बागमती


रत्नपार्क-सूर्यविनायक द्रुत बस चलाउन ‘डेडिकेटेड लेन’ निर्माण धमाधम

रत्नपार्क-सूर्यविनायक द्रुत बस चलाउन ‘डेडिकेटेड लेन’ निर्माण धमाधम

नेपालखबर
भदौ २९, २०८० शुक्रबार ९:५३, काठमाडौँ

सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ सञ्चालनका लागि सडकमा डेडिकेटेड लेन बनाउन थालिएको छ।

काठमाडौं डिभिजन कार्यालयले द्रुत बस सेवा सञ्चालन गर्न रेड मार्क गर्न थालिएको डिभिजन प्रमुख नारायण निहुँरेले जानकारी दिए।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले संविधान दिवसका दिन असोज ३  देखि द्रुत बस सेवा सञ्चालन गर्न निर्देशन दिएका छन्। सोबमोजिम सडक विभाग र यातायात व्यवस्था विभागले काम थालेका हुन्। 

यातायात व्यवस्था विभागले द्रुत बस सेवाका लागि २५ वटा ठूला बस तयारी अवस्थामा राखेको छ भने सडक विभागले डेडिकेटेड लेन बनाउन थालेको हो।

तीन दिनभित्र सूर्यविनायकदेखि रत्नपार्कसम्म डेडिकेटेड लेन बनाइसक्ने गरी काम भइरहेको बताइएको छ। 

सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक विभागका महानिर्देशक, यातायात व्यवस्था विभागका महानिर्देशकसहितको टोलीलाई  ‘द्रुत बस सेवा’ सञ्चालन गर्न निर्देशन दिएका थिए। 

यसअघि ‘द्रुत बस सेवा’ असोज १ देखि नै सञ्चालन गर्ने तयारी थियो। तर निरन्तर वर्षाका कारण  सडकको डेडिकेटेड लेनमा रेड मार्क गर्न सकिएको थिएन। बिहीबार साँझदेखि लाइन बनाउन थालिएको छ। 

बिहान र बेलुका कार्यालय समयमा काठमाडौं उपत्यकाभित्र धेरै ट्राफिक जाम हुनेभएपछि मन्त्री ज्वालाले द्रुत बस सेवाको अवधारणा ल्याएका हुन्। 

यातायात व्यवस्था विभागका महानिर्देशकको सरुवा भएपछि ‘द्रुत बस सेवा’का विषयमा केही आशंका उब्जिएका थिए । ‘अब आशंका पाल्नुपर्दैन, ३ असोजबाट द्रुत बस सेवा सञ्चालनमा आउँछ’, मन्त्री ज्वालाले भने। 

‘द्रुत बस सेवा’ बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुने जनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .