अन्तिम समयमा नागरिक उन्मुक्ति पार्टीले समर्थन दिएपछि नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्।
सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीकहाँ पुगेर रावलले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन्।
मुख्यमन्त्रीमा दाबी पेश गर्न तयार नेकपा एमालेका रावलको सम्पर्कमा नागरिक उन्मुक्ति पार्टी नआएपछि तनाव भएको थियो।
तर प्रदेश प्रमुखले दिएको समयअनुसार नै बुधबार साँझ ५ बजे सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीमा रावलको दाबी पेश भएको हो।
उनको पक्षमा एमालेका १०, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपा १ सहित २९ सांसदको समर्थन रहेको छ।
बुधबार बिहानदेखि नागरिक उन्मुक्ति नआएपछि एमाले प्रदेश प्रमुखसमक्ष दाबी गर्न जान सकेको थिएन। तर प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी पेश गर्न दिएको साँझ ५ बज्न नपाउँदै एमालेलाई समर्थन मिलेको हो।
नागरिक उन्मुक्तिले रेशम चौधरी रिहाइको लिखित प्रतिवद्धता नपाएसम्म समर्थन नगर्ने अडान लिएको थियो।
शीर्ष तहमा माघ महिनाभित्र आवश्यक प्रक्रिया मिलाएर चौधरीलाई रिहाइ गर्ने प्रतिवद्धता आएपछि नागरिक उन्मुक्तिले समर्थन गरेको हो।
सुदूरपश्चिम प्रदेशमा अहिले सरकार गठबनका लागि नागरिक उन्मुक्ति पार्टी निर्णायक थियो।
यो प्रदेशमा नागरिक उन्मुक्तिका ७ जना प्रदेशसभा सदस्य छन्। उसले एमाले नेतृत्वको गठबन्धनलाई समर्थन नगरे सरकार बन्न सक्दैनथ्यो।
Shares

प्रतिक्रिया