वायु प्रदूषित सहरको सूचीमा पहिलो

तुवाँलोले ढाक्यो काठमाडौँ, विश्वका वायु प्रदूषित सहरको सूचीमा पहिलो

नेपालखबर
चैत २८, २०८० बुधबार ७:५४, काठमाडौँ

केही दिनदेखि काठमाडौँ उपत्यकामा वायू प्रदूषण एकदमै बढेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार तीन/चार दिनयता काठमाडौँ उपत्यकामा लगातार तुवाँलो लागिरहेको छ। 

‘अहिले पनि उपत्यकामा तुवाँलो लागिरहेको छ, भिजिबिलिटी २ हजार मिटर मात्र छ’, महाशाखााका मौसमविद् गोविन्द झाले बुधबार बिहान नेपालखबरसँग भने, ‘अपराह्नतिर अलि जोडले हावा चलेका बेला हल्का हटेजस्तो भए पनि पुनः साँझपख तुवाँलोले छोपिहाल्छ।’

उनका अनुसार ३/४ दिनयता काठमाडौँ उपत्यकामा तुवाँलो लागिरहेको छ। यसले वायु प्रदूषण बढाएको छ। 

यसैबीच स्विजरल्यान्डस्थित आईक्यूएयरका अनुसार विश्वका सर्वाधिक वायु प्रदूषित सहरको सूचीमा आज पनि काठमाडौँ पहिलो नम्बरमै छ।

आईक्यूएयरका अनुसार काठमाडौँ उपत्यकाको वायु गुणस्तर सूचकांक (एक्यूआई) अहिले २३० छ।

विपत् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीका अनुसार शून्यदेखि  ५० सम्मको एक्यूआइलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्यूआइलाई होसियार रहुँ अथवा पहेँलो संकेत दिइन्छ।

१ सय १ देखि १ सय ५० सम्मलाई हुनुलाई श्वाशप्रश्वास र  मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ भने १ सय ५१ देखि २ सयसम्मको एक्यूआइलाई पनि अस्वस्थकर मानिन्छ।

२ सय १ देखि ३ सयसम्मको एक्यूआइलाई अति अस्वस्थरक वायु मानिन्छ भने ३ सय १ देखि ४ सयसम्मलाई खतरनाक र ४ सय १ देखि ४ सय ५० सम्मलाई अति खतरा मानिन्छ। 

केही दिनयता मुलुकभर लागेको डढेलोका कारण काठमाडौँमा वायु प्रदूषण बढेको हो। 

वातावरण विभागका उपमहानिर्देशक तारादत्त भट्टका अनुसार मुलुकभर लागेको डढेलोको असर काठमाडौँलगायतका सहरको वायुमा परेको हो।

मौसमविद् झाका अनुसार वर्षा भएको भए डढेलो पनि निभ्थ्यो भने हावामा फैलिरहेको प्रदूषणका कण पनि जमिनमा झरेर वायु स्वच्छ हुन मद्दत पुग्थ्यो। 

‘तर अझै २/३ दिन काठमाडौँ उपत्यकामा वर्षा हुने सम्भावना देखिएको छैन’, उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .