अटो


जनरल मोटर्सका ४६ हजार मजदुर हडतालमा उत्रिए

जनरल मोटर्सका ४६ हजार मजदुर हडतालमा उत्रिए

नेपालखबर
भदौ ३०, २०७६ सोमबार १२:१२,

अमेरिकास्थित युनाइटेड अटो वर्कर्स युनियनले जनरल मोटर्स (जीएम)विरुद्ध सोमबार राष्ट्रव्यापी हडताल सुरु गरेको छ। मजदुरसँगको सम्झौताका विषयमा विवाद उत्पन्न भएपछि अमेरिकाभरका करिब ४६ हजार मजदुर हडतालमा उत्रिएका हुन्।

वालस्ट्रिट जर्नलका अनुसार एक दशकमा पहिलो पटक जीएमविरुद्ध देशव्यापी यतिठूलो हडताल भएको हो । जिएमसँग मजदूरहरुको चारवर्षे करार समाप्त भएको, र नयाँ करार गर्न आनाकानी गरेपछि मजदूरहरु आन्दोलित भएका हुन्।

डिट्रोइटमा आइतबार राति स्थानीय युनियन नेताहरुको बैठकले हडतालमा जानैपर्ने निर्णय गरेको युनाइटेड अटो वर्कर्स युनियनले ट्वीटमार्फत जानकारी दिएको थियो । “यो अन्तिम विकल्प हो,” जीएमसँग युनियनका मुख्य वार्ताकार टेरी डिटेसले बताए। ‘हामी यस मुलुकका श्रमजीवी मजदूरको आधारभूत अधिकारका पक्षमा अडिग छौं’, उनले भने। युएडब्लुका अधिकारीहरुले दुबै पक्षबीचको छलफल विनानिष्कर्ष टुङ्गिएको बताएका छन् । दुबै पक्षबीच ज्याला, स्वास्थ्य सेवा, अस्थायी कामदारको स्थिति र रोजगारीको सुरक्षाका विषयमा विमति रहेको थियो।

‘हाम्रा साथीहरुले कुरा राख्नुभयो, हामीले यस विषयलाई हल्का रुपमा लिने कुरै छैन’, युएडब्लुका राष्ट्रिय मध्यस्थता समितिका अध्यक्ष टेड क्रुमले भने। हडताल सुरु केही घण्टाअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै भनेका थिए, ‘जनरल मोटर्स र युनाइटेड अटो वर्कर्सले मिलेर कुनै सम्झौतामा पुग्नुको विकल्प छैन।’

वालस्ट्रिट जर्नलका अनुसार जिएममा सन् २००७ मा पछिल्लो पटक हडताल भएको थियो। त्यसबखत देशभर रहेका ८९ भन्दा बढी कारखानाका करिब ७३ हजार मजदुरले दुई दिनसम्म काम बन्द गरेर हडतालमा उत्रिएका थिए। जीएमले एक वक्तव्य प्रकाशन गरी युएडब्लुले हडतालमा उत्रिने निर्णय गर्नु दुर्भाग्यपूर्ण रहेको जनाएको छ । जिएमले मजदूरका लागि निकै आकर्षक प्रस्ताव अघि सारेको स्पष्ट गरेको छ। जीएमले भनेको छ, ‘हामीले असल मनसायका साथ वार्तामा सहभागी भएका थियौं । हाम्रो एक मात्र लक्ष्य हाम्रा कर्मचारी र हाम्रो व्यवसायको राम्रो भविष्य सुनिश्चित गर्नु हो।’

फोर्ड र फिएट क्रिस्लरमा कार्यरत मजदुरले भने आफ्नो करार नवीकरण गर्न सहमति जनाइसकेका छन्, तर जीएमको व्यवस्थापनले शनिबार मजदूरको करार नवीकरण तत्काल नगर्ने जनाएको थियो। जीएमको बजार तुलनात्मक रुपमा निकै बलियो मानिन्छ। गत वर्ष कम्पनीले करिब ११ अर्ब ८० करोड अमेरिकी डलर सञ्चालन मुनाफा कमाएको थियो। तर अमेरिका र अरु मुलुकबीचको व्यापार तनावले जिएम पनि मन्दीको शिकार हुने अनुमान गरिएको छ। त्यही जोखिमका कारण कम्पनीले आफ्ना मजदूरको संख्यामा निरन्तर कटौती गरिरहेको छ।

जीएमले गत नोभेम्बरमा उत्तर अमेरिकाका पाँच वटा कार निर्माण कारखाना बन्द गर्ने घोषणा गरेको थियो जसमा अमेरिकाका मिसिगन र ओहायोका कारखाना पनि समावेश छन्। जीएमको व्यवस्थापनले अमेरिकी कार निर्माण कारखानाको स्तरोन्नतिका लागि ७ अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ। यसबाट करिब पाँच हजार ४०० को रोजगारी सुनिश्चित हुनेछ। साथै अमेरिकी प्लान्टबाटै पूर्ण विद्युतीय ट्रक निर्माण गर्ने योजना पनि समावेश गरिएको छ।रासस-एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad