हिमालय अर्गनाइजेसनअन्तर्गतको हिमालय मोटोराड कम्पनीले एक पटक चार्ज गरेपछि १३० किमि गुड्ने विद्युतीय अटो ‘नीम–जी’ नेपाली बजारमा सार्वजनिक गरेको छ।
पछिल्लो समय नेपालमा तीव्र रुपमा साना तथा ठूला विद्युतीय सवारीसाधन भित्रिरहँदा कम्पनीले इलेक्ट्रिक अटो ल्याएको हो। कम्पनीले ल्याएको नीम–जी भारतको केरला राज्य सरकारको स्वामित्व रहेको केरला अटोमोबाइल लिमिटेडले उत्पादन गरेको हो।
यसको आइतबारबाटै नेपालभर बिक्री सुरु भएको कम्पनीले जनाएको छ। यसको सञ्चालन खर्च ७५ पैसा प्रतिकिमि मात्र रहेको कम्पनीको दाबी छ। त्यस्तै ब्याट्रीमा ३ वर्ष वा १५ सय लाइफसाइकलको वारेन्टी दिइएको छ भने ३ घण्टा ५५ मिनेटमै सजिलै आफ्नै घरको प्लगमा जोडेर फुलचार्ज गर्न सकिने हिमालय मोटोराडका अध्यक्ष ध्रुव थापाले बताए।

अटो सार्वजनिक कार्यक्रममा केरला अटोमोबाइल्सका प्रतिनिधि फिरोज खान पनि उपस्थिति थिए। उनले नै अटोबारे जानकारी गराएका थिए। आगामी दिनमा इलेक्ट्रिक अटोको ब्याट्रीमा ८ वर्ष वारेन्टी दिने उनले बताए।
हिमालय मोटोराडका निर्देशक सौरभ थापाले अटोमा ३० डिग्रीसम्मको उकालो सजिलै चढ्ने क्षमता भएको र यो नेपालको बाटो सुहाउँदो, उच्चतम गति ५० किमि प्रतिघण्टा रहेको बताए। यसमा आकर्षक बनावटका साथै डिजिटल डिस्प्ले मिटर समेत जडान गरिएको कम्पनीले जनाएको छ।





Shares

प्रतिक्रिया