ad ad

अटो


नेपालमा प्रोटोन गाडी बिक्री नै अवैधानिक, उपभोक्ता पनि फस्नसक्ने

नेपालमा प्रोटोन गाडी बिक्री नै अवैधानिक, उपभोक्ता पनि फस्नसक्ने

नेपालखबर
पुस ३, २०७७ शुक्रबार ८:२,

नेपाली बजारमा पुनः प्रवेश गरेको मलेसियाली ब्रान्ड प्रोटोन गाडीको बिक्रीमा नै समस्या हुने देखिएको छ।

शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले आवश्यक कानुनी प्रक्रिया नै पूरा नगरी मलेसियाली कम्पनीका गाडी बिक्री गर्न लागेकाले उपभोक्त पनि फस्न सक्ने भन्दै उद्योग विभागका अधिकारीहरूले सचेत गराएका छन्।

११ वर्षअघि कन्स्ट्यान्ट ग्रुपले प्रोटोन ब्रान्डका गाडी नेपाल भित्र्याएको थियो, जुन पार्टपुर्जाको अभाव र अत्याधिक खर्च आउने कारण कारोबार नै असफल भएको थियो। नेपाली उपभोक्ताले नरुचाएपछि अन्ततः यो गाडी नेपालबाट बाहिरिएको थियो।

अहिले फेरि शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले मलेसियाली प्रोटोन ब्रान्डको यो गाडीको बिक्री गर्न लागेको छ। तर, कारोबारका लागि जगदम्बा मोटर्सले आवश्यक प्रक्रिया पूरा नगरेको र पार्टपुर्जा अभावको पहिलेको समस्या पनि यथावत नै रहेको हुँदा उपभोक्ता ठगिन सक्ने देखिएको हो।

जगदम्बाले ११ वर्षअघि, २०६६ सालमा कन्स्ट्यान्ट ग्रुपले उद्योग विभागमा गरेको एजेन्सी दर्तालाई नै आधार मानेर प्रोटोन ब्रान्डको गाडी बिक्री गर्न काठमाडौंको गैरीधारामा शोरुम नै खोलिसकेको छ। सरकारी अधिकारीहरू भने जगदम्बाको यो कार्य अवैधानिक हुने भएकाले उपभोक्ता ठगिन सक्ने बताउँछन्।

नेपालमा आधिकारिक रुपमा विदेशी ब्रान्डका सवारीसाधन खरिदबिक्रीका लागि सम्बन्धित कम्पनीहरुबीच भएको सम्झौतापत्र वाणिज्य विभागमा बुझाउनुपर्छ। तर जगदम्बा मोटर्सले प्रोटोन ब्रान्डको मलेसियाली कम्पनीसँग भएको सम्झौता हालसम्म बुझाएको छैन।

प्रोटोन गाडी नेपाल ल्याउन मलेसियाली कम्पनीसँग सम्झौता भइसकेको दाबी जगदम्बाले गरे पनि त्यसको आधार वाणिज्य विभागमा पेस गरेको छैन। सम्झौता नबुझाएसम्म विभागमा जगदम्बाको एजेन्सी दर्ता नै नहुने विभागले जनाएको छ।

मलेसियाली कम्पनीसँग भएको आधिकारिक खरिदबिक्री सम्झौता लिएर जगदम्बा मोटर्स एजेन्सी दर्ताको लागि नआएको वाणिज्य विभागका प्रवक्ता शिवराज सेढाईले बताए।

‘गाडी उत्पादन गर्ने कम्पनीसँग नेपाली बिक्रेताले अनिवार्य रुपमा नेपालको आधिकारिक बिक्रेता रहेको भन्ने व्यहोराको सम्झौता गर्नुपर्छ’, विभागका प्रवक्ता सेढाईले नेपालखबरसँग भने, ‘त्यही सम्झौताअनुसार वाणिज्य विभागमा एजेन्सी दर्ता हुनुपर्ने व्यवस्था छ। तर मलेसियाली कम्पनीसँग भएको सम्झौता लिएर जगदम्बा मोटर्स आएको छैन।’

जगदम्बा मोटर्सले ११ वर्षअघि कन्स्ट्यान्ट ग्रुपको एजेन्सी दर्तालाई नै आधिकारिक मान्न खोजे पनि त्यो अवैधानिक हुने सेढाईले बताए।

विभागले जगदम्बा मोटर्स कम्पनीले आफ्नो एजेन्सी दर्ता नगरी गाडी बिक्री सुरु गरे कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने बताएको छ। यो भनाइले के देखिन्छ भने जगदम्बाले मलेसियाली कम्पनीसँग सम्झौता गरेर त्यसका आधारमा उद्योग विभागमा एजेन्सी दर्ता गर्यो भने मात्रै नेपालमा प्रोटोन गाडीको कारोबार गर्न सक्नेछ।

यदि नयाँ एजेन्सी दर्ताविनै गाडीको बिक्री थालेमा जगदम्बा मोटर्सको कारोबारमाथि विभागले कारबाही थाल्नेछ भने यसमा उपभोक्ता पनि फस्नेछन्।

कुनै पनि विदेशी कम्पनीले नेपालमा गाडी बिक्री गर्दा कतिसम्म कमिसन दिने भनेर सम्झौतामा खुलाइएको हुन्छ। त्यही आधारमा नेपाली बिक्रेताले कमिसन रकम पाउने हो। तर नेपालमा प्रायः कम्पनीले त्यसरी कमिसन प्रतिशतको रकम खुलाउँदैनन्। त्यस विषयमा वाणिज्य विभाग र गाडी बिक्रेता कम्पनीहरुबीच बेलाबेलामा लफडा समेत हुने गरेको छ।

नेपालमा टीभीएस कम्पनीको मोटरसाइकल पनि बिक्री गर्दै आएको जगदम्बा मोटर्स कमिसन रकम पहिलेदेखि नै नखुलाउनेमा पर्छ। केही समयअघि मात्रै कमिसन खुलाउनु नपर्ने व्यवस्था लागू भए पनि त्यसअघि पनि जगदम्बाले यो व्यवस्थाको धज्जी उडाउँदै कमिसन लुकाउने गरेको थियो।

पहिलेदेखि नै कानुनी व्यवस्था मिच्दै आएको जगदम्बाले अहिले पुनः पुरानो एजेन्सी दर्तामै गाडी बिक्री गर्ने ‘दादागिरी शैली’ देखाएको हो।

त्यसो त ११ वर्षअघि २०६६ सालमा नै पार्टपुर्जाको अभाव र खर्च धेरै देखिने समस्याको कारण नेपालमा प्रोटोन गाडीको कारोबार असफल भैसकेको हो। जुन समस्या अहिले पनि समाधान भएको छैन।

२०६६ सालमा प्रोटोन गाडीका बिक्रेता राजेशकाजी श्रेष्ठ उपभोक्ताहरुलाई राम्रो सेवा दिन नसकेको कारण तत्कालीन समयमा प्रोटोन गाडीको कारोबार बन्द गरिएको बताउँछन्।

‘हामीले १०/११ वर्षअघि नै नेपालमा प्रोटोन गाडीको बिक्री सुरु गरेको हो। त्यो गाडीको कस्ट (खर्च) नै बढी देखियो। त्यसको पार्टपुर्जादेखि खर्च पनि अरु गाडीको तुलनामा बढी पर्न थाल्यो’, श्रेष्ठले नेपालखबरसँग भने, ‘समयमा नै पार्टपुर्जाहरू उपलब्ध गराउन सकिएन। सर्वसाधारणको रुचि पनि कम भयो। त्यसकारण हामीले त्यो कारोबार छोड्यौँ।’

कानुनी प्रक्रियाको झमेलासँगै पार्टपुर्जाको अभाव र मर्मतसम्भारमा धेरै खर्च तथा ढिलासुस्ती व्यहोर्नु पर्ने भएकाले प्रोटोन गाडी फेरि पनि नेपालमा सफल हुने सम्भावना छैन।

यो पनिः
एक दशकअघि नै उपभोक्ताले ‘बहिष्कार’ गरेको मलेसियाली ब्राण्ड ‘प्रोटोन’ फेरि कसरी नेपाल आयो?

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .