ad ad

बागमती


काठमाडौं : सडकमा थुपारिएका सबै फोहोर व्यवस्थापन

काठमाडौं : सडकमा थुपारिएका सबै फोहोर व्यवस्थापन

नेपालखबर
भदौ ११, २०७९ शनिबार १७:५०, काठमाडौँ

काठमाडौँ उपत्यकामा यसअघि सडकमा थुपारिएका सबै फोहोर व्यवस्थापन गरिएको छ। दुई महिनादेखि उपत्यकाको सडकमा थुप्रिएका सबै फोहोर व्यवस्थापन भए पनि टेकु ट्रान्फरस्टेसनमा राखिएका फोहर व्यवस्थापन भने आगामी सातासम्ममा सक्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ। 

कामपा वातारण विभाग प्रमुख सरिता राईले सडकमा यत्रतत्र रहेको सबै फोहोर व्यवस्थापन भइसकेको र कतै फोहर व्यवस्थापन हुन बाँकी भएको पाइए महानगरपालिकालाई जानकारी दिन नागरिकलाई आग्रह गरिन्। यसअघिको फोहोर व्यवस्थापन गर्नुपर्ने भएकाले अहिले साविकभन्दा बढी दैनिक तीन सय गाडी फोहोर अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा लैजाने गरिएको छ। यही हिसाबमा व्यवस्थापनको काम भए र बीचमा केही समस्या नआए आगामी सातासम्ममा टेकुमा थुपारिएको फोहोरको पनि अन्तिम व्यवस्थापन कार्य हुने भनाइ विभागको छ। 

केही दिनअघि कामपाका प्रमुख बालेन्द्र साहले फोहोर व्यवस्थापन कार्यमा सहभागी निजी कम्पनीलाई एक साताभित्र सबै फोहर व्यवस्थापन गर्न दिर्नेशन दिएका थिए। प्रमुख साहको निर्देशनअनुरूप निजी कम्पनीले व्यवस्थापनको काम नियमित गरेपछि उपत्यकामा लामो समयदेखि थुप्रिएको फोहोर व्यवस्थापन भएको हो। 

कहिले पानीका कारण बाटो अवरोध त कहिले सिसडोल बञ्चरेडाँडाका स्थानीयले विविध माग राखी अवरोध गरेपछि २ महिनादेखि उपत्यकाको फोहोर व्यवस्थापन हुन सकेको थिएन। 

दुई महिनादेखि विसर्जन हुन नसकेको उपत्यकाको फोहोर व्यवस्थापनका सम्बन्धमा अघिल्लो साता काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच भएको चारबुँदे सहमतिपछि बिहीबारदेखि साविकबमोजिम फोहोर व्यवस्थापन हुन थालेको हो। 

पेचिलो सवाल बनेको सङ्घीय राजधानी काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन वर्ष बित्दै जाँदा थप चुनौती बन्दै गएकाले कामपाले कुहिने फोहोरलाई यही नै व्यवस्थापन गर्न स्थान पहिचानको काम गरिरहेको जनाएको छ। हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर उत्पादन हुने गरेको छ। त्यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन उत्पादन हन्छ। अहिले कामपासहित उपत्यकाको १७ स्थानीय तहको फोहोरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .