ad ad

अटो


फस्टाउँदो छ डबल क्याबिन पिकअपको बजार, नेपालमा कुन कम्पनीका बढी बिक्छन्?

फस्टाउँदो छ डबल क्याबिन पिकअपको बजार, नेपालमा कुन कम्पनीका बढी बिक्छन्?

नेपालखबर
भदौ २४, २०७७ बुधबार १०:७,

नेपालमा डबल क्याबिन पिकअप गाडीको बजार बढ्दो छ। विशेषगरी अफरोडमा आउजाउका लागि यी गाडी प्रयोग हुने गरेका छन्।

नेपालको भौगलिक अवस्थाको कारण डबल क्याबिन पिकअपको माग बढेको व्यवसायीहरु पनि बताउँछन्। पहाडी तथा हिमाली क्षेत्रमा अधिकांश सडक कच्ची तथा ग्राभेल मात्रै भएकाले यी ‘पावलफुल’ गाडीको प्रयोग भइरहेको छ।

नेपालमा डबल क्याबिन पिकअप मुख्य त प्रिमियम र नर्मल दुई प्रकारका उपलब्ध छन्। भारत बाहिरबाट आउने प्रिमियम पिकअप ८० लाखभन्दा माथिका छन् भने नर्मल पिकअप २५ देखि ३० लाखसम्मका आउँछन्।

प्रिमियम पिकअपमा टोयोटाको हाइलक्स, फोर्डको रेन्जर, निशानको नभरा प्रिमियम मूल्यमा नेपालमा बिक्री भइरहेका छन्। यी गाडी थाइल्यान्डबाट नेपाल आउने गरेको व्यवसायीहरु बताउँछन्।

bolero pickup

प्रिमियम पिकअपमा इसुजुका डबल पिकअप गाडी सस्ता छन्। २५ सय सीसीको इसुजु डी म्याक्स भी क्रस करिब ६५ लाख मूल्यमै पाइन्छ भने एस क्याबको मूल्य ४० लाखआसपास छ।

भारतबाट आउने इसुजुको पिकअप सस्तो भएको व्यवसायीको भनाइ छ। टाटाको प्रिमियम डबल पिकअप जेनो पनि नेपालका सडकमा प्रशस्तै गुड्छन्।

भारतमा उत्पादन भई नेपाल आउनेमा टाटाको योद्धा र महिन्द्राको बोलेरो डबल पिकअप गाडी २५ देखि ३० लाखसम्म किन्न सकिन्छ।

निसान र ड्याटसनका गाडी आधिकारिक वितरक पायोनर मोटोकर्पका एसिस्टेन्ट जनरल म्यानेजर ज्ञानेन्द्र चन्दले डबल पिकअपमा भारतमा उत्पादित गाडीको बढी बिक्री भएको बताए।

उनले थाइल्यान्डबाट आउने निसानको नभरा गाडीको माग सरकारी निकायमा राम्रो रहेको बताए।

‘निसानको डबल क्याबिन पिकअप नभराको माग निजी क्षेत्रभन्दा सरकारी क्षेत्रमा माग बढी छ’, चन्दले भने, ‘सरकारी निकायमा विद्युत् प्राधिकरण, नेपाल टेलिकम, सडक विभाग त्यसका डिभिजन कार्यलयहरुले यो गाडी प्रयोग गर्ने गरेका छन्।’

उनका अनुसार निजी क्षेत्रका हाइड्रो, सडक तथा पुल निर्माण कम्पनी वा व्यवसायीले यस्ता गाडीको बढी प्रयोग गर्ने गरेका छन्। पहाडी इलाकामा प्रोजेक्टमा काम गर्ने आइएनजीओहरु पनि यी गाडी प्रयोगकर्ता हुन्।

नभरा म्यानुअलको ९० लाख ६० हजार रुपैयाँ पर्छ भने अटोमेटिकको एक करोड छ लाख रुपैयाँ पर्ने उनले बताए।

प्रिमियम डबल पिकअपमा टोयोटाको हाइलक्स बढी बिक्री हुने कम्पनीले दाबी गरेको छ। नेपालमा युनाइटेड टेड्रसले टोयोटाका गाडी बिक्री वितरण गर्दै आएको छ।

hilux pickup

टोयोटाको नेपालमा सबैभन्दा बढी बिक्री हुने गाडी भनेकै हाइलक्स हो। सहर, पहाड जहाँ कुदाउन पनि समस्या नहुँदा यसको माग बढी रहेको युनाइटेड टे«डसको दाबी छ।

टोयोटाको हाइलक्स गाडी टेन्डरभन्दा निजी क्षेत्रमा बढी बिक्री रहेको कम्पनीले जानकारी दिएको छ।

काठमाडौंबाहिर हिँड्ने मानिस बढी यसको प्रयोग गर्छन्। कन्स्ट्रक्सन र हाइड्रो पावर कम्पनीहरुले हाइलक्सको गाडी बढी खरिद गर्ने गरेका छन्। हाई पावरको गाडी भएकाले अफ रोडमा हिँड्नको लागि प्रयोग बढी हुने गरेको कम्पनीको भनाइ छ।

गाउँ–गाउँमा विकास निर्माणका काम भइरहेकाले सरकारी अधिकारी अनुगमनमा जानको लागि र निर्माण व्यवसायी अफरोड बाटोमा बढी जानुपर्दा यस्ता गाडीको बजार फस्टाएको हो।

navara pickup

यात्रुसँगै सामग्री ढुवानीमा डबल क्याबिन पिकअपको प्रयोग
टाटा र महिन्द्राका गाडी हिमाली र पहाडी जिल्लामा भाडामा यात्रु बोक्न प्रयोग हुँदै आएका छन्। साँघुरो र कच्चीबाटोमा समेत यी गाडी गुडिरहेका छन्।

टाटाको लागि आधिकारिक वितरक सिप्रदी टे«डिङले सुरुमा सिंगल क्याब पिकअपलाई प्राथमिकता दिएको थियो। पछि नेपालको भौगोलिक अवस्थाका कारण डबल पिकअपका गाडीको मागअनुसार टाटाको योद्धा डबल पिकअपसहितको गाडी नेपालमा राम्रो बिक्री गरिरहेको छ।

योद्धा डबल पिकअप गाडी यात्रुसँगै सामग्री ढुवानीको लागि पहाडी क्षेत्रमा बढी बिक्री भइरहेको छ।

yoddha pickup

‘बस जान नसक्ने ठाउँको लागि डबल पिकअप गाडीको प्रयोग अत्यधिक छ। यात्रुको लागि अर्को विकल्प नहुँदा यसको माग पनि राम्रै छ’, कम्पनीका मार्केटिङ हेड रुपम श्रेष्ठले भने, ‘नेपालको अधिकांश सडक ग्राभेल, खोलामा पुल नहुनेजस्ता कारण यस्तो गाडीको माग बढी छ।’

नेपालको पहाडी र हिमाली जिल्ला जहाँ सजिलै बस जान सक्दैनन्, त्यस्ता ठाउँमा टाटाका डबल पिकअप गाडी गुडिरहेको उनले बताए।

सहरी क्षेत्रमा नेपाल प्रहरीले समेत टाटा र महिन्द्राका डबल पिकअप गाडी बढी प्रयोग गरिरहेका हुन्छन्। महिन्द्राको बोलेरो दुर्गम क्षेत्रमा र स्कोर्पियो सहरी इलाकामा बढी गुडेको पाइन्छ।

टाटा र महिन्द्राकै सिंगल क्याबिन पिकअप गाडी सामग्री ढुवानीको लागि प्रयोग हुँदै आएको छ। सहरी क्षेत्रमा यस्ता गाडीको प्रयोग बढी नै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .