हिमालय एयरलाइन्सले आगामी साउन ६ गतेदेखि काठमाडौं–ढाका सिधा उडान गर्ने भएको छ। दैनिक उडान सञ्चालन गर्ने हिमालय एयरलाइन्सको विमान उडान नम्बर एच ९ –६७८ र एच ९–६७९ कलसाइन भएका दुई विमानले काठमाडौँ–बंगलादेश सिधा उडान गर्न लागेको हो।
उडान तालिकाअनुसार पहिलो विमानले स्थानीय समयअनुसार बिहान ११ः१० बजे काठमाडौँबाट उडान गर्नेछ। उडानमा प्रिमियम इकोनोमी क्लासमा २५ किलोसम्म र इकनोमी क्लासमा २० किलोसम्म निःशुल्क ब्यागेज सुविधा उपलब्ध हुने कम्पनीले बताएको छ।
हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले ढाका उडानबारे जानकारी दिए। हिमालय एयरलाइन्सको ढाका उडानले छिमकी मुलुकहरुबीच नेपालको पर्यटन र अन्य व्यवसाय प्रवर्द्धनमा टेवा पुर्याउने र दुई देशबीचको सम्बन्धलाई अझै मजबुत बनाउँदै यस सञ्जालले नेपाल र बंगलादेश बीच व्यावसायिक अवसर सिर्जना गर्ने श्रेष्ठले बताए। यसबाट उडानले मध्यपूर्वी मुलुक र बंगलादेशबीच पुलको रुपमा काम गर्ने विश्वास कम्पनीको छ।
बंगलादेश र नेपालका व्यावसायिक यात्रु तथा घुमघाममा जाने यात्रु यस उडानबाट लाभान्वित हुने कम्पनीले जनाएको छ। बंगलादेश धेरै नेपाली विद्यार्थी भएको मुलुक पनि हो भने त्यहाँबाट पर्यटक पनि उत्तिकै संख्यामा नेपाल आउने गरेका छन्। बंगलादेशमा कमपनीले एसएयर एयर बीडी लिमिटेडलाई साधारण बिक्री एजेन्ट (जीएसए) तोकेको छ। नेपाल–चीन संयुक्त लगानीमा सन् २०१४ अगष्टमा स्थापना भएको हिमालय एयरलाइन्ससँग तीन वटा न्यारोबडी जहाज छन् ।
हिमालय एयरलाइन्सले दोहा, दुबई–आबुधावी र दमाममा उडान गरिरहेको छ। त्यस्तै कम्पनीले निकट भविष्यमा चीनको बेइजिङलाई आफ्नो सञ्जालमा जोड्ने र नाङचाङ, चाङ्चिङ, चाङ्सा र गुइयङमा उडान विस्तारको योजना रहेको जनाएको छ।

प्रतिक्रिया