दक्षिण कोरियाको सियोलस्थित एउटा क्याफेमा आएकी एक संक्रमित महिलाबाट त्यहाँ रहेका दुई दर्जनभन्दा बढि ग्राहकलाई कोरोना संक्रमण भएको पाइयो।
तर चर्चित बहुर्राष्ट्रिय स्टारबक्सको सो क्याफेमा त्यतिबेला त्यहीँ नै रहेका चारजना कर्मचारी भने संक्रमणबाट बचे। किनभने उनीहरुले मास्क लगाइरहेका थिए।
अगस्त ८ मा दक्षिण कोरियाको पाजु शहरमा भएको यो घट्नाले कोरोना संक्रमणबारे अर्को पाटो पनि प्रष्ट्याउँछ। बन्द गरिएका इन्डोर ठाउँमा कोभिड–१९ भाइरस कति छिटो फैलिन्छ भन्ने र यसको संक्रमणलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने दृष्टान्त यो घट्नाले दिन्छ।
एयर कन्डिसनयुक्त सो क्याफेमा २७ जना जम्मा रहेको यो घट्नाले कोभिड संक्रमण न्युनीकरण गर्न मास्कलाई अनिवार्य गर्नुपर्ने तर्कलाई थप आधार दिएको छ। संसारभरका स्वास्थ्य अधिकारीहरु फेस मास्कको प्रभावकारिताको आधारबारे बहस गरिरहेका बेला यो तथ्य बाहिर आएको हो।
‘मास्कले कति महत्वपूर्ण भूमिका खेल्नसक्छ भन्नेबारे यो घट्नाले प्रष्ट्याउँछ,’ दक्षिण कोरियाको च्याङवन फतिमा हस्पिटलका बाल संक्रमण रोगसम्बन्धी डाक्टर मा स्याङ ह्युक भन्छन्, ‘मास्कले पनि १०० प्रतिशत सुरक्षा त दिन नसक्ला तर त्यत्तिको प्रभावकारी उपाय अर्को छैन।’
संसारभर दुई करोड ३० लाख मानिसलाई संक्रमण गरिसकेको र आठ लाख १० हजार मानिसको ज्यान लिइसकेको यो कोरोना भाइरसको महामारी रोक्न कसरी मास्क लगाउने भन्नेबारेका जानकारी र निर्देशिकाहरु जारी भइरहेका छन्।
संक्रमण नियन्त्रणमा रहेको न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले सार्वजनिक यातायात र राइडसेयरिङ सवारीमा चढ्दा मास्क लगाउनै पर्ने नियम लगाएकी छन्।
गतसाता विश्व स्वास्थ्य संगठनले बालबालिकामा पनि कसरी मास्क प्रयोग गर्ने भनी सुझाव सार्वजनिक गरेको थियो।
अमेरिकामा देखिएको मास्कप्रतिको अनिच्छाले त्यहाँको अर्थतन्त्रलाई नै प्रभाव पारेको बताइन्छ।
अमेरिकालगायत केहि मुलुकमा अझै पनि मास्क लगाउने अनिवार्य नियमप्रति विरोध हुने गरेको छ। कुनै कुनै ठाउँमा रेष्टुरेण्ट वा अन्य स्थानमा मास्क लगाउनै पर्ने नियम लागु गर्दा त्यसको प्रतिवाद हुनेगरेको छ।
मास्कको प्रभावकारिताबारे गलत सूचना पनि फैलिइरहेका छन्।
स्टारबक्स र त्यस्तै अन्य क्याफेहरुमा ग्राहकहरुले खाँदा वा पिउँदा मास्क लगाउँदैनन र त्यसले गर्दा भाइरस फैलिने मौका पाएको पाजुका सरकारी प्रवक्ता ग्याङ योङ–दोको भनाइ छ।
दोस्रो तलामा रहेको त्यो क्याफेमा पनि सिलिङमा जडित एसी चलाइएको थियो।
‘खाने पिउने बेलामा मास्क खोल्दा भाइरस फैलिने गरेको तथ्यलाई नै पाजुको स्टारबक्सको घट्नाले पनि पुष्टि गरेको छ,’ कोरिया सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका प्रमुख जङ युन–क्योङले पत्रकारहरुसँग भने।
महामारी नियन्त्रणका लागि तालिम सामग्री विकास गर्ने नेदरल्याण्डस्थित ट्रान्समिसेबल बीभीका डाइरेक्टर अर्नोल्ड बसम्यानले पनि स्टारबक्सको सो घट्ना जोखिम पक्ष अध्ययन गर्नका लागि निकै महत्वपूर्ण हुने बताए।
‘भविष्यमा पनि महामारीमा काम गर्नेहरुका लागि स्टारबक्सको यो घट्ना त निकै महत्वपूर्ण तालिम अभ्यासको आधार हुनसक्छ,’ उनले भनेका छन्।
कोरियामा यो घट्नालगत्तै यस्तै तीन दर्जन घट्ना भएको पाइयो र त्यहाँ तीन हजार संक्रमित थपिए। यी घट्नाक्रमका कारण दक्षिण कोरिया सरकारले अत्यधिक भौतिक दूरीको नियम लागु गर्नेबारे विचार गरेको छ। त्यसले गर्दा आर्थिक गतिबिधि भने मारमा पर्ने बताइएको छ।
सियोल महानगर क्षेत्र अहिले कोरोना हटस्पट बनेको र स्थानीय अधिकारीहरुले सबै वासिन्दालाई भित्र वा बाहिर जहाँ रहँदा पनि मास्क लगाउनै पर्ने बनाएको छ। –ब्लुमबर्गबाट
Shares

प्रतिक्रिया