अटो


करवृद्धिको असर : साउनमा विद्युतीय गाडीको आयात शून्य

करवृद्धिको असर : साउनमा विद्युतीय गाडीको आयात शून्य

नेपालखबर
भदौ १०, २०७७ बुधबार ९:५४,

चालू आर्थिक वर्षको पहिलो महिना साउनमा विद्युतीय गाडीको आयात शून्य भएको छ। गत जेठमा सरकारले कर बढाएसँगै विद्युतीय सवारीको आयात शून्यमा झरेको हो।

सरकारको यसअघिका नीतिको विरुद्ध अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय गाडीमा कर बढाएका थिए। विद्युतीय अटो व्यवसायीले सरकारले कर नघटाएसम्म विद्युतीय गाडी नेपाल बेच्न नसकिने भन्दै ल्याउन मानेका छैनन्।

बजेटअघि नै एलसी खोलेका व्यवसायीका गाडी भन्सारमा आएर रोकिएका छन्। किया मोटर्स, एमजी, बीवाईडी, हुन्डाई, महिन्द्राका डेढ सय बढी विद्युतीय गाडी भन्सार पारि नै रोकिएका छन्।

भन्सारमा आएका गाडी नेपाल भित्र्याउनु भनेको सरकारलाई कर तिर्नु मात्रै भएको व्यवसायीले बताउँदै आएका छन्।

अर्थमन्त्री खतिवडाले बजेटमार्फत विद्युतीय गाडीमा ४० प्रतिशत भन्सार र ३० देखि ८० प्रतिशतसम्म अन्तःशुल्क लगाउने आर्थिक ऐन ल्याएका छन्। गत वर्ष भन्सार १० प्रतिशत मात्रै रहेकोमा यो वर्ष भन्सारसँगै अन्तःशुल्क समेत बढाएको हो।

खतिवडाले विलासिताका महंगा विद्युतीय गाडी नेपाल भित्र्याउँदा अर्बौँ रुपैयाँ बाहिरिएको तर्क गर्दै आएका छन्।

‘विद्युतीय सार्वजनिक यातायातमा कर बढाएको छैन’, उनले भन्ने गरेका छन्, ‘सोखका लागि विलासी गाडी चढ्नेका लागि कर बढाइएको हो।’

यद्यपि उनले उल्टो नीति लिएको भन्दै विरोध भएपछि यसमा पुनर्विचार गर्नसक्ने बताउँदै आएका छन्। तर अहिलेसम्म कुनै निर्णय गरिसकेका छैनन्।

यता ऊर्जामन्त्री वर्षमान पुनले विद्युतको खपत गराउन विद्युतीय गाडीको आवश्यकता रहेको भन्दै बढाइएको करको विषयमा अर्थ मन्त्रालयसँग छलफल भइरहेको बताएका छन्।

विद्युतीय गाडीको शून्य आयात भए पनि विद्युतीय दुईपांग्रेको आयात भने भइरहेको छ।

कुन साउनमा कति विद्युतीय सवारी आयात?
आर्थिक वर्ष २०७६/०७७ को साउन महिनामा २ सय ९० वटा विद्युतीय गाडी आयात भएका थिए भने दुईपांग्रे ४३ वटा आयात भएका थिए।

त्यसअघि आर्थिक वर्ष २०७५/०७६ को साउनमा २९४ वटा विद्युतीय गाडी आयात भएका थिए भने दुईपांग्रे १ सय ७० वटा आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ।

२०७४ साउनमा ३२५ वटा विद्युतीय गाडी आयात भएकोमा १७९ दुईपांग्रे आयात भएका थिए। यो वर्ष विद्युतीय गाडीको आयात शून्य रहे पनि दुईपांग्रेतर्फ भने ४० वटा आयात भएका छन्।

चालू आवमा कोभिड १९को कारण सवारी तथा त्यसका पार्टको आयात ३ अर्बले घटेको भन्सार विभागको तथ्यांकले देखाएको छ।

गत वर्षको साउन महिनामा ७ अर्ब २८ करोडको आयात भएकोमा यो वर्ष ४ अर्ब २८ करोडको मात्रै आयात भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad