काठमाडौं महानगरपालिकाले ‘सवारी तथा यातायात व्यवस्थापन ऐन २०७५’ लागू गर्दै अनिवार्य टिकटको व्यवस्था गरेको छ। स्थानीय राजपत्रमा समेत प्रकाशित भइसकेको उक्त ऐनले सार्वजनिक गाडीमा कागजी वा विद्युतीय टिकट अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ।
ऐनअनुसार सेवा प्रदायकले गाडी चढ्नुअघि वा चढेलगत्तै यात्रुसँग तोकिएको भाडा लिई अनिवार्य टिकट दिनुपर्ने प्रावधान राखिएको हो। सार्वजनिक सवारी यात्रा गर्ने यात्रुले अनिवार्य टिकट लिनुपर्ने, कागजी टिकटलाई विद्युतीय टिकटले विस्थापन गर्नुपर्ने, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्रका आधारमा सहुलियत उपलब्ध गराउनुपर्नेछ, सार्वजनिक यातायातले तोकिएको स्थानमा मात्र यात्रु चढाउने तथा ओराल्ने, चालक र सहचालकलाई पोसाक उपलब्ध गराउने, यात्रुलाई गुनासो गर्ने व्यवस्था मिलाउने, प्राथमिक उपचार सामग्री, अग्नि नियन्त्रण उपकरण, फोहोर फाल्ने भाँडो अनिवार्य राख्नुपर्ने व्यवस्था गरिएको छ।
ऐनमा यात्रु चालक र परिचालकका कर्तव्यहरू उल्लेख छन्। टिकट काटेर मात्र यात्रा गर्ने, यात्राका क्रममा उत्पादित फोहोर तोकिएको स्थानमा मात्र फाल्ने, अरूलाई असर हुने क्रियाकलाप नगर्ने, यात्राका क्रममा मदिरा तथा सुर्तीजन्य वस्तुको सेवन नगर्ने, अश्लील नबोल्ने, यौनजन्य हिंसा नगर्ने, लागूऔषधको ओसारपसार नगर्ने आचरणलाई यात्रुको दायित्वमा राखिएको छ।
महानगरपालिकाले जारी गरेको राजपत्रअनुसार काठमाडौंमा चल्ने सबै सार्वजनिक यातायातले टिकट अनिवार्य दिनुपर्ने र यात्रुले पनि लिनुपर्ने व्यवस्था गरेको छ। नियम पालना नगरे १ हजार ५ सयदेखि ५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
Shares
प्रतिक्रिया