अटो


खुम्चियो अटो बजार

खुम्चियो अटो बजार

प्रकाश न्यौपाने
कात्तिक २४, २०७६ आइतबार १०:५०,

पछिल्लो समय अटो बजार खस्किँदै गएको छ। खरिदबिक्री न्यून हुँदै जाँदा अटो बजार खस्किएको हो।

रुपन्देही र आसपासका क्षेत्रमा विगतभन्दा न्यून रुपमा गाडी खरिदविक्री हुने गरेको अटो व्यवसायी बताउँछन्।

‘विगतमा यो समय गाडीहरु धेरै विक्री हुन्थे। बजार गुल्जार हुन्थ्यो। तर योपटक अटो बजारमा उत्साह देखिएन’, बज अटोमोबाइल्स कम्पनी प्रालि भैरहवाका प्रबन्ध निर्देशक हरिबहादुर थापाले भने।

यसपाली दशैं, तिहार र छठ पर्वमा समेत अटो कारोबार उत्साहप्रद भएन। यसले व्यवसायी चिन्तित छन्। अघिल्लो वर्ष चाडबाडमा ८५० बढी मोटरसाइकल विक्री भएको भए पनि यसपल्ट ७ सय मात्रै विक्री भएको थापाले जनाए। अहिले दुईपांग्रेदेखि ठूला गाडीको समेत कारोबार न्यून छ।

‘एकदुई वर्ष अघि कारको बजार राम्रो थियो। अहिले ठप्प जस्तै छ। यसले हामीलाई निरास बनाएको छ’, बुद्धम् अटोमार्ट भैरहवाका प्रबन्ध निर्देशक अभिनवमयूर कसौधनले भने। उनले अघिल्लो वर्ष पर्वहरुमा ३० बढी गाडी विक्री भएको तर यसपल्ट १२–१३ वटा मात्रै विक्री भएको जनाए।

नेपाल राष्ट्र बैंकले सवारी कर्जामा कडाइ गरेपछि अटो बजार खस्किएको हो। कर्जामा गरिएको कडाइपछि सवारी बिक्री ४० प्रतिशतसम्म घटेको व्यवसायी बताउँछन्। राष्ट्र बैंकले गएको फागुनदेखि निजी प्रयोजनका लागि खरिद गरिने सवारीको कर्जा सीमा ५० प्रतिशत तोकिदिएको छ।

यसअघि बैंकले सवारी खरिद गर्दा ९० प्रतिशतसम्म कर्जा उपलब्ध गराउँदै आएका थिए। सवारी कर्जामा राष्ट्र बैंकको कडाईसँगै बैंक तथा वित्तीय संस्थाहरुले पनि ब्याजदर समेत चर्को गराएका छन्। सुरुमा ६/७ प्रतिशतमै सवारी कर्जा पाइन्थ्यो। अहिले ब्याज बढाएर बैंक तथा वित्तीय संस्थाले १४/१५ प्रतिशत बनाएका छन्। यसले पनि अटो बजार झनपछि झन साँगुरो हुँदै गएको छ।

अटो बजारमा सिथिलता आएसँगै आयात समेत घटेको छ। दुईपाँग्रे मोटरसाइकल र तीनपांग्रे टेम्पोबाहेक अन्य सबै किसिमका सवारी आयात घटेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा भैरहवास्थित बेलहिया नाका हुँदै अटो आयातमा गिरावट आएको भन्सार तथ्यांकले देखाउँछ।

‘अधिकांश सवारी आयातमा गिरावट आएको छ। सामान्य एकदुई किसिमका सवारी आयात बढे पनि चारपांग्रे र ठूला सवारी आयात दैन्दिन खस्किँदो छ। यसले नेपाली अटो बजारमा खरिदविक्री ह्वात्तै घटेको देखाउँछ’, भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत कलिराम पौडेलले भने।

भन्सार तथ्यांकअनुसार यस वर्ष पहिलो त्रैमासिकमा बेलहिया नाकाबाट ५ अर्ब ३५ करोड रुपैयाँ बराबरका ५९ हजार ३५३ गोटा मोटरसाइकल तथा स्कुटर आयात भएको छ। तर अघिल्लो वर्ष यही अवधिमा ३ अर्ब २९ करोड रुपैयाँ बराबरका ४१ हजार २७९ गोटा मोटरसाइकल एवं स्कुटी आयात भएका थिए।

यी सवारी साधनसँगै चालु आवमा तीनपांग्रे टेम्पो एवं विद्युतीय सवारी ई–रिक्साको आयातसमेत बढेको छ। यो वर्ष १९ करोड ३४ लाख रुपैयाँ बराबरका १२ सय २५ टेम्पो तथा ई–रिक्सा आयात भएको छ। अघिल्लो वर्ष ६ करोड १६ लाख रुपैयाँ बराबरका ४२० गोटा टेम्पो र ई–रिक्सा आयात भएका थिए। यीबाहेक अन्य सबै किसिमका सवारी आयात भने अघिल्ला वर्षभन्दा घटेका छन्।

‘भन्सार तथ्यांकले पनि नेपाली अटो बजारमा भारी गिरावट आएको देखाउँछ। अटो बजारलाई मजबुत बनाउन सरकारले विशेष ध्यान दिनुपर्छ’, बजका प्रबन्ध निर्देशक थापाले भने।

भन्सार तथ्यांकनुसार चालु आवमा कार, जीप, भ्यान १ अर्ब ६८ करोडको २ हजार ३०५ आयात भएको छ। जवबी अघिल्लो आवमा २ अर्ब १७ करोड मूल्य बराबरको ३ हजार २७ गोटा आयात भएका थिए। यस्तै, गत वर्ष ४८ करोड ९८ लाख रुपैयाँ बराबरको २९१ गेटा बस आयात भएकोमा चालु वर्षमा घटेर १८ करोड २८ लाख रुपैयाँ बराबरका १०५ गोटा आयात भएका छन्।

अघिल्लो वर्ष ५६ करोड २२ लाख रुपैयाँका ९६१ गोटा सिंगलक्याब पिकअप जीप आयात भएकोमा चालु वर्षमा घटेर ३४ करोड ८२ लाख रुपैयाँका ६२३ गोटामा सीमित भएको छ। यसैगरी डबलक्याब पिकअप गत वर्ष ५०८ वटा आयात हुँदा चालु वर्षमा २९५ वटामा खुम्चिएको छ।

ट्रक, मिनी ट्रक, मिनी बस, ट्याक्टरको आयात समेत गत बर्ष भन्दा घटेको भन्सारले जनाएको छ। ट्रक, मिनी ट्रक अघिल्लो वर्ष ८२ करोड ८ लाख रुपैयाँको ८६३ गोटा आयात भएकामा यसवर्षको तीन महिनामा ६३ करोड १९ लाख रुपैयाँका ६१९ गोटा मात्रै आयात भएको छ। ट्याक्टर गतवर्ष ८८ करोड १७ लाखका ९५९ गोटा आयात भएकामा यसवर्ष ५१ करोड ८० लाखका ४१४ मात्रै आयात भएको भन्सार अधिकृत पौडेलले जनाए।

‘अटोमा सरकारी नीति कडाई हुनु, बैंकिङ कर्जा नीति यथाबत हुनु र बढ्दो ब्याजदर, नेपालीहरुको क्रयशक्ती विस्तारै कम हुँदै जानु, केही आयातकर्ताहरु अन्यत्र नाकातर्फ डाईभर्ट हुनु जस्ता कारणले अटो आयातमा गिरावट आएको हो’, सूचना अधिकृत पौडेलले भने।

रुपन्देहीमा दुईपांग्रे, चारपांग्रे तथा टेम्पो र ठूला सवारी गरी ४ दर्जन बढी अटोमोबाल्सका शोरुमहरु छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad