ad ad

बागमती


सुन्धारामा महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप, ११ जना घाइते

सुन्धारामा महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप, ११  जना घाइते

महानगर प्रहरीको कुटाइबाट घाइते व्यवसायी


नेपालखबर
फागुन १७, २०८० बिहिबार ७:४०, काठमाडौँ

काठमाडौँको सुन्धारामा फुटपाथ व्यवसायी र काठमाडौँ महानगर प्रहरीबीच बुधबार साँझ झडप भएको छ। 

झडपमा ५ नगरप्रहरी र ६ व्यवसायी गरी ११ जना घाइते भएका छन्।

फुटपाथ व्यवासायीले सुन्धारामा पसल राख्न खोजेपछि महानगर प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो। 

महानगर प्रहरीले धरहराअगाडि राति ९ बजेअघि व्यवसाय सुरु नगर्न आग्रह गरेको तर फुटपाथ व्यवसायीले साँझ ७ बजे नै पसल राख्न सुरु गरेकाले हटाउन खोज्दा प्रहरी टोलीमाथि नै आक्रमण भएको दाबी गरेको छ।   

‘हामीमाथि नै अट्याक भयो, आत्मरक्षाका लागि हामीले पनि प्रतिवाद गरेका हौँ’, नगर प्रहरी उपरीक्षक मनोज प्रसाद लामिछानेले नेपालखबरसँग बिहीबार बिहान भने। 

उता नेपाल स्वरोजगार व्यापार श्रमिक संघले भने काठमाडौँ महानगर प्रहरीका डीएसपी मनोज लामिछाने नेतृत्वको प्रहरी टोलीले मजदुरमाथि आक्रमण गरेको दाबी गरेको छ।

विज्ञप्ति जारी गर्दै संघले भनेको छ, ‘काठमाडौँ महानगर प्रहरीका डीएसपी मनोज लामिछाने नेतृत्वमा परिचालित महानगर प्रहरीहरूले आज (बुधबार) साँझ सवा ८ बजेको समयमा काठमाडौँको सुन्धारा आसपासका सडकमा स्वरोजगार मजदुरहरूलाई आक्रमण गरी घाइते बनाउनुका साथै, सामानसमेत लुटपाट गरेर मजदुरहरूलाई नियन्त्रणमा लिएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’

यस्तो छ संघले जारी गरेको पूरा विज्ञप्ति

काठमाडौँ महानगर प्रहरीका डिएसपी मनोज लामिछाने नेतृत्वमा परिचालित महानगर प्रहरीहरूले आज (बुधबार) साँझ सवा ८ बजेको समयमा काठमाडौँ को सुन्धारा आसपासका सडकमा स्वरोजगार मजदुरहरूलाई आक्रमण गरि घाइते बनाउनुका साथै, सामानसमेत लुटपाट गरेर कजदुरहरूलाई नियन्त्रणमा लिएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। 

महानगर प्रहरीको आक्रमणमा परेर स्वरोजगार मजदुर नानीमैया बस्नेत गम्भीर घाइते भई ट्रमा सेन्टरमा भर्ना हुनुभएको छ भने अन्य मजदुरहरू राधिका मैनाली, बद्री देवकोटा घाइते हुनुभएको छ। केही मजदुरहरूलाई नियन्त्रणमा लिई कालिमाटी प्रहरी कार्यालयमा लगिएको छ। 

साँझको समय कसैलाई असर नपार्ने गरी सडकपेटी तथा गल्लीमा व्यवसाय गरिरहेका स्वरोजगार श्रमिकहरूलाई साँझको समयमा अन्धाधुन्ध कुटपिट गर्ने, लछारपछार गर्ने, आमाचकारी गालीगलौज गर्ने, सामानहरू लुट्ने, सामानहरू फ्याँकिदिने र मरणासन्न हुनेगरी घाइते बनाउनेजस्ता महानगरका मेयर बालेन्द्र साहको निर्देशनमा महानगर प्रहरीहरूले गरेका अमानवीय व्यवहारको भत्सर्ना गर्दछौँ।

सानो पुँजी लगानी गरेर फलफूल, तरकारी, जुत्ताचप्पल, कपडालगायतका सामग्रीहरू सस्तो मूल्यमा बिक्री गर्ने निम्न वर्गका स्वरोजगार मजदुरहरूलाई सत्ता र शक्तिको आडमा गरिएको गुन्डागर्दी खेदजनक छ। साँझको घटनाले महानगरपालिका आतंककारी, अपहरणकारी र लुटेराजस्तो देखिएकाले तत्काल सच्चिन आग्रह गर्दछाैँ।

महानगरपालिकासँग हामीआग्रह गर्दछौँ:

१. मजदुरमाथि आक्रमण गर्नेलाई कारबाही गरी माफी मागियोस्। स्वरोजगार मजदुरहरूलाई आक्रमण गरी गम्भीर घाइते बनाउने महानगर प्रहरीहरूलाई तत्काल कारबाही गर्दै मजदुरमाथि आक्रमण गर्ने, मजदुरहरूको सामान लुट्नेजस्ता आपराधिक कार्यप्रति काठमाडौँ महानगरपालिकाले मजदुरहरूसँग माफी माग्नु पर्दछ।

२. घाइते मजदुरहरूको तत्काल उपचार गरियोस्। आक्रमणमा परी घाइते हुनुभएका सम्पूर्ण श्रमिकहरूको तत्काल अवस्था बुझी तत्काल उपचारको प्रबन्ध गरियोस्।

३. जफत गरिएका सामानहरू फिर्ता : महानगर प्रहरीहरूद्वारा आज (बुधबार साँझ) तथा अन्य समयमा लुटिएका स्वरोजगार श्रमिकहरूको सामानहरू सम्बन्धित श्रमिकहरूलाई ससम्मान र तत्काल फिर्ता गरियोस्।

४. सन्ध्याकालीन बजारको व्यवस्था : महानगरभित्र सन्ध्याकालीन बजारको व्यवस्थाका लागि निश्चित समय र स्थानहरूको निर्धारण गरी व्यवसाय गर्ने वातावरणको व्यवस्था गरियोस् 

५. कार्यदल गठन : महानगरभlत्र “सस्तो नागरिक बजार‶को व्यवस्था गर्न, महानगरभित्र “श्रम डेस्क‶को व्यवस्था गरी श्रमिकहरूको सूचीकरण र व्यवस्थापनलगायत तात्कालीन र दीर्घकालीन संकटहरूको व्यवस्थापनका लागि नेपाल स्वरोजगार व्यापार श्रमिक संघसहित सरोकारवालाहरू सम्मिलित कार्यदल गठन गरियोस्।

माथि उल्लेखित विषयहरू तत्काल सम्बोधन नभए सम्पूर्ण श्रमिकहरू सडक आन्दोलनमा जान बाध्य हुने बेहोरा अवगत गराउँदछाैँ।
हार्दिक अभिवादनसहित।

नेपाल स्वरोजगार व्यापार श्रमिक संघ
केन्द्रीय कमिटी, काठमाडौँ

माया गुरुङ
अध्यक्ष

राजकुमार श्रेष्ठ
महासचिव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .