बागमती


बागमती सरकारप्रति प्रतिपक्षीको असन्तुष्टि यथावत, प्रदेशसभामा अवरोध गर्ने रणनीति

बागमती सरकारप्रति प्रतिपक्षीको असन्तुष्टि यथावत, प्रदेशसभामा अवरोध गर्ने रणनीति

तस्बिर : नेपालखबर


नेपालखबर
फागुन १६, २०८० बुधबार १५:५, हेटौंडा

लामो समयसम्म अन्योलमा रहेको बागमती प्रदेश सभाको बैठक मंगलबार बस्यो। 

प्रतिपक्षी दलहरूले सदन चल्न नदेलान् भन्ने त्रास मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई थियो। 

सदन निरन्तरताका लागि प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले बिहानै सर्वदलीय बैठकको आव्हान गरेका थिए। 

बिहानको बैठकमा सहमति नभएपछि दिउँसो सदन चल्नुअघि संसदीय बैठक बसेर सदन सुरु भयो। 

आजको कार्यसूचीमा हिउँदे अधिवेशन प्रारम्भको शुभकामना दिने रहेको कारण बैठक निर्धारित कार्यसूचीअनुसार नै चलेको एमाले बागमती प्रदेश संसदीय नेता जगन्नाथ थपलियाले बताए। 

बजेट कार्यान्वयनको विषयमा सरकारसँग रुष्ट देखिएको प्रमुख प्रतिपक्षी दल एमालेले माग सम्बोधन नभए आगामी बैठक अवरुद्ध गर्ने रणनीतिमा रहेको थपलिया बताउँछन्। 

‘बैठक हाम्रै पहलमा पनि बसेको हो। कार्यसूचिमा शुभकामना दिने र शोक सभा पारित गर्ने भन्ने थियो। त्यसैले हामी आक्रामक बन्न चाहेनौँ,’ उनले भने, ‘तर भोलिका दिनमा लिखित सहमति कार्यान्वयनको विषयमा सरकारले यस्तै गैर जिम्मेवारपन देखायो भने सदन अवरुद्ध हुन सक्छ।’

यता, आइतबार बिनानिष्कर्ष टुंगिएको बैठक बिहानका लागि बोलाइएकोमा सहमति नजुटेको राप्रपाका बागमती संसदीय दलका नेता उद्धव थापाले बताए। 

उनका अनुसार सरकारले प्रतिपक्षी दलहरूसँग गरेको लिखत सहमती कार्यान्वयनका बिषयमा हल्का रुपले लिएको उनको गुनासो छ। 

प्रतिपक्षी दल राप्रपा र नेकपा एमालेले आफ्नो अडान कायमै राख्दा सरकारले त्यसलाई उपेक्षा गरेको सांसद थापाको भनाइ छ।

आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू वाचन गरिएको थियो भने अधिवेशनको सफलताको कामनाका लागि दलीय हिसाबमा सांसदहरूले मन्तव्य राखेका थिए। 

बैठकमा प्रमुख प्रतिपक्ष दलका तर्फबाट एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, नेपाली कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकार, नेकपा माओवादी संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकाल, राप्रपा संसदीय दलका नेता उद्धव थापा, नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनाल, नेमकिपा संसदीय दलका नेता सुरेन्द्रराज गोसाई र हाम्रो नेपाली पार्टी संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले धारणा राखेका थिए।

मंगलबार बसेको प्रदेशसभा बैठकले शोक प्रस्ताव पारित गर्दै बुधबार बिहान ११:३० बजेसम्मका लागि स्थगित गरेको थियो। तर आज बस्ने भनिएको बैठक स्थगित भएको छ।

प्रदेशसभा बैठकले बागमती प्रदेशका पूर्व सदस्य बलराम पौडेलको निधनमा शोक प्रस्ताव पारित गरेको हो। पौडेलको निधनमा संसदमा एक मिनेट मौनधारण गरिएको थियो।

चितवन निवासी पौडेलको गत पुस १७ गते सडक दुर्घटनामा निधन भएको थियो। ६६ वर्षका पौडेल २०७९ पुसमा बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .