विक्रम पौडेल यमाहाको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजका मार्केटिङ हेड हुन्। विश्व महामारी कोरोनाकै कारण नेपालमा पनि साढे ३ महिना लकडाउनमै बित्यो। यसले अधिकांश कम्पनीको व्यवसायमा नराम्ररी असर गरेको छ। यही सन्दर्भमा कम्पनीको नेपालमा व्यवसायलाई कस्तो असर गरेको, अबको अटो बजार कसरी अघि बढ्छ लगायत विषयमा पौडेलसँग गरिएको संक्षिप्त कुराकानीः
लकडाउनपछिको दुईपांग्रे सवारी बजार कस्तो छ?
सामान्य अवस्थाको व्यापारसँग त तुलना गर्न मिल्दैन तर सन्तोषजनक नै भन्छु म। मानिस अझै खुलेर बाहिर निस्किने अवस्था बनेको छैन। सार्वजनिक यातायातकै अभाव छ। ठूलो जनसंख्या काठमाडौं आउनसकेको छैन। मानिसको आवागमन जति बढ्यो, त्योअनुसार मानिसको चाप हुन्छ। कोरोना संक्रमणको डर त छँदै छ। खानलाई कमाउनुपर्यो। कमाउनको लागि बाहिर निस्किनुपर्यो। बाहिर निस्किन साधन जुटाउनुपर्यो।
लकडाउनपछि चारपांग्रे किन्नसक्ने क्षमता कम हुँदा दुईपांग्रेको व्यापारको अवसर बन्ने अपेक्षा थियो। सोचेअनुसार व्यापार बढेन भन्ने छ नि?
सामाजिक दूरी कायम गर्दै हिँड्नुपर्छ भन्ने भावना विकास भएको अवस्थामा दुईपांग्रेको व्यापार बढ्ने अपेक्षा गर्नु सही हो। डेढ/दुई लाख लगानी गर्दा आफ्नो सवारी पनि हुने र सुरक्षित पनि हुँदा सोच्नथालेका हुन् कि जस्तो लागेको छ। गाडी चढ्नको लागि नेपालमा २० लाख चाहिन्छ। त्योभन्दा अहिले गन्तव्यमा पुग्नको लागि सहज र भरपर्दो दुईपांग्रे हो। त्यसैले यसको व्यापार बढ्ने आशा बाँकी नै छ।

व्यापार खुलेको पनि १ महिना भयो। सुरक्षा विधि कसरी अपनाउनुभएको छ?
शोरुम खोल्दा ग्राहकबाट कर्मचारीमा र कर्मचारीबाट ग्राहकमा सर्ने सम्भावना पनि हुन्छ। त्यसको लागि हामीले सजगता अपनाएका छौँ। हामी घरबाट बाहिर काममा निस्किँदा आफ्नो लागि मात्रै नभई घरवालालाई पनि सोचेर काम गर्नुपर्छ। शोरुम स्यानिटाइज, सबैले अनिवार्य मास्क प्रयोग गर्ने, बाइक तथा स्कुटर समय समयमा स्यानिटाइज गरी ‘हाइजिन’ मेनटेन गरेका छौँ।
अटोबजारलाई चलायमान बनाउने भन्दै स्किम ल्याउनुभएको छ। कत्तिको चासो छ?
जनजीवन कष्टकर भएको अवस्थामा ग्राहकलाई केही सुविधा दिनसक्यौँ भने राम्रो हुन्छ भनेर स्किम ल्याएका हौँ। जिरो प्रतिशत डाउन पेमेन्ट, जिरो प्रतिशत फाइनान्स र नगदमै खरिद गर्न चाहनेका लागि १० हजार छुटसहितको अफर ल्याएका छौँ।
लकडाउनपछि खुलेको अटो बजार स्किम पनि ल्याएको हुँदा धेरैले चासो देखाएका हुन्। मानिसमा अझै अन्यौल भएका कारण अहिले नै नकिने पनि पछिको लागि बुझ्ने धेरै छन्।

लगभग सबै दुईपांग्रे बिक्रेताले स्किम ल्याएका छन्, यसलाई कसरी हेर्नुभएको छ?
साधनमा मूल्य २/४ हजार तलमाथि होला। सबैले हेर्ने ब्राण्ड नै हो। हामीले स्किम नदिँदा पनि गाडी बिक्री भइरहेका थिए। स्किम दिँदा केही मात्रामा बढी बिक्री होला कि भन्ने हो। अहिले ब्राण्ड नबुझी स्किम मात्रै हेरेर साधन खरिद गर्दैनन् भन्ने मलाई लाख्छ। गाडीको गुणस्तर कस्तो छ, अरु साधन र मैले खरिद गर्न लागेको साधनमा के फरक छ भन्ने सामाजिक सञ्जालमा हेरिरहेको हुन्छ। सबैले स्किम ल्याउँदा ग्राहकलाई फाइदा भयो।
दुईपांग्रे सवारीको बजार सामान्य अवस्थामा फर्किन कति समय लाग्ला?
सामान्य अवस्थामा कहिले फर्किन्छ भन्न सकिने अवस्था नै छैन। उपत्यकामा दैनिक कोरोना संक्रमणको दर बढेको बढ्यै छ। हामी कोरोनासँग लडेरै बाँच्नुपर्छ। हिजो नेपालमा दुई जना संक्रमित हुँदा सबै घरमा बसेका थिए। अहिले विस्तारै बाहिर निस्किन थाले। मानिस बाहिर निस्किन सुरु गरेसँगै बजार पनि बढ्ने हो।
अर्को सरकारले अर्थतन्त्र चलायमान बनाउन कस्तो मौद्रिक नीति ल्याउँछ भन्नेमा पनि आगामी दिनको बजारमा प्रभाव पर्छ। ब्याजदर र डाउनपेमेन्टमा हेरफेर हुँदा त्यसको असर अटोबजारमा पर्छ।
Shares

प्रतिक्रिया