ad ad

बागमती


बागमतीको मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासको मत लिँदै

बागमतीको मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासको मत लिँदै

नेपालखबर
माघ ३, २०७९ मंगलबार ८:४६, हेटाैंडा

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज विश्वासको मत लिने भएका छन्।

पुस २९ गते शपथग्रहण गरेका मुख्यमन्त्री जम्मकट्टेलले आज मध्यान्ह १२ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूचि रहेको प्रदेशसभा सचिव कृष्णहरि खड्काले बताए। 

संविधानको धारा १८६ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको व्यक्तिले एक महिनाभित्र सदनमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

सोही व्यवस्थाअनुसार मुख्यमन्त्री जम्मकट्टेलले आजै प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन्।

जम्मकट्टेल प्रदेशसभाको ५ दलको ७० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।

उनलाई एमालेका २७, नेकपा माओवादी २१, राप्रपा १३, नेकपा एकीकृत समाजवादी ७ र हाम्रो नेपाली पार्टीको २ सांसदको समर्थन छ । 

जम्मकट्टेललाई विश्वासको मत प्राप्त गर्न ११० सदस्य रहेको  प्रदेशसभामा ५६ मतको आवश्यकता पर्छ । सरकारमा समर्थन गरेका दलहरुले समर्थन गरे मुख्यमन्त्री जम्मकट्टेलले सहजै विश्वासको मत प्राप्त गर्नेछन् ।

मुख्यमन्त्री जम्मकट्टेलले सबै सांसदहरुलाई विश्वासको मत दिन आग्रह गरेका छन् । तर नेपाली कांग्रेस र नेपाल किसान मजदुर पार्टी (नेमकिपा) ले भने मुख्यमन्त्रीलाई विश्वासको मत नदिने बताएका छन्।

‘सत्ता गठबन्धनमा रहेका दलहरुलाई हाम्रो सभामुखको उम्मेदवारलाई सघाउन आग्रह गरेका थियौं। तर कांग्रेस बाहेक कसैको पनि मत आएन। यसलाई नै मध्यनजर गरेर हामी सरकारलाई विश्वासको मत दिदैनौं। हामी प्रतिपक्षमा नै बस्छौं,’ कांग्रेस बागमती संसदीय दलका नेता बहादुर सिंह लामाले भने। 

यता, नेमकिपा बागमती संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंले पनि नेमकिपाको सांसदको समर्थन सरकारलाई नरहने बताएका छन्। 

प्रतिपक्षको भूमिकामा रहेर सभामा उपस्थित हुने उनले बताए। बागमती प्रदेश सभामा कांग्रेसको ३७ सिट छ भने नेमकिपाको ३ सिट छ।

दुई दलहरुको समर्थन नरहँदा पनि मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत भने सहजै प्राप्त गर्न सक्छन्। ११० सदस्य रहेको प्रदेश सभामा एमालेको २७, माओवादीको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सिट छ।

जसमध्ये मुख्यमन्त्रीले ६८ मत प्राप्त गर्नेछन्। सभामुख र उपसभामुखले विश्वासको मत दिन नपाउने भएपछि ७० सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका उनलाई ६८ मत प्राप्त निश्चित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .