बागमती प्रदेशमा नयाँ सरकार गठन भइसकेको छ। पुराना मन्त्रीहरुको कार्यकाल सकिसेको छ। सोमवार शलिकराम जमरकट्टेलले नयाँ मुख्यमन्त्रीका रुपमा नियुक्त भएपछि मंगलबार मुख्यमन्त्रीसहित तीन मन्त्रीहरुले एउटै मञ्चमा सपथ ग्रहण गरेर आफ्नो जिम्मेवारी वहन गर्न गरिसकेका छन्।
नयाँ सरकार आएसँगै निर्वतमान मन्त्रीहरुले सरकारी सेवासुविधा छाड्नुपर्ने हुन्छ। तर अघिल्लो कार्यकालमा सामाजिक विकास मन्त्री रहेकी कुमारी मोक्तान भने अझै सरकारी गाडीमा कब्जा जमाइरहेकी छन्।
आज सार्वजनिक बिदाको दिन, त्यसमा पनि नयाँ मन्त्रीको पदबहाली भैसकेपछि पनि सरकारी सम्पति फिर्ता नगरेर उनले सरकारी गाडी लिएर हिँडिरहेको पाइएको हो।
उनले मन्त्री हुँदा चढ्दै आएको बागमती प्रदेश ३००१ झ ००७७ रातो र निलो ब्याकग्राउन्ड भएको नम्बर प्लेटलाई सेतो बनाएर प्रदेशको राजधानी हेटौंडा बजारमा कुदिरहेकी छन्।
त्यसो त, मुख्यमन्त्री कार्यालयले मन्त्रालयका सचिवहरुलाई पदमुक्त भएकै दिन गाडी फिर्ता गर्न निर्देशन दिएको थियो। पदमुक्त भएकै दिन बागमती प्रदेशको प्रशासन तथा बैठक महाशाखाले मन्त्रीहरुलाई सवारी साधन यथाशीघ्र कार्यालय फिर्ता पठाउन यस्तो निर्देशन जारी गरेको थियो –
‘श्रीमान सचिवज्यू, श्रीमान प्रमुख सचिवज्यूको आदेशअनुसार त्यहाँ मन्त्रालयमा रहेको माननीय मन्त्री तथा राज्यमन्त्रीज्यूले प्रयोग गर्दै आउनुभएको सवारीसधान यथाशीघ्र यस कार्यालयमा फिर्ता पठाइ दिनुहुन जानकारी गराइन्छ।’
तर नैतिकताको आधारमा हिजो नै सवारी फिर्ता गर्नुपर्ने भएता पनि उनले सरकारी सम्पतिमा कब्जा जमाइरहेकी हुन्।
मोक्तान मकवानपुर २ ‘क’ बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। प्रदेशसभा सदस्यले सेवासुविधा स्वरुप सरकारी गाडी पाउने कुनै व्यवस्था प्रदेशमा छैन। त्यसो त, मंगलबार मन्त्रीपदबाट बिदा हुँदै गर्दा उनले स्वास्थ्य मन्त्री भएर फर्कने बाचा समेत गरेकी थिइन्।
तर मन्त्री बन्नु अघि नै मन्त्रीले चढ्ने सवारी सांसदले कब्जा गर्नु लज्जास्पद भएको बागमती प्रदेशका नवनिर्वाचित एक सांसदले बताए।
Shares
प्रतिक्रिया