नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा यस वर्षको नाडा अटो शो भदौ १० देखि १५ गतेसम्म भृकुटीमण्डप प्रदर्शनीस्थलमा हुँदै छ। यो वर्षको नाडा अटो शोमा ६ दिन सम्म सञ्चालन हुने अटो शोमा ७५ हजार भन्दा बढी अवलोकनकर्ता आउने तथा एक अर्ब माथिको ब्यापार गर्ने एसोसिएसनका पदाधिकारीहरुले बताएका छन्।
नाडाको सदस्य समेत रहेका व्यवसायी करण चौधरी नेपालमा हुने अटो शो र विदेशमा हुने अटो शोमा अलि भिन्नता रहेको बताउँछन्। उनी भन्छन्, ‘अरु देशमा नितान्त रुपले ब्राण्डिङ गर्ने थलो हुन्छ। आफनो नयाँ उत्पादन देखाउने थलो हुन्छ। तर नेपालमा बिक्री गर्नकै लागि यसमा लालायित भइन्छ।’ विदेशमा यति बेच्यो उति बेच्यो भन्ने कुनै फिगर नहुने भए पनि नेपालमा भने त्यही फिगरलाई आफ्नो सफलतासँग जोडिने गरेकामा उनी केही असन्तुष्टि पोख्छन्। तर यसलाई नकरात्मक लिन भने नहुने उनको भनाइ छ। आफ्नो देशको व्यवसायको स्थिति सुहाउँदो नाडा अटो शो हुँदै आइरहेको चौधरीको भनाइ छ।
अटो शो चाडबाडको बीचमा भएकोले पनि यसमा व्यापार जोडिएको उनी बताउँछन्। उनी भन्छन्, ‘नाडा अटो शोलाई हामीले सफल बनाउनुपर्छ, त्यसपछि हाम्रो वार्षिक साधारण सभा तथा आगामी निर्वाचनको तयारी थाल्नेछौँ। म आफू अटो क्षेत्रमा लागेको धेरै समय भइसकेको छ। मेरो पनि नाडामा अघि बढ्ने योजना रहेको छ।’
Shares
प्रतिक्रिया