ad ad

अटो


टाटाको अल्ट्रोजलाई रुचाए ग्राहकले, यात्रु बोक्ने सवारीसाधनको बजार अझै सुस्त

टाटाको अल्ट्रोजलाई रुचाए ग्राहकले, यात्रु बोक्ने सवारीसाधनको बजार अझै सुस्त

नेपालखबर
पुस १९, २०७७ आइतबार १०:५१,

कमर्सियल प्यासेन्जर भेहिकलको बजार सुधार हुन नसकेको अटो व्यवसायीले बताएका छन्।

कोभिडका कारण ठप्प भएको अटोबजार अन्य सवारीको व्यापार सुधारउन्मुख भए पनि कमर्सियल प्यासेन्जर भेहिकलको माग नभएको हो।

कमर्सियल प्यासेन्जर भेहिकलमा मिनी, माइक्रो र ठूला बस पर्छन्। टाटाका लागि नेपालको आधिकारिक वितरक सिप्रदी टेड्रिङ प्रालिका कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बसहरुको व्यापार हुन नसकेको जानकारी दिए।

नेपालमा २६ सिटभन्दा ठूला, २५ सिटसम्मका मिनीबस टाटाकै सर्वाधिक बिक्री हुने गरेका सवारीसाधन थिए। प्यासेन्जर कमर्सियल भेहिकलकै रुपमा रहेको टाटाको विंगर मध्यमदूरीको यातायात तथा एम्बुलेन्सको लागि समेत बिक्री हुँदै आएका थिए।

खास गरी सार्वजनिक यातायात र स्कुलबसको रुपमा प्रयोग हुने बसको बिक्री घटेको हो। लकडाउनका कारण ६ महिनासम्म सार्वजनिक यातायात चल्न सकेनन् भने विद्यालय अझै राम्रोसँग खुल्नसकेका छैनन्।

भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्म २६ सिटभन्दा माथिका ठूला बस ६१ वटा मात्रै आयात भएका छन्। गत वर्ष मंसिरसम्म ३ सय ३५ वटा आयात भएका थिए।

गत वर्ष मिनीबस १५ देखि २५ सिट क्षमता भएका १६१ वटा र माइक्रो १४ सिटसम्मका २११ वटा आयात भएका थिए। यो वर्ष ५ महिनामा मिनीबस ४८ वटा आयात मात्रै र डिजेल तथा पेट्रोलबाट चल्ने ११ देखि १४ सिट माइक्रो शून्य आयात रहेको विभागले उल्लेख गरेको छ।

टाटाको प्रिमियम हचब्याग अल्ट्रोजको माग राम्रो
गत असोजमा नेपालमा सार्वजनिक गरिएको टाटाको अल्ट्रोजमा धेरैको चासो रहेको सिप्रदीले जनाएको छ। सुरक्षामा अब्बल मानिएको अल्ट्रोज ग्लोबल एनक्यापमा ५ स्टार रेटिङ पाएको गाडी हो। अल्ट्रोजको डिजाइन विश्वकै सुरक्षित धातुबाट बनाइएको कम्पनीले दाबी गरेको छ।

‘अल्ट्रोजको रेस्पोन्स राम्रो रहेको छ । ह्याचब्याग गाडीको नेपालमा विक्री कम हुँदै गएपनि अल्ट्रोजमा धेरैको चासो छ’, सीईओ श्रेष्ठले नेपालखबरसँग भने, ‘अल्ट्रोजमा भएको फिर्चसले गर्दा राम्रो बिक्री भएको छ।’

पछिल्लो समय टाटाको टिगोर, टियागो, एच५, नेक्सनको समेत व्यापार बढ्दा प्यासेन्जर भेहिकलको व्यापार सामान्यतर्फ उन्मुख रहेको छ।

टाटाले विद्युतीय नेक्सन ल्याउने गृहकार्य
२०२० मै नेपालमा टाटाको इभी नेक्सन ल्याउने तयारी गरेको कम्पनी कोभिडसंगै सरकारले बढाएको करको कारण नल्याउने बताएको थियो।

बजेटमा बढाएको भन्सार तथा अन्तःशुल्कमा सरकारले केही घटाएपछि टाटाले पनि विद्युतीय गाडी ल्याउने गृहकार्य भइरहेको बताएको छ।

‘नेक्सनको विद्युतीय गाडी ल्याउने विषयमा पनि हामीले गृहकार्य गरिरहेका छौँ। भारतमा पनि विद्युतीय गाडीको राम्रो बिक्री भइरहेको छ’, श्रेष्ठले भने, ‘विद्युतीय गाडीको लागि आवश्यक पूर्वाधार समेत तयार पार्नुपर्ने हुँदा त्यसको तयारीमा छौँ। इभी इकोसिस्टम बनाएर मात्रै गाडी ल्याउँछौँ।’
त्यस्तै नाडा अटोशोका संयोजक समेत रहेका श्रेष्ठले अटोशो नहुने जानकारी दिएका छन्।

‘कोभिडको कारण दशैंअघि नाडाले अटोशो भौतिक रुपमा गर्न नसके पनि भर्चुअल शो गर्ने वा नगर्ने भन्ने विषयमा सर्भे गरेको थियो। धेरै कम्पनीले भर्चुअल अटो शोमा चासो नदेखाएकाले अटो शो हुने भएन,’ उनले भने, ‘अब सेप्टेम्बर महिनामा मात्रै नाडा अटो शो हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .