सुन्दर यातायात प्रालिले विद्युतीय गाडी उपत्यकाको चक्रपथमा सञ्चालनको तयारी गरेको छ। सुरुमा चक्रपथ (रिंगरोड)को रुटमा सञ्चालन हुने र यातायात व्यवस्था विभागको अनुमति पाएपछि रिङरोडको भित्री सडकमा समेत उक्त विद्युतीय गाडी सञ्चालनमा गराउने उक्त कम्पनीले तयारी गरेको हो।
यसका लागि चाइनिज ‘बीएके’ ब्राण्डका सातवटा बस सञ्चालनको तयारीमा रहेको सुन्दर यातायातले जानकारी दिएको छ। आगामी एक महिनाभित्रै बस सेवा सञ्चालनमा आउने कम्पनीका अध्यक्ष भेषबहादुर थापाले नेपालखबरलाई जानकारी दिए। उक्त बसहरुको प्रतिगोटा मूल्य १ करोड ६० लाख रुपैयाँमाथि रहेको उनले बताए। सुन्दर यातायतले दुईवटा बस यसअघि नै नेपालमा ल्याइसकेको छ। थप पाँचवटा नेपालको लागि भनेर चीनबाट नेपाल प्रस्थान गरिसकेको पनि उनले बताए।
त्यस्तै नेपालमा विद्युतीय गाडीहरु थप गर्दै जाने कम्पनीको योजना रहेको थापाले बताए। ‘अहिले सातवटा गाडी रिङ रोडमा चलाउने तयारी भइरहेको छ’, उनले नेपालखबरसँग भने, ‘आगामी दिनमा २५ वटा गाडी थप गर्ने र रिङरोडभित्रको रुटमा समेत सञ्चालन गर्ने सोचमा रहेका छौँ।’ बीएके ब्राण्डको उक्त गाडी साढे १० मिटरको छ। ४० सिट र ३० जान उभिएर यात्रा गर्न सक्ने कम्पनीको भनाइ छ। यी बसका पछाडि भाग यात्रुहरुको लागि बढी आरामदायी रहेको छ। बढी उचाइमा पछाडिका सिटहरु राखिएकोले पछाडिबाट पनि अगाडिको जस्तै सबै बाहिरको दृश्यहरु अवलोकन गर्न सकिने अध्यक्ष थापाले बताए। गाडीमा सातवटा सीसी क्यामेरा समेत जडान भएको छ।

अन्यभन्दा सस्तो दरमा यात्रा
सुन्दर यातायातले सञ्चालनमा ल्याउने विद्युतीय गाडीमा डिजिटल भुक्तानीको व्यवस्था हुनेछ। प्रभु पेबाट भाडा भुक्तानी गराउने गरी तयारी भइरहेको अध्यक्ष थापाले जानकारी दिए। त्यस्तै ‘काठमाडौं सुन्दर कार्य’को पनि तयारी भइरहेको थापाको भनाइ छ। उक्त कार्यमा २ सय ६५ रुपैयाँ ‘ब्यालेन्स’ रहने तर यो कार्ड २ सय १५ रुपैयाँमा नै उपलब्ध गराउने गरी निर्माण भइरहेको पनि थापाले जानकारी दिए।
सुरुमा सुन्दर यातायातले साझा बसले सञ्चालनमा ल्याएको यात्रा कार्डसँग पनि सहकार्य गर्न खोजेको थियो। तर भाडाबापत पे भएको पैसा साझाको नै बैंक खातामा भुक्तानी गराउनुपर्ने र पछि मात्रै फिर्ता गराउने शर्त साझाले राखेपछि आफ्नै कार्ड बनाउन लागिएको थापाले बताए। अन्य गाडीले २० रुपैयाँ भाडा उठाउने गरेको दूरीमा सुन्दर यातायातले भने १५ रुपैयाँ मात्रै लिने गरी भाडा निर्धारण गर्नलागेको छ।
समस्या चार्जिङ स्टेसन
विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याउन सबै कम्पनीले चासो दिए पनि समस्या चार्जिङ स्टेसनको रहेको छ। सुन्दर यातायतले दुई घण्टामा फूल चार्ज गर्न सक्ने चार्जिङ मेसिन जडान गरी भक्तपुरमा रहेको आफ्नै ग्यारेजमा चार्जिङ स्टेसन तयार गरेको छ। भक्तपुरमा जग्गा भागामा लिई ७ वटा गाडी एकसाथ चार्ज गर्नसक्ने गरी कम्पनीले स्टेसन तयार गरेको हो। तर आगामी दिनमा बसहरु थाप गर्दै जाँदा भने उक्त चार्जिङ स्टेसनको क्षमताले भ्याउँदैन।
त्यसको लागि सुन्दर यातायातले सुकेधारमा चार्जिङ स्टेसन निर्माण गर्ने योजना बनाएको थियो। तर विद्युत् प्राधिकरणले नै उक्त चार्जिङ स्टेसन निर्माण रोकेको थियो। एकै किसिमको मापदण्डमा चार्जिङ स्टेसन निर्माणको लागि सरकारले अध्ययन गरिरहेको बताएपछि कम्पनीले उक्त काम रोकेको हो। सरकारले छिटो आफ्नो नीति निर्माण गर्न नसक्दा समस्या परेको अध्यक्ष थापाको दुःखेसो छ।

प्रतिक्रिया