अटो


सवारीसाधनमा दुई अर्बको आयात घट्दा पाँच अर्ब राजस्व गुम्याे

सवारीसाधनमा दुई अर्बको आयात घट्दा पाँच अर्ब राजस्व गुम्याे

बसन्त अर्याल
कात्तिक १८, २०७६ सोमबार ९:१०,

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा सवारीसाधन तथा पार्टपुर्जाको आयात घटेको छ। आर्थिक वर्ष २०७५/०७६ को तुलनामा चालू आर्थिक वर्ष २०७६/०७७ मा करिब दुई अर्बको आयात घटेको हो।

भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउन–असोज अवधिमा २७ अर्ब ३४ करोडको आयात भएको छ। गत वर्षको यही अवधिमा २९ अर्ब ४८ करोडको आयात भएको थियो।

चालू आर्थिक वर्षमा दुई अर्बको आयात घट्दा पाँच अर्ब राजस्व कम उठेको छ। असोज मसान्तसम्म २५ अर्ब ३४ करोड राजस्व उठेको अर्थ मन्त्रालयले बताएको छ। गत वर्षको यही अवधिमा ३० अर्ब सात करोडको राजस्व उठेको थियो।

किन घट्यो आयात ? यसाे भन्छन् विज्ञ र व्यवसायी ः

nepali auto
अघिल्ला वर्षहरुमा नाडा अटो शो, दशैं तथा तिहारमा अटो व्यवसायी उत्साहित हुने गरे पनि यो वर्ष अटो बजार सुस्ताएको व्यवसायीहरुको दाबी छ।

नेपाल नाडा अटो मोबाइल एसोसिएसनका उपाध्यक्ष कृष्ण प्रसाद दुलालले तीन महिनाको तथ्याङ्क हेरेर आयात घटेको भन्न नमिल्ने दाबी गरे। दुलालले नेपालखबरसँग भने, ‘डाटामा कम भएको देखिए पनि बजार खासै घटेको छैन तर पहिलाको भन्दा कम भएको चाहिँ हो।’ उनले बैंकको ऋण सहज नहुँदा बिक्री कम भएको दाबी गरे।

तर अर्थविद् रामेश्वर खनाल भने व्यवसायीको तर्कसँग सहमत छैनन्। उनले ऋण सहज उपलब्ध नभएको कारण बिक्री घटेको भन्ने व्यवसायीको भनाइ सत्य नभएको बताए। सवारीसाधनको कारोबार आर्थिक वर्ष २०७९/०८० पछि मात्रै बढ्ने खनालको तर्क छ।

‘एकै आर्थिक वर्षमा लगभग ३० हजार गाडी काठमाडौंमा दर्ता भएका छन्। हरेक वर्ष ३० हजार बढ्न त त्योअनुसारको जनसंख्या पनि बढ्नुपर्यो नि’, उनले भने, ‘किन्न सक्ने धेरैसँग गाडी भइसके। अब उनीहरुले रिप्लेसमेन्ट गर्दा गाडीको बिक्री बढ्छ।’

विगत ४–५ वर्षको बीचमा उपभोक्ताले गाडी परिवर्तन गर्ने ट्रेन्ड नेपालमा देखिएको खनालको भनाइ छ।

तर अटो व्यवसायी समेत रहेका नाडाका उपाध्यक्ष दुलाल भने विगत २० वर्षको इतिहासमा हरेक वर्ष बढेकै देखिएको बताउँछन्। उनले भने, ‘मन्दी भएको बेलामा कुनै वस्तु घटे पनि कुनै वस्तु बढेकै हुन्छ। त्यसैले तीन महिनाको तथ्याङ्क हेरेर वर्षभरिको विश्लेषण गर्नु ठीक हुँदैन।’

दुईपाङ्ग्रे सवारीको बिक्री बढिरहेकै छ। ट्रकहरु पनि आयात भएकै छन्। कारको आयात तथा बिक्रीमा कमी भएको हो। चालू आव सकिँदासम्म रिकभर हुने उनको दाबी छ।

दुलालले भने, ‘विकासका काम हुन नसक्दा हेभी इक्विपमेन्ट बिक्री भएका छैनन्। बजेट खर्च भएकै छैन। टेन्डर आह्वान हुनसकेका छैनन्।’ ट्याक्टरमा सरकारले अनुदान हटाएपछि बिक्री घटेको जानकारी दिँदै उनले यसले समग्र आयातमा कमी देखिएको दाबी गरे।

अर्का अर्थविद् अनलराज भट्टराई भने सवारीसाधन बिक्रीमा कमी आउनुमा विविध कारण रहेको बताउँछन्। उनले भने, ‘स्रोतको अभाव, महंगो कर्जा तथा बैंकसँग पर्याप्त पैसा नहुनु र छिमेकी मुलुकमा आर्थिक मन्दी आउँदा नेपालमा पनि मूल्य घट्छ कि भनेर बजार हेरेर बस्दा बिक्रीमा कमी भएको हो।’

नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष तारा बहादुर कुँवरले नेपालमा चाहिनेभन्दा दुई गुणा बढी हेभी इक्विपमेन्ट रहेको दाबी गरे। केही वर्षको लागि अत्यावश्यक मेसिनबाहेक अरु मेसिन आयात नै आवश्यक नभएको उनको तर्क छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad