आज (आइतबार) काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार दिउँसोपछि काठमाडौँ उपत्यकामा छिटपुटदेखि हल्कासम्म वर्षा हुने सम्भावना देखिएको हो।
‘उपत्यकामा अपराह्न वा साँझपख छिटपुटदेखि हल्का वर्षा हुने सम्भावना देखिएको छ’, उनले भने, ‘त्यस्तो धेरै सम्भावना त देखिन्न, कम कम नै देखिएको छ।’
उनका अनुसार अहिले बिहानैदेखि काठमाडौँ उपत्यकाको मौसम आंशिक बदली भएको छ। ‘आज दिनभर उपत्यकाको मौसम आंशिकदेखि सामान्यसम्म बदली हुने सम्भावना छ, भनेको आज घाम देखिए पनि राम्रोसँग लाग्दैन, जसले गर्दा चिसो केही बढ्ने देखिन्छ।’
यसैबीच आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस देखिएको छ। त्यसो त यो प्रारम्भिक विवरण मात्र हो, अहिले बिहान ८:४५ बजे पुनः मापन गरिन्छ, जतिबेला न्यूनतम तापक्रम थोरै घट्ने सम्भावना हुन्छ। हिजो शनिबार उपत्यकाको न्यूनतम तापक्रम ३.३ डिग्री सेल्सियस देखिएको थियो।
‘राति मौसम बदली भई आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम केही बढ्छ’, मौसमविद् लामिछानेले भने, ‘दिउँसो बादल लाग्यो भनेचाहिँ घाम राम्ररी नलाग्ने भएकाले अधिकतम तापक्रम घट्छ।’
आज उपत्यकाको अधिकतम तापक्रम १५ देखि १७ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको उनले बताए। हिजो शनिबार उपत्यकाको अधिकतम तापक्रम १८.८ डिग्री सेल्सियस देखिएको थियो।
२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।
Shares

प्रतिक्रिया