दशैँमा गाडी किन्दै हुनुहुन्छ? लकडाउनका कारण ठप्प रहेको अटोबजार चलायमान बनाउन व्यवसायीले स्किम ल्याएका छन्। दशैँको समयमा किन्ने ग्राहकले अन्य समयभन्दा आकर्षक सुविधा पाउनेछन्।
अटो बजारमा ठूलो हिस्सा भएका सबै कम्पनीले स्किम सार्वजनिक गरेका छन्।
कोभिड १९का कारण ठप्प रहेको अटोबजार चलायमान हुन नसकेको अवस्थामा व्यवसायीले बजारमा आएका नयाँ कारले मानिसको चासो बढेको बताएका छन्। अर्थिक क्रियाकलाप ठप्प हुँदा अधिकांश मानिसले गाडी किन्न नचाहेको व्यवसायीले बताउँदै आएका छन्।
अटो व्यवसायीले ऋणमा ल्याएका गाडीलाई जति स्टकमा राख्यो उति ब्याज बढ्ने भन्दै लाखौँ नगद छुट समेतका अफर ल्याएका छन्। त्यसबाहेक व्यवसायीले डाउनपेमेन्ट सुविधा, बम्पर उपहार, स्क्रयाच कुप्पन, १ वर्षसम्मको सडक दस्तुरलगायतका स्किम सार्वजनिक गरेका छन्।
लामो लकडाउनपछि असोज १ देखि खुलेको चारपांग्रे अटोबजारमा आकर्षक स्किमले रौनक ल्याउने व्यवसायीको विश्वास छ।
कुन कम्पनीका के छन् अफर?

१ टाटा
टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ४ लाखसम्मको छुट अफर सार्वजनिक गरेको छ। नेपालको अटो बजारमा ठूलो हिस्सा भएको टाटाले एक्सचेन्ज गरिने कारहरुमा ५० हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस प्रदान गरिने उल्लेख गरेको छ।
केही दिनअघि नयाँ गाडी टाटा अल्ट्रोज नेपालमा ल्याएको सिप्रदीले प्रत्येक कारमा एक वर्षको सडक कर निःशुल्क उपलब्ध हुने जनाएको छ। त्यसैगरी प्रत्येक पुरानो कारको भ्यालुएसनमा सरप्राइज गिफ्ट प्रदान गरिनेछ। टाटाले प्रत्येक टेस्ट ड्राइभ गर्ने ग्राहकलाई आकर्षक गिफ्ट समेत प्रदान गरिने जनाएको छ।

२ हुन्डाई
यो वर्षको दशैँमा हुन्डाई आक्रामक हुन खोजेको छ। दशैँलाई लक्षित गर्दै ३ नयाँ गाडी ल्याएको हुन्डाईले दशैँतिहार वेलकम टु हुन्डाई परिवार नामक योजना ल्याएको छ। योजनाअन्तर्गत, ग्राहकहरुले आकर्षक नगद छुटका साथै स्क्रयाच कार्डमार्फत थप एक लाख रुपैयाँसम्मको नगद छुट पाउन सक्नेछन्।
त्यसैगरी बम्पर उपहारअन्तर्गत लक्की–ड्रमार्फत हुन्डाई औरा एउटा र हुन्डाई ग्रान्ड आई१० नियोस एउटा जित्न सक्नेछन्। त्यसका साथै ग्राहकहरुले १ वर्ष निःशुल्क बीमा पनि पाउनेछन्। हुन्डाईले सबै गाडीहरुमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङ, र १ वर्ष निःशुल्क सवारी कर भुक्तानीसहित स्वामित्व हस्तान्तरणका साथ उपलब्ध हुनेछन्।

३ किया
कोरियन अटो निर्माता कियाको अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले चाडपर्वको मौका पारेर ‘किया बिगेस्ट सरप्राइज अफ द इयर’ योजना सार्वजनिक गरेको छ।
योजनाअन्तर्गत कियाको दुई मोडलका गाडी खरिदमा चार लाख रुपैयाँसम्मको सर्वाधिक डिस्काउन्ट पाउनसक्ने कम्पनीले जनाएको छ। योजना अवधिमा कियाको अल न्यु सेल्टोस र स्पोर्टेज गाडी खरिद गर्ने ग्राहकले उक्त डिस्काउन्ट पाउनेछन्।
यो योजना अवधिमा गाडी खरिद गर्ने ग्राहकले एक वर्षको निःशुल्क बीमा सुविधा पाउनेछन्। योजना अवधिमा बिक्री हुने गाडीको एक वर्षको सडक कर पनि कम्पनीले नै व्यहोर्नेछ। कियाले नयाँ गाडी सोनेटको बुकिङ खुल्ला समेत गरिसकेको छ।

४ सुजुकी
सुजुकी नेपालले ३ लाख ५० हजार नगद छुटसहितको पर्वाेत्सव ग्राहक योजना सार्वजनिक गरेको छ। सुजुकीको योजनाअनुसार ग्राहकले तीन लाख ५० हजार रुपैयाँबराबरको नगद छुट, दुई लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, न्यूनतम २० प्रतिशत डाउनपेमेन्ट, १ वर्षको सवारी बीमा र गाडीका एसेसोरिजहरु निःशुल्क पाउने कम्पनीले जनाएको छ।
साथै कुनै पनि व्यक्तिले अरुलाई सुजुकी अल्टो, एस्प्रेसो तथा सुपर क्यारी खरिद गर्न सल्लाह दिई बिक्री कारोबार भएमा आकर्षक नगद पुरस्कार समेत पाउनेछन्।

५ निसान
निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटोकर्पले चाडपर्वको अवसरमा ‘निसान धमाकेदार दशैं, तिहार तथा छठ अफर’ उपहार योजना ल्याएको छ। अफरअन्तर्गत ग्राहकहरूले शून्य प्रतिशत डाउन पेमेन्टमा गाडी खरिद गर्न सक्नेछन्।
साथै नौ महिनासम्मको ईएमआई पनि कम्पनीले नै तिरिदिनेछ। उक्त अफर नलिएको खण्डमा बढीमा २० लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ। यसका साथै ग्राहकले ३५ हजार ९ सय ९९ रुपैयाँबराबरको रेडमी नोट ९ प्रो म्याक्स मोबाइल फोन प्राप्त गर्नेछन्।
यो योजनाअन्तर्गत ग्राहकहरूले हरेक निसान गाडीको खरिदमा ५० हजारसम्मको निःशुल्क एसेसोरिज, एक वर्षको निःशुल्क बीमा, १० वर्षसम्मको फाइनान्सिङ्ग, बोस्च हाइ प्रेसर वासर, तीन वर्षको वारेन्टी, तीन वर्षसम्म फ्रि सर्भिसिङ, लोयल्टी बोनस, चालु आवको सडक कर र स्पट एक्सचेन्जको सुविधा पनि लिन सक्नेछन्।

६ फोर्ड
नेपालका लागि फोर्ड गाडीहरुको अधिकृत बिक्रेता जीओ अटोमोबाइल्स प्रालिले दशैँ–तिहारलाई लक्षित गर्दै फोर्ड फेस्टिभ अफर ल्याएको छ। कम्पनीका अनुसार यो वर्ष फोर्ड फेस्टिभ अफरअन्तर्गत ग्राहकहरुले तीनवटा अफरमध्ये एउटा छनौट गर्न सक्नेछन्।
कम्पनीका अनुसार ग्राहकहरुले स्क्र्याच कार्ड योजनामा भाग लिएमा बक्सबाट तीनवटा स्क्रयाच कार्ड छनौट गरी चार लाख ५० हजार रुपैयाँसम्म जित्ने मौका पाउनेछन्। प्रत्येक स्क्र्याच कार्डमा ग्यारेन्टी मूल्य २५ हजार रुपैयाँ रहेको र बढीमा यो एक लाख ५० हजार रुपैयाँसम्म हुने कम्पनीको भनाइ छ।
यो अफरअन्तर्गत ग्राहकहरुले विस्तृत बीमा र आधारभूत एसेसोरिज प्राप्त गर्दछन्। त्यस्तै ग्राहकहरुले छ महिने ईएमआई होलिडे योजना छनौट गरेमा ग्राहकलाई पहिलो छ महिना बैंकलाई किस्ता भुक्तानी गर्नुपर्दैन। त्यसैगरी ग्राहकले स्थगित भुक्तानी योजना छनौट गरेमा यस योजनाअन्तर्गत ग्राहकले ३० प्रतिशत रकम डाउनपेमेन्टका साथ बैंकबाट जारी ५० प्रतिशतको डेलिभरी अर्डर दिई गाडी डेलिभरी लिन सक्ने जनाइएको छ।
बाँकी २० प्रतिशतको लागि ग्राहकलाई चार महिनाको थप अवधि प्रदान गरिनेछ। यी ४ महिनामा ग्राहकले २० प्रतिशतलाई बराबर भाग लगाई किस्तामा तिर्नुपर्नेछ। साथै यस अफरमा नगद छुट, आर्थिक वर्षको लागि सडक कर र एक वर्ष निःशुल्क बीमाजस्ता नियमित लाभहरु पनि लिन सक्छन्।
७ स्याङयोङ
नेपालको लागि स्याङयोङ मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले ‘स्याङयोङ्ग सुपर डिस्काउन्ट’ ल्याएको छ। जहाँ ग्राहकहरूले यस अफर अन्तर्गत ‘कोरियन लक्जरी एसयूभी, एक्सएलभी’ मा ३ लाख छुट प्राप्त गर्न सक्नेछन्।
साथै, ग्राहकहरुले आफ्ना पुराना सवारी टिभोली अथवा एक्सएलभी सँग एक्सचेन्ज गरेको बापत २ लाख एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सक्नेछन्। त्यसैगरी कम्पनीले कोभिड वारियर्सहरु (डाक्टरहरू, नर्सहरू, स्वास्थ्य सेवाकर्मीहरू र प्रहरीहरु)लाई थप १ लाख डिस्काउन्ट दिइने जनाएको छ।
साथै आइएमएस मोटर्स, स्याङयोङ्गले ग्राहकहरुलाई यसप्रकार अफर प्रदान गरेको छ। एक वर्ष निःशुल्क बीमा, २५ हजारबराबरको निःशुल्क एक्सेसरिज, सात वर्ष सजिलो फाइनान्स, तीन वर्ष वारेन्टी, निःशुल्क सर्भिसिङ्ग ४ पटक वा रिफरल ग्राहकहरूको लागि १ वर्षसम्म रहेको छ।
८ डीएफएसके
डीएफएसकेको आधिकारिक बिक्रेता कुजु नेपालले दशैँ–तिहारको उपलक्ष्यमा एसयुभी कार खरिदमा विशेष छुटको योजना ल्याएको छ। प्रिमियम एसयुभी खरिदमा ४ लाख रुपैयाँसम्म नगद छुट दिने योजना ल्याइएको कम्पनीले जनाएको छ।
कम्पनीले तत्काल डाउन पेमेन्ट नहुने ग्राहकको समस्या विचार गरेर १० लाख रुपैयाँ बुझाएर पनि गाडी लान सक्ने अवसर प्रदान गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले ५० प्रतिशत डाउन पेमेन्ट तिरेर डिएफएसकेका एसयुभी किन्न चाहने ग्राहकलाई ६ महिनाको मासिक किस्ता कम्पनीले नै तिरिदिने व्यवस्थासमेत गरेको छ।
साथै गाडी किन्ने ग्राहकले लक्की ड्रमार्फत ५ लाखको बम्पर पुरस्कार पनि जित्न सक्ने कम्पनीले जनाएको छ।पुराना गाडी लिएर एक्सचेन्जका लागि आउने ग्राहकलाई कम्पनीले १ लाख रुपैयाँसम्मको बोनस दिने तथा २०७७÷७८ को सडक दस्तुर पनि तिरिदिने व्यवस्था गरिएको छ।
९ होन्डा
होन्डा कारको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले फेस्टिभ बोनान्जा सार्वजनिक गरेको छ। योजनाअनुसार ४.२५ प्रतिशतसम्म सस्तो ब्याजदरमा होन्डका कार किन्न सकिने छ । होन्डाका कारहरु ३० प्रतिशतसम्मको डाउन पेमेन्टमा किन्न सकिनेछ। विभिन्न कारहरुमा फरक फरक छुट अफर प्रदान गरिएको र यसरी गरिने छुट अन्तर्गत एउटै कारमा १० लाख रुपैयाँ सम्म छुट पाइने कम्पनीले बताएको छ।

१० एमजी
एमजीले चाडवर्प लक्षित आफ्ना उत्पादनमा ७ लाखसम्मको छुट अफर गरेको छ। एमजीले नगद छुट, एक वर्षको बीमा, थप एसेसोरिज, एक वर्षको सडक दस्तुर र लोयलटी वोनस दिने घोषणा गरेको छ। एमजीले आफ्नो जिएस मोडलमा ३ लाख नगद छुट र ५० हजारसम्मको लोयलटी वोनस दिने जनाएको छ । एमजीकै जेडएसमा भने ग्राहकले २ लाख ५० हजार नगद छुट पाउनेछन्। एमजीको सेडान कार एमजी ६ मा भने कम्पनीले थप छुटको घोषणा गरेको छ।

प्रतिक्रिया