ad ad

बागमती


आफन्तको मृत्यु भएपछि चितवन मेडिकल कलेजमा तोडफोड, १० जना पक्राउ

आफन्तको मृत्यु भएपछि चितवन मेडिकल कलेजमा तोडफोड, १० जना पक्राउ

फाइल फाेटाे


नेपालखबर
असोज १८, २०७९ मंगलबार १९:४१, चितवन

बिरामीको मृत्यु भएको भन्दै चितवन मेडिकल कलेज (सीएमसी) मा तोडफोड भएको छ। आक्रोशित आफन्तहरूको समूहले अस्पतालको सघन उपचार कक्ष (आईसीयू) भित्रै प्रवेश गरेर तोडफोड गरेका हुन्।

तोडफोडबाट लाखौँको क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ। तोडफोडबाट मेडिकल आईसीयू कक्षको झ्यालका सिसा, ढोका, उपचार उपकरणलगायतमा क्षति पुगेको छ। आक्रोशित भीडले आईसीयू कक्षमा रहेका चिकित्सक र नर्सलाई समेत हातपात गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले राससलाई जानकारी दिए। 

‘धेरै बिरामी उपचार भइरहेको बेलामै संवेदनशील कक्षमा तोडफोड हुनु निन्दनीय छ, तोडफोडबाट लाखौँको क्षति भएको छ, चिकित्सक तथा नर्सहरूमाथि समेत हातपात भएको छ”, देवकोटाले भने, “संवेदनशील क्षेत्रमा यस्तो हर्कत हुनुमा सरकार गम्भीर हुनुपर्छ।”

उनले अस्पतालले भर्खरको युवालाई बचाउन भनेर हरतवरले प्रयास गरेको बताए। 

अहिले अस्पतालमा बाक्लो मात्रामा सशस्त्र प्रहरी र नेपाल प्रहरी खटाइएको छ। भरतपुर–१३ का ३६ वर्षीय रमेश कुँवरको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। उनलाई प्याङ्क्रियाटाइटिस र उच्च रक्तचापको समस्या भएर अस्पताल लगिएको थियो। अस्पतालले उपचार गर्न सेन्ट्रल भेन खोलेर औषधि दिएको बताएको छ। त्यसलाई आफन्तहरूले घाँटीको शल्यक्रिया भन्दै तोडफोडमा उत्रिएको बताइएको छ। घटनाबारे अस्पताल प्रशासनबीच छलफल चलिरहेको बेला केही समूहले अस्पतालमा तोडफोड गरेका हुन्।

तोडफोडमा संलग्न रहेको भन्दै प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले बिरामीको मृत्युको सम्बन्धमा अस्पताल प्रशासनसँग वार्ता भइरहेको बेला अराजक समूहले तोडफोड गरेको जनाएको छ। तोडफोडमा संलग्नहरू गाडी रिजर्भ गरेर आएको प्रहरीले जनाएको छ।

सो क्रममा प्रहरीसँग समेत उनीहरूको घम्साघम्सी चलेको थियो।

“सो क्रममा प्रहरी उपस्थित नभएको भए झनै ठूलो क्षति हुन सक्ने अवस्था थियो, समयमै प्रहरी पुगेर ठूलो क्षति हुनबाट रोकेको थियो”, प्रवक्ता विजयराज पण्डितले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .