अटो


चार कार्यकालको अनुभवीको नाताले म नाडाको अध्यक्षको दाबेदारः कृष्ण दुलाल

चार कार्यकालको अनुभवीको नाताले म नाडाको अध्यक्षको दाबेदारः कृष्ण दुलाल

नेपालखबर
भदौ १२, २०७६ बिहिबार १२:५७,

नाडा अटोमोबाइल्स एसोसिएन अफ नेपालले आयोजना गरेको अटो शोको १४औँ संस्करण हाल संघीय राजधानीको भृकटीमण्डपमा सञ्चालन भइरहेको छ। छ दिनसम्म चल्ने उक्त सवारीसाधन प्रदर्शनी मेलालाई अटो व्यवसायी र अटो प्रयोगकर्ताको जमघट हुने ठूलो प्रदर्शनीका रुपमा लिइन्छ। नाडाले आयोजना गर्ने यो प्रदर्शनी नेपालको सबैभन्दा ठूलो सवारीसाधन प्रदर्शनी हो। हरेक वर्ष एक अर्ब रुपैयाँको हाराहारीमा कारोबार तथा ७०/८० हजार अवलोकनकर्ताहरु यहाँ आउने गरेका छन्।

नाडामा यो वर्ष नयाँ पदाधिकारी चयन पनि हुँदै छ। त्यसकारणले नाडाका पदाधिकारीको चहलपहल पनि यो वर्ष अलि बाक्लै रुपमा अटो शोमा देखिएको छ। आगामी पुस ४ गते नाडाको वार्षिक साधारणसभामार्फत नयाँ पदाधिकारी चयन हुनलागेको हो। उक्त निर्वाचनको लागि केहीले उम्मेदवारी घोषणा गरिसकेका छन् भने केही अघि बढ्ने तयारीमा छन्। उनीहरुले कुन पदमा उठ्ने भनी घोषणा गर्न बाँकी नै छ। हालका उपाध्यक्ष तथा आगामी कार्यकालको लागि अध्यक्षको दाबेदार मानिएका कृष्ण प्रसाद दुलालसँग अटो क्षेत्र, नाडाको निर्वाचनलगायतमा केन्द्रित भई नेपालखबरले गरेको कुराकानीको सम्पादित अंशः

यस वर्षको नाडा अटो शोका विशेषताहरु के–के छन्?
हरेक वर्षजस्तै मेलामा सहभागी भएका हरेक कम्पनीले नयाँ नयाँ उत्पादनहरु ल्याएका छन्। त्यो नै सबैभन्दा नयाँ विशेषता हो। विशेषगरी यो आफ्नो ब्राण्डको ब्राण्डिङ गर्ने थलो हो। त्यसकारण पनि अवलोकनकर्ताहरुलाई केही नयाँ दिनुपर्छ भनेर सबै लागिरहेका छन्। आयोजकको तर्फबाट हेर्ने हो भने व्यवस्थापन पक्ष राम्रो बनाउन खोजिएको छ। गत वर्षदेखि ठूला गाडीहरु हामीले राखेका छैनौँ। तर प्रदर्शनी स्थलचाहिँ सानो भएर समस्या परेको छ।

सरकारसमक्ष सानो ठाँउका बारेमा कुरा राखेका छौँ। यदि सरकारले ठाउँको व्यवस्था गर्छ भने मेलाका लागि पूर्वाधार आफैँ निर्माण गर्छौँ भृकुटीमण्डप धेरै वर्ष पुरानो भयो र सानो ठाउँ छ। तर त्यसलाई पनि ठूलो बनाएर व्यवस्थित गरे त्यसको पछाडि भएका ठाउँलाई अलि बढाउने हो र सरकारले पनि लगानी गर्ने हो भने मण्डपमा पनि प्रशस्त ठाउँ छ। तर त्यहाँ घर तथा पसलहरु बनाएर व्यवस्थापन गरिसकेको भएर अलि अप्ठ्यारो भएको छ।

krishna prasad dulal 2

विगतदेखि नै नाडा हुँदै आइरहेको हो। यसपालि दर्शक केका लागि आउनुपर्ने हो?
यस शोमा हरेक वर्ष अवलोकनकर्ताहरुको संख्या वृद्धि हुँदै गएको छ। हामीले नेपालभरका यातायातका साधनहरु एकै ठाउँमा राख्छौँ। ती साधनहरुका मूल्यबारे जानकारी दिनुका साथै सबै मोडलहरु एउटै ठाउँमा हेर्न मिल्ने तथा छुटको व्यवस्था छ। गाडी खरिद गर्न चाहने ग्राहकले बैंकसँग परामर्श गरेर खरिद गर्नसक्छ। यसपटक लगानीको वातावरण पनि रहेको छ। खरिद नगरे पनि नयाँ गाडीका बारेमा ज्ञान हासिल गर्न सकिन्छ। शोमा गाडीको बिक्री मात्र होइन, त्यसबाट कसरी बच्ने र कस्ता घटना भएका छन् भन्नेबारे ट्राफिक प्रहरीसँग समन्वय गरेर सचेतनामूलक पम्प्लेट बाँड्ने र विगतमा भएका घटना तथा वर्तमानमा कसरी बच्ने भन्ने कुरामा वृत्तचित्र देखाउँछौँ।

व्यवसायीले त नाडालाई ब्रान्डिङ भन्दा पनि कारोबार नै गर्ने थलो मानिएको देखिन्छ नि ?
प्रदर्शनी भनेको एक किसिमले बिक्री पनि हो। अर्को किसिमले ब्राण्डिङ गर्ने थलो पनि हो। गाडीहरु नेपालमा बन्दैनन्। अन्त सार्वजनिक भएपछि नेपालमा आउने गर्छन्। त्यसपछि मात्रै नेपालमा आउने हो। त्यसकारणले गर्दा पनि नेपालमा सिधै बिक्री तथा बुकिङ हुन्छ। तर पनि नाडामा दर्शकहरु आएर नयाँ मोडलको बारेमा जानकारी दिने प्रयास धेरै भइरहेको मेरो अनुभव छ। अर्को कुरा नाडामा गाडी मात्रै नभए स्पेयर पार्टसहरु पनि रहेका छन्। लुब्रिकेन्टहरु पनि रहेका छन्। केही वस्तु नेपालमा बनेका पनि छन्। यहाँ नै आफ्नो बिक्री थलो बनाएका छ्रन्। उनीहरुले नाडालाई आफ्नो ब्राण्डिङ गर्ने रुपमा पनि लिएका छन्।

नेपालमा हुने अटो शोमा विदेशीहरुलाई जोड्न नसक्नुचाहिँ हाम्रो स्थल सानो भएर हो कि अन्य कारण?
बाहिरका अटो मोबाइललाई बोलाउन नसकिने होइन, सकिन्छ। हामीले निम्तो पनि पठाएका छौँ। भारतसँग हाम्रो पत्र आदानप्रदान पनि हुन्छ। हामीले भारत जाँदा उनीहरुले हामीलाई मेलामा भिजिट गराउँछन्। उनीहरु आउँदा हामी पनि गराउँछौँ। तर हाम्रो समस्या के छ भने उनीहरुलाई बोलाएर तपाईंले भनेजस्तै व्यवस्थापनको समस्या छ। शनिबार विदाका दिन भृकुटीमण्डपमा पार्किङको समस्या हुन्छ। मानिसहरुको भीडलाई व्यवस्थापन गर्न पनि त्यतिकै हम्मे–हम्मे पर्छ। सानो ठाउँ भएका कारणले नै अन्तर्राष्ट्रियस्तरलाई समेट्न नसकेको हो।

नाडाको वार्षिक साधारणसभाको मिति पनि तय भइसकेको छ, अटो शोपछि चुनावमा कसरी होमिँदै हुनुहुन्छ?
हामीले पुस ४ गतेको लागि वार्षिक साधारणसभाको मिति तय गरेका छौं। हालको कार्यसमितिको कार्यकाल सकिने भएकोले नयाँ कार्यसमिति यसमा नै चयन गर्नुपर्ने हुन्छ। त्यसको अब विस्तारै तयारी हुन्छ। अहिले त मुख्य फोकस अटो शोमा नै हो।

krishna prasad dulal 3

तपाईं पनि अघि बढ्ने तयारीमा हुनुहुन्छ?
पककै पनि म कार्यसमिति सदस्य, कोषाध्यक्ष, महासचिव हुँदै उपाध्यक्ष रहेको छु। मेरो यसमा लामो समय अर्थात् चार कार्यकाल बिताइसकेको छु। पक्कै पनि अब अध्यक्षको लागि उम्मेदवारी दिने तयारीमा रहेको छु। साथीहरुको सल्लाह/सुझाव तथा सहयोगमा उम्मेदवारी घोषणा गर्नेछु। नाडा भनेको अटो क्षेत्रको समस्या तथा त्यससँग सम्बन्धित व्यवसायीहरुको समस्या सरोकारवाला निकायसँग राख्ने र समाधानको प्रयास गर्ने संस्था हो। उक्त कुरा सम्बन्धित नियायमा पुर्याउनको लागि म योग्य छु कि भन्ने लागेको छ। त्यसकारणले म हालको लागि भन्नुपर्दा अध्यक्षको दाबेदार रहेको छु।

अध्यक्ष हुनुभयो भने त्यसपछि गर्ने कामको कस्तो योजना बनाउनुभएको छ?
मैले अघि भनेझैँ नयाँ गर्ने भनेको त्यही नै हो। यो क्षेत्रमा रहेको समस्यालाई समाधानको पहल गर्ने हो। त्यस्तै तय गर्ने नयाँ नीतिमा व्यवसायीलाई सहज हुने खालको नीति बनाउनुपर्छ भन्ने विषयमा लागिपर्नेछु।

नाडा देशव्यापी जान सकेन भन्ने छ नि, केही योजना छ कि!
हामीले प्रदेशअनुसार जाने तय गरिसक्यौँ प्रदेश १ मा त कार्यसमिति नै तय गरिसक्यौँ, अरुमा पनि त्यसरी नै जानेछौं। प्रदेश ३ मा चाहिँ केही समस्या छ। चितवन तथा मकवानपुरमा हाम्रो पहिले नै उपस्थिति थियो। त्यसलाई मर्ज गर्ने कि दुईवटैलाई मान्यता दिने भन्ने विषय उठिरहेको छ। त्यो पनि समाधान गरेर लानेछौं।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad