अर्बपति एलन मस्कको कम्पनी टेस्लाले कीर्तिमानी रुपमा कार डेलिभरी गर्दा नाफा पनि बढेको छ।
बीबीसीका अनुसार विश्वभर कम्प्युटर चिप्सको अभावले उत्पादनमा कठिनाइ पारे पनि टेस्लाको नाफा बढेको हो। मस्कले चिप्स अभावले आपूर्ति प्रणालीमा चुनौती थपे पनि समस्या हल गर्न सफल भएको बताएका छन्।
पहिलो तीन महिनामा कम्पनीले ४३ करोड ८० लाख अमेरिकी डलर नाफा आर्जन गरेको हो। जुन गत वर्षको सोही अवधिमा भएको एक करोड ६० लाख अमेरिकी डलरको तुलनामा निकै बढी हो।
बिटक्वाइनको बिक्री र वातावरणीय अनुकूलताका कारण कम्पनीलाई फाइद भएको बतााइएको छ। कम्पनीको आम्दानी उक्त अवधिमा १० अर्ब ४० करोड डलर पुगेको छ। गत वर्ष टेस्लाले सोही अवधिमा छ अर्ब डलर मात्रै आम्दानी गरेको थियो। मस्कले टेस्लाको मोडल ३ मध्यम आकारको सेडान कारलाई यो अवधिमा सर्वाधिक बिक्री र लोकप्रिय भएको कार भएको दाबी गरेका छन्।
आगामी वर्षमा कम्पनीकै मोडल वाई सर्वाधिक लोकप्रिय हुने पनि दाबी गरेका छन्। यस्तै कम्पनीका कारको माग समेत बढेको उनले बताएका छन्। ग्राहकहरुले पनि विद्युतीय कारमा रुचि बढाएको उनको भनाइ छ।
त्यसो त कम्पनीको नाफा केवल कार बिक्रीबाट मात्रै बढेको होइन। यसमा बिटक्वाइनको पनि योगदान रहेको छ। कम्पनीले डेढ अर्ब डलरको बिटक्वाइन खरिद गरेको थियो। यसको मूल्य बढेसँगै कम्पनीको आम्दानीमा १० करोड १० लाख डलर योगदान भएको छ। टेस्लाले केही समयअघि मात्रै बिटक्वाइनबाटै कार किन्न सकिने जनाएको थियो।
प्रतिक्रिया